२०७७ कार्तिक ५, बुधबार

सिकाईमा श्रमको भूमिका

एकदिनको कुरा हो, नमन नेपाललसँगको सहकार्यमा सरसफाइका लागि नेपालगञ्ज मोडेल एकेडेमीले आफ्ना विद्यार्थीहरु परिचालनगर्छ । एकेडेमीका विद्यार्थीहरुलेसदनगत रुपमा पोशाक पहिरिएर हातमा ग्लोव र मुखमा माष्क लगाउछन् । कसैले हातमा बाल्टिन त कसैले झाडु समात्छन् । तत्पश्चात सरसफाइका लागि सडकमा काम सुरु हुन्छ । विद्यार्थीहरु कसैले झाडु लगाउन थाल्छन् त कसैले फोहर टिप्न थाल्छन् । एकैछिनमा सडकले स्वरुप बदल्छ । फोहर सडक स्वच्छ देखिन थाल्छ ।

 

 

विद्यार्थीहरुले सडक सफा गर्ने क्रममा सडक फोहर गर्नेहरुलाई जथाभावि फोहर नगर्न अनुरोध पनि गर्छन् । यसरी टिफिन अघिको समय विद्यार्थीहरुले सडक सफा गर्नमा विताउछन् । सडक सफा गर्दा उनिहरु कक्षाकोठामा किताव पल्टाएर अध्ययन गरिरहेको भन्दा खुशी र प्रफुल्लित देखिन्छन । कतिलाई त्यो दिनको पूरै समय त्यसरी नै सडक सफा गर्दै विताउने रहर थियो । तथापि विद्यालयले टिफीन अघिको समय मात्रै सरसफाइमा प्रयोग गर्ने गरी योजना बनाएको थियो र त्यसै गरियो । आफूले सडक सफा गरेको फोटो र भिडियो क्लीपहरु फेसबुकमा पनि शेयर गरे विद्यार्थी र शिक्षकहरुले । कमेन्टहरु भने मिश्रित आए ।
कतिपय अभिभावकहरुले ‘पढाउन पठाएको हो कि सडक बढार्न’ भनेर पनि चित्त दुःखाएका कुराहरु शेयर गरे । कतिपयले ‘हामीले बालबालिकालाई घरमा काममा नलगाएर पढ्नका लागि समय मिलाउने, विद्यालयले भने पढाइलाई छोडेर काममा लगाउने र त्यो पनि फोहर बढार्ने काममा’ भनेर पनि आफ्ना भावनाहरु शेयर गरेको देखियो । कतिपयले त ‘सरसफाइमा छुट्याइएको बजेट र भत्ता नगरपालिकाले हसुर्ने, सरसफाइको काम विद्यार्थीहरुले गर्नुपर्ने’ भनेर पनि मन दुखेको कुराहरु शेयर गरे । कतिपयले ‘हाम्रा सन्ततिहरुलाई फोहर बढार्नतिर लगाउने शिक्षक, विद्यार्थी र संघसंस्थालाई कार्वाही गर्नुपदछ’ भन्ने कुराको पनि उठान गरेको देखियो ।

त्यसरी नै कतिपयले‘शिक्षकहरुप्रति आगो भएर खनिदै विद्यालयले यस्ता शिक्षकहरुलाई जागीरबाट हटाउनुपर्छ’ भन्न पनि बाँकी राखेनन । कमेन्ट गर्ने सीमित ब्यक्तिहरुले भने विद्यालयले गरेको सरसफाइ सम्बन्धी कामको खुलेर प्रशंसा गर्दै गुड जव भनेर आफ्ना धारणाहरु पनि शेयर गरे ।
अभिभावक वा सरोकारवालाहरुले विद्यार्थीहरु सरसफाइका लागि सडकमा उत्रिएका कुरालाई ठीक वा बेठीक जे भने पनि भावनामा भने तात्विक भिन्नता छैन । दुवै थरिको भावना बालबालिकाको सिकाइ र भलाइसँग सम्बन्धित छ । यत्ति हो कसैले सरसफाइमा खटिएको दृश्य र क्रियाकलापमा बालबालिकाको भलाई देखे भने कसैले त्यसरी खटिएको अवस्थामा बालबालिकाको अहित र कुभलो देखे । सरसफाइमा खटिएकोमा भलाई देख्नेहरुले राम्रो काम भनेर प्रशंसा गरे भने सरसफाइमा खटिदा बालबालिकाको अहित देख्नेहरुले नराम्रो काम भनेर टिकाटिप्पणीको भाषा प्रयोग गरे ।
सरसफाइ गर्नु राम्रो काम हो । यसमा कसैको विमति छ भन्ने लाग्दैन । विमति मात्र त्यो काम कसले गर्ने भन्नेमा हो । मलाई त लाग्छ, सरसफाइ जसले गरेपनि हुन्छ । सरसफाई सामुहिक प्रयासबाट सम्पन्न र सफल हुने कार्य हो । सरसफाइमा एउटा कुनै समूह सक्रीय हुने र अरु त्यसको विरुद्धमा उभिने हो भने यो काम कहिल्यै पनि सम्भव हुदैन । ब्यक्ति, परिवार, नागरिक समाज, संघसंस्था र सरकारको सामुहिक प्रयास विना यस्ता कार्यहरु सफल हुन कठिन हुन्छ । त्यही भएर नै हामी यो क्षेत्रमा सफल हुन सकिरहेका छैनौं ।

कसैले सरसफाइको सुरुवात ग¥यो भने हामीले होष्टेमा हैंसे गर्नु पर्नेमा धारे हात लगाएर गाली गर्न थाल्छौं । हाम्रो यही प्रबृत्ति नै सरसफाइ लगायत हरेक क्षेत्रमा असफलता हात लाग्नुमा प्रमुख कारण बनेको देखिन्छ ।
अर्को सवाल बालबालिकालाई श्रममा लगाउनु हुन्छ वा हुदैन भन्ने हो ।बालबालिकाको विकासमा बाधा हुने गरी श्रममा लगाउन पाइदैन । बालबालिकाको इच्छा विपरित पनि श्रममा लगाउन पाइदैन । बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी पनि श्रममा लगाउन पाइदैन । अन्यथा बालबालिकालाई उनीहरुको इच्छा र अभिरुचिको आधारमा श्रममा लगाउदा अन्यथा हुदैन । शिक्षालाई श्रमसँग जोड्न नसकेकै कारण हाम्रो शिक्षा बादरको पुच्छर लौरो न हतियारको अवस्थामा पुगेको हो । हामीले कितावका पाना र परिच्छेदहरु घोकाउनेलाई शिक्षा भन्यौं । जसले छिटो र बढि घोक्न सक्छ त्यसलाई हामीले गुणस्तरीय शिक्षाको उपमा दियौं ।

घोक्ने सवालमा बच्चालाई जर्वजस्ती ग¥यौं । लौरो देखाएर तर्सायौं । गाली गरेर थर्कायौं । यतिले पुगेन भने हातपात पनि ग¥यौं । हामीले यसलाई भने बालबालिकाको शिक्षाका निम्ति गरिएको उपयुक्त व्यवहार भनेर हवाला दियौं । हाम्रो शिक्षामा समस्याको जड नै यतैकतै बल्झिएर बसेको देखिन्छ ।
जापानका विद्यालयहरुमा विद्यालय सहयोगी, कुचिकार, पाले आदिको ब्यवस्था हुदैन । शिक्षक र विद्यार्थीहरुले विद्यालय सहयोगी, कुचिकार, पाले आदिले गर्ने सवै काम आफै गर्दछन् । विद्यालयहरु सफा र स्वच्छ हुन्छन् । श्रमप्रतिको सम्मान विद्यालय तहदेखि नै विकास हुदै जान्छ बालबालिकाहरुमा । विद्यालयले सम्पादन गर्ने हरेक शिक्षणसिकाइ क्रियाकलापहरु शारीरिक श्रम र प्रयोगात्मक विधिसँग आवद्ध गरेर सञ्चालन गरिन्छ । व्यवहारबाट प्राप्त अनुभव र अनुभूतिलाई शिक्षा र ज्ञानको स्रोतको रुपमा स्वीकार गरिन्छ । यस्तो सिकाइ दीगो, प्रभावकारी र जीवनोपयोगी पनि हुन्छ । सिकाइमा स्वयम्सिद्ध तथ्य नै छ कि सुनेको कुरा विर्सिन्छ, देखेको कुरा सम्झिन्छ र गरेको कुरा सिकिन्छ ।

त्यसकारण पनि पाठ्यक्रमले हरेक विषयको पाठ्यगत क्रियाकलापहरु अन्तर्गत परियोजना कार्यहरु निर्धारण गरेको हुन्छ । परियोजना कार्य अन्तर्गत पनि समुदाय र वातावरणसँग सम्बन्धित क्रियाकलापहरुको ब्यवस्था गरेको हुन्छ । त्यसकारण पनि बालबालिकाको प्रभावकारी सिकाइका लागि पनि सिकाइलाई शारीरिक श्रमसँग पनि जोड्न नितान्त जरुरी देखिन्छ ।
बालबालिकाहरु बयष्क र प्रौढहरु भन्दा शारीरिक र मानसिक हिसावले बढि क्रियाशील, चञ्चले र जिज्ञासु हुन्छन् । उनीहरु हरेक कुराहरु प्रयोग र अनुभवबाट सिक्न चाहन्छन् न कि सुनेर वा पढेर । उनिहरुका लागि यो धर्ति नयाँ हुन्छ । धेरै कुरा नयाँ हुन्छन् । हामीलाई नगएको स्थानमा जान मन लागे झै र नखाएको चिज खान मन लागे झै उनिहरुलाई पनि धेरै कुरा गर्न र भोग्न मन लाग्छ । कक्षाकोठामा गुम्स्याउदै र खुम्च्याउदै उनिहरुलाई सिकाउने प्रयत्न गरियो भने त्यो प्रक्रिया पिडादायक र प्रत्युत्पादक हुन्छ सिकाइका लागि ।

त्यसकारण पनि उनिहरुलाई कक्षाकोठा बाहिरको वातावरणमा लिएर पनि सिकाउनु पर्ने हुन्छ । समुदाय र समाजमा लिएर पनि अवलोकन गराउनु पर्ने हुन्छ । त्यस्तो अवस्थामा देखेका, भोगेका र सामना गरेका क्रियाकलापहरु प्रति प्रतिक्रिया गर्नका लागि पनि उनिहरुलाई अवसर दिनुपर्छ । यस्तै अवसर पाएर पनि होला, सरसफाइमा खटिएका मोडेल एकेडेमीका विद्यार्थीहरुका फेसबुकमा अपलोड गरिएका अनुहारहरु हेर्दा हसिला र उत्साहित देखिन्थे ।
देशमा राजनीतिक व्यवस्थाहरु फेरिए । तथापि सोच, प्रबृत्ति, दृष्टिकोण र अवस्थाहरु पुरानै छन् । यसैलाई भन्दा रहेछन् नयाँ बोतलमा पुरानै रक्सी । विश्वका मजदुरहरु एक हौं भन्नेहरुले समेत मजदूरहरु माथि उठेको देख्न नचाहदा रहेछन् । पसिना बगाएर श्रम गर्नेहरु प्रतिको हाम्रो दृष्टिकोण अहिले पनि हेयपूर्ण छ । बालबालिकाले आफ्नो समुन्नतिका निम्ति समेत शारीरिक श्रम गर्नु हुन्न भन्ने पक्षमा छन् अभिभावक र अन्य यस्तै मानिसहरु । धेरै पढेर विद्वान हुने भनेको मस्तीसँग बसिबसी खानलाई हो भन्ने सोच अहिले पनि हावी छ ।

अर्थात कम श्रम गरेर बसीबसी खानेहरुलाई ठूलो मान्छे भन्ने गरिन्छ अहिले पनि । यो सोच राणाकालमा पनि यस्तै थियो र अहिले पनि । श्रमप्रतिको श्रद्धाभाव नीति र कागजहरुमा सीमित छ । हाम्रा युवाहरु विदेश गए भने नाली सोहर्छन । स्वदेशमा भने आफूले खाएको थाली धुदैनन् । कारण त्यही हो कि यहाँ काम गर्नेलाई सम्मानभावले हेरिदैन । बरु दिउसभरि फाल्तु गफ गरेर हल्लिनेहरु भद्रभलादमीको पङितमा पर्दछन् । विद्यार्थीहरु सरसफाइका निम्ति सडकमा निस्किदा मुखरित नकारात्मक प्रतिक्रियाहरु त्यस्तै सोचका प्रतिनिधिमूलक दृष्टान्तहरु हुन् ।
अरस्तुका भनाइ अनुसार शिक्षा भनेकै स्वस्थ शरीरमा स्वस्थ मष्तिष्कको सिर्जना हो । तन स्वस्थ हुनका लागि शारीरिक श्रमले सहयोग गर्दछ भने मन स्वस्थ हुनका लागि मानसिक श्रमले काम गर्दछ । यी दुवैलाई सन्तुलित किसिमले परिचालन गरेर खुशी जीवन जिउन सक्नेहरु नै यो दुनियाँका असल मानिसहरु हुन् । यसो नभइ यहाँ कोही शारीरिक हिसावले बढि श्रम गर्छन भने कोही मानसिक हिसावले बढि श्रम गर्दछन् ।

विडम्बना नै भन्नुपर्छ, हाम्रो संस्कारमा शारीरिक श्रम गर्नेहरु मानसिक श्रम गर्नेहरुबाट प्रताडित छन् । डाडूपन्यू मानसिक श्रम गर्नेहरुकै हातमा पर्ने गरी कानूनहरु बनाइएको छ । अरुको त कुरा छोडौं, कर्मचारी जगतमा समेत फिल्डमा काम गर्नेहरु जति सुकै विद्वान, सिर्जनशील र देशका निम्ति कामयावी भए पनि कुर्चीमा बसेर टेवुल वर्क गर्नेहरुलाई हाकिम मानिन्छ र बनाइन्छ । अर्थात फिल्डमा काम गर्ने क्षमता नभएर टेवलमा काम गरिरहेकाहरुलाई बोस भनेर स्वीकार गरिन्छ । यस्तै सोच हावी भएकै कारण मानिसहरु अहिले पनि श्रम गर्नेहरुलाई घृणा गर्छन र कक्षामा बसेर घोक्ने विद्यार्थीहरुलाई सम्मान गर्छन । सरसफाइमा खटिएका विद्यार्थीहरुप्रतिको नकारात्मक दृष्टिकोण यसैको परिणाम हो ।

शिक्षालाई गरिखाने र गुणस्तरीय बनाउने भनेकै सीप र श्रमसँग जोड्ने भनेको हो । अनि सीप र श्रमलाई राजेगारसँग र रोजगारललाई समृद्धिसँग । श्रम गर्नुभन्दा पहिले यसलाई सम्मान गर्ने भावनाको विजारोपण ब्यक्तिभित्र गरिनुपर्दछ । राजतन्त्रात्मक मुलुक जापानमा विद्यार्थीहरुले विद्यालयबाटै श्रम गर्न सिक्ने, असल चरित्र र नैतिकता सिक्ने,उत्पादित जनशक्तिले राष्ट्रभक्ति र इमान्दारितासँग कहिल्यै पनि र कुनै मूल्यमा पनि सम्झौता नगर्ने । हाम्रो जस्तो लोकतान्त्रिक गणतन्त्रात्मक मुलकमा भने विद्यालयदेखि नै श्रम गर्नेहरुलाई नै शोषण र अपहेलना गर्ने; ठग, दलाल र बेइमानहरुका निम्ति भने अवसरका ढोकाहरु खुला गर्ने । जनशक्तिको व्यवस्थापन गर्दा समेत श्रमप्रति श्रद्धाभाव भएकाहरुलाई माथि उठ्ने अवसर नपाउने गरी विधिविधान बनाउने ।

यस्तै हो भने नामले मात्रै त के फरक प¥यो र ? विरालो कालो होस वा सेतो त्यसको काम मुसा मार्ने हो भने झै व्यवस्था र त्यो व्यवस्था भित्रबाट दिने शिक्षा र सोचको नाम जे भए पनि श्रमदेखि टाढा भएकालाई सम्मान र श्रमजीविहरुलाई अपमान गर्ने हो भने पटकपटक रगत पो किन बगाउनु प¥यो र शहिदहरुले ?त्यो भन्दा बरु राम्रो ज्योतिषलाई अनुरोध गरी घडिपला मिलाएर व्यवस्था र त्यो व्यवस्थाले दिने शिक्षाको राम्रो नाम राख्नतिर लागे कसो होला ? सवैलाई चेतना भया ।