२०७७ कार्तिक ३, सोमबार

कुमाख–५ मा ज्वाला

                                                       धर्मे बुढाथोकी (ज्वाला)

सल्यान । जिल्लाको कुमाख गाउँपालिका–५ को वडा अध्यक्षका लागि शनिबार भएको उपनिर्वाचनमा ७ सय ९२ मत ल्याएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धर्मे बुढाथोकी (ज्वाला) विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खड्गबहादुर बोहोराले २ सय ५१ ल्याएका छन् । भने तेस्रोमा राप्रपाका गोपाल शाहले २१ मत ल्याएको निर्वाचन कार्यालय सल्यानका जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार एक हजार ८ सय ३९ मतदाता रहेको वडामा एक हजार १ सय २४ जनाले मतदान गरेका थिए ।

को हुन ज्वाला ?

ज्वाला नेकपाका सल्यानका लोकप्रिय नेता हुन् । सानो उमेरदेखि नै राजनीतिमा लागेका उनी स्थानीयस्तरमा जनप्रिय नेता र सामाजिक काममा लाग्ने व्यक्तिका रुपमा चिनिन्छन् ।

२०१८ साल जेठ १८ गते कुमाख गाउँपालिका ५ चिउरा टाकुरामा जन्मेका ज्वाला २०४६ सालको परिवर्तन लगत्तै २०४७ सालमा राजनीतिमा प्रवेश गरेका थिए । २०४८ सालमा तत्कालीन नेकपा मसालको पार्टी सदस्य बनेका ज्वाला २०५१ सालमा पार्टीको जिल्ला कमिटी सदस्य हुँदै पछि नेकपा माओवादीको जिल्ला कमिटीको सचिवालय सदस्य बनेका थिए । तत्कालीन माओवादीले २०५२ साल फागुण १ मा शुरु गरेको जनयुद्धमा संलग्न भएका ज्वाला २०५८ सालमा सल्यानको जिल्ला जनसरकार उपप्रमुख बनेका थिए । २०६० सालमा बेनी लडाईमा घाईते भएका उनी २०६१ सालमा सेनाको बटालियन कमिस्नार हुँदै २०६४ सालमा तत्कालीन एकीकृत माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार सदस्य बनेका थिए । हाल उनी नेकपा सल्यानका जिल्ला कमिटी सदस्य समेत छन् ।