२०७७ कार्तिक १५, शनिबार

पुस पाँचमा नेकपाको कर्णाली प्रदेश बैठक बस्दै, प्रचण्ड सुर्खेत आउँदै

सुर्खेत।
नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश कमिटिको पुस पाँच गते बैठक बस्ने भएको छ । नेकपा कर्णाली प्रदेश कमिटिले उक्त बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, नेता वामदेव गौतम सुर्खेत आउने भएको जनाएको छ ।

अध्यक्ष गोरख वोगटीका अनुसार अहिले विभिन्न जिल्लाबाट आउने, केन्द्रबाट आउने कार्यकर्ताहरुको व्यवस्थापन बारे कमिटिले आवश्यक छलफल गरिरहेको जनाए । ‘सम्भव भएको खण्डमा नेपाल सरकारका रक्षा मन्त्री इश्वर पोखरेल पनि आउनु हुनेछ ।’ उनले भने, ‘पाँच गते बस्ने पार्टी कमिटिको बैठकमा उहाँहरुले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । बैठकको तयारी अन्तिम चरणमा पुगेको छ ।’ अध्यक्ष वोगटीका अनुसार कर्णाली प्रदेशका नेकपाका जिल्ला कमिटिबाट प्रतिनिधित्व हुने गरी पौष ६ गते कार्यकर्ता भेला बोलाईएको छ ।

उक्त भेलामा आउने कार्यकर्ताले होटलमा बस्ने खर्च आफैंले मिलाउने छन भने केन्द्रबाट आएकाहरुका लागि भने पार्टीले केहि व्यवस्थापन गर्ने अध्यक्ष वोगटीले जानकारी दिए । उनका अनुसार स्वंयसेवक छनौट गर्ने देखि अन्य तयारी तीव्रताका साथ भइरहेको छ ।