२०७७ मंसिर १०, बुधबार

दोभाषेको व्यवस्था गर

अपांगता भएकाहरु प्रति राज्य अनुत्तरदायी भएको, सपांगता भएकाको जस्तै व्यवहार प्रदर्शन नगरेको अपांगता भएकाहरुले गुनासो गरेका छन् । कर्णालीमा पचास हजार भन्दा बढी अपांगता भएका व्यक्तिहरु रहेको अपांग महासंघले जनाएको छ । राजधानीमा रहेका अपांगहरुको अवस्था यति कमजोर रहेको छ भने दुर दराजमा बस्ने अपांगता भएकाहरुको अवस्था के होला सोच्न सम्म सकिदैन । भौगोलिक विकटा, आफूले बोलेको कुरा नबुझ्ने समुदाय भएका बहिराका लागि झन यो समाज पूर्ण रुपमा अर्कै छ भन्दा फरक नपर्ला ।
कर्णाली प्रदेशका सबै भन्दा बढी पीडित बहिरा अपांगता भएकाहरु नै छन् । उनीहरु सुन्न सक्दैनन, बोल्न पनि सक्दैनन् । हातको इशाराले उनीहरुलाई बुझाउनु पर्ने परिस्थिति छ । अझ भन्ने हो भने राज्यको पहुँचबाट उनीहरु माइलौं टाढा छन् । राज्यको निकायमा उनिहरुका कुरा सुनिदिने, उनीहरुका कुरा बुझिदिने कोही पनि नहुँदा उनीहरुको कुरा गर्ने, माग गर्ने तथा संविधानले प्रदत्त गरेको अधिकार कार्यान्वयन गर्ने निकायमा पहुँच शुन्य नै छ ।
अब उनीहरुलाई पनि राज्यले नागरिकको रुपमा लिनुपर्छ । उनीहरुकालागि राज्यले विशेष व्यवस्था गर्नुपर्छ । कर्णाली देशमा एक जना पनि दोभाषे नभएको अवस्थामा सरकारले सबैभन्दा पहिले कम्तिमाा मन्त्रालयमा दोभाषेको व्यवस्था गर्नुपर्ने अनि हरेक जिल्लामा दोभाषे सम्वन्धि सपांगलाई तालिम दिन आवश्यक छ ।