२०७७ मंसिर ८, सोमबार

बेतानको सार्वजनिक सुनुवाई

cropped-logosसुर्खेत, ११ भाद्र । बेतान गाविसका सरोकारवालाहरुले आगामी मंसिरमा गाविसलाई पूर्ण सरसफाइयुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।

युएसएआइ डीको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित साझेदारी विकास परियोजना र गो गो फाउण्डेशनको सहयोगमा गाविस कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनीहरुले गाविसलाई पूर्ण सरसफाइयुक्त घोषणा गर्न विभिन्न सरकारी कार्यालय, गैरसरकारी संघसंस्था, राजनीतिक दल र स्थानीय नागरिकहरु आ–आफ्नो तहबाट लाग्ने प्रतिबद्धता जनाए । सचेतनामूलक कार्यक्रमहरु गरेर नागरिकलाई सरसफाइ सचेतना जगाउने उनीहरुको भनाइ थियो ।

त्यस्तै, कार्यक्रममा गाविस कार्यालयमा नागरिक वडापत्रको व्यवस्था गर्ने, गाविस कार्यालयलगायत विभिन्न सेवा प्रदायक निकायहरुमा सूचना पाटी राख्ने, मासिकरुपमा सञ्चालन हुने खोप केन्द्रमा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्ने लगायतका प्रतिबद्धताहरु गरिएको छ । कार्यक्रममा बेतानबासीहरुले पहिलेको तुलनामा गाविसले दिने सेवा सुविधाहरु प्रभावकारी बन्दै गएको भन्दै आगामी दिनमा पनि सहजरुपमा सेवा पाउनुपर्नेमा जोड दिएका थिए ।

गो गो फाउण्डेशनकी मोहनमाया ढकालले सहजीकरण गरेको कार्यक्रममा गाविस सचिव छविराज कँडेल, स्वास्थ्य चौकीका धनिषा शर्मालगायत विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।