२०७७ कार्तिक ७, शुक्रबार

मन्त्री पुनद्वारा ‘मोनोरोल’मार्फत सुरुङ अनुगमन

सुर्खेत ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना सुरुङमार्गको ‘मोनोरेल’ मार्फत बुधबार अनुगमन गरेका छन् । १२.२ किलोमिटर लामो सुरुङमार्ग उनले ‘मोनोरोल’मार्फत अनुगमन गरेका हुन् । भेरीगंगा नगरपालिकाको हात्तीखालबाट मोनोरेल चढेका मन्त्री पुन एक घण्टा लगाएर चिप्ले पुगेका थिए । हात्तीखाल सुरुङमार्गको निकास हो भने, चिप्ले प्रवेशद्धार हो । सुरुङमार्गको बैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ब्रेक–थ्रु’ गरेका थिए ।
२०७४ कात्तिक मसान्तदेखि टिबिएममार्फत निर्माण थालिएको सुरुङ सम्झौता अवधि (२०७६ चैत १५ गते) भन्दा झण्डै एक वर्षअघि सम्पन्न भएको थियो । हात्तीखालबाट मोनोरेल चढेर चिप्ले आएका मन्त्री पुनले राष्ट्रिय गौरवको आयोजना भएकाले निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निगरानीमा राष्ट्रिय गौरवका योजनाहरु निर्माण भइराखेकाले बजेट र जनशक्तिको अभाव हुन नदिने दावी गरे ।
उनले बाँध, विद्युत गृहलगायतका संरचनाहरु सँगसँगै निर्माण गर्ने प्रक्रिया सुरु गरिएको बताए। उर्जामन्त्री पुनले जनताको जलविद्युत आयोजना अन्तर्गत छुट्टै कम्पनी दर्ता गरेर हात्तीखालमा ४८ मेगावाट विद्युत उत्पादन गरिने बताए ।