२०७७ कार्तिक १५, शनिबार

सबैखाले हिंसा नियन्त्रण आवश्यक

कर्णाली प्रदेश हिंसाबाट ग्रसित छ । संघीय सरकारबाट शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, अन्य सबै क्षेत्रमा अपहेलनामा परेको छ । यहाँका नागरिकलाई खासै वास्ता नगर्ने गरेको जनप्रतिनिधिहरुको गुनासो छ । मुख्यमन्त्री शाहीले एक कार्यक्रममा नै कर्णाली प्रदेश सबैखालका हिंसाबाट ग्रसित रहेको मन्तब्य दिएका थिए । उनले संघीय सरकारबाट अपेक्षित रुपमा सहयोग पाउन नसकेको भावनालाई मन्तब्यमार्फत उजागर गरेका हुन । उनको यो भनाईमा सत्यता रहेको कतिपयको भनाई छ ।
कर्णाली प्रदेश नै हिंसामा रहेको बेला कर्णालीका महिला तथा बालबालिका हिंसाबाट उन्मुक्ति पाएका छन भनेर भन्नु हास्यास्पद नै हुनेछ । यहाँका जनताको आयश्रोत कमजोर छ । कम आय भएका कारण कर्णालीवासी हिंसामा परेको कुरा यर्थाथ हो । तर यहि यर्थाथकाबीचबाट सबैले सहकार्य गर्दै कर्णालीबाट सबै खालका हिंसा अन्त्य गर्न आवश्यक छ ।
कर्णालीका दुर दराजका गाउँका त के कुरा गर्नु, वीरेन्द्रनगरमै महिलाहरु हिंसा सहन बाध्य छन् ।संविधानले निर्दिष्ट गरेका अधिकांश अधिकारहरुको प्रयोग कणाृलीका महिला, दलित, जनजाती तथा अन्यले प्राप्त गर्न सकेका छैनन् । यसो भन्दैमा प्रदेश सरकार तथा स्थानीय सरकार हात बाँधेर बस्नु भन्दा बरु हिंसा न्यूनिकरणका लागि गाउँ बस्तीमा पुग्न जरुरी छ । तल्लो तहमा रहेका आम जनतालाई हिंसाका बारेमा सचेतना जगाइ हिंसा न्यूनिकरण गर्न आवश्यक छ ।