२०७७ कार्तिक ४, मंगलवार

नेपाल भ्रमण वर्षः कर्णालीमा सबै तयारी पुरा, बुलबुले तालमा उदघाटन गरिदै

सुर्खेत ।
सबैभन्दा कम विदेशी पर्यटक आउने कर्णाली प्रदेशमा जनवरी एक तारिखमा नेपाल भ्रमण वर्षको उदघाटन गरिने भएको छ । प्रदेश सरकारले भ्रमण वर्ष सन् २०२० भित्र कर्णालीमा एक लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको बेला कर्णालीका दशै जिल्लाका सांस्कृतिक झाँकी, परम्परा सहित कार्यक्रमको उदघाटन बुलबुले तालबाट गरिन लागिएको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
भ्रमण वर्षलाई सफल पार्न कर्णाली प्रदेशमा ३१ सदस्यीय पर्यटन प्रवद्र्धन समिति तथा विभिन्न उपसमिति गठन गरी कार्यक्रमको भव्य आयोजना गर्न लागिएको मन्त्री नन्दसिं बुढाले जानकारी दिए । मन्त्री बुढाको अध्यक्षतामा गठित समितिमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, पर्यटन व्यवसायीलगायतको प्रतिनिधित्व रहेको छ ।
रारा, से–फोक्सुण्डो, लिमी उपत्यका, त्रिपुरासुन्दरी, पञ्चकोशी, सिञ्जा, काँक्रेविहारलगायतका क्षेत्र विदेशी पर्यटकका लागि मुख्य गन्तव्य रहेको मन्त्री बुढाको भनाई छ ।
कार्यक्रमको उदघाटन गर्नको लागि सरकारले १० लाख रुपैंया विनियोजन गरिसकेको छ । ‘पर्सी मंगलबार आयोजना हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।’ मन्त्री बुढाले भने, ‘कार्यक्रमको उदघाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नेछन भने स्वागत मन्तब्य वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले गर्नेछन् ।’ उनका अनुसार कर्णाली प्रदेशका मौलिक पञ्चेबाजा, देउडा खेल, अन्य झाँकीहरुका साथमा ¥यालीको आयोजना गरिएको छ । पिपलचौतार बाट सुरु हुने उक्त र्याली बुलबुले तालमा गई उदघाटन सत्रमा परिणत हुनेछ ।
‘कर्णालीका हुम्ला, डोल्पा लगायतका केहि जिल्लाबाट प्रतिनिधित्व मात्रै गराउने छौं ।’ मन्त्री बुढाले भने, ‘त्यहाँबाट ठूलो संख्यामा नागरिक ल्याउँदा महँगो पर्ने भएकाले यहि भएकाहरुको नै प्रतिनिधित्व गराउने गरि अघि बढेका छौं ।’ उनका अनुसार सुर्खेत, दैलेख, जाजरकोट लगायतका जिल्लाहरुबाट उल्लेख्य रुपमा सहभागिता हुने भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० शुरु हुन दुइ दिन मात्र बाँकी रहँदा कर्णालीमा उद्घाटनको तयारी तीब्र पारिएको छ । सात प्रदेश भन्दा पृथक ढंगबाट उद्घाटन गर्ने लक्ष्य राखेको कर्णाली प्रदेशका १० वटै जिल्लामा भव्य तयारी भइरहेको छ । कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहले स्वागत गेट समेत बनाएका छन भने उद्घाटनका लागि विभिन्न संंस्कृति झल्किने झाँकी प्रर्दशनको तयारी भईरहेको छ ।
कर्णाली प्रदेश सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसरमा ख्यातिप्राप्त पाँच जना व्यक्तिलाई ‘कर्णाली पर्यटन दूत’को रुपमा सम्मान गर्ने भएको छ । कर्णालीको पर्यटन प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा ख्यातिप्राप्त व्यक्तिलाई ‘गुड वेल एम्बेसडर’को रुपमा सम्मान गरिने कर्णाली पर्यटन प्रवद्र्धन समितिका संयोजक राजु कार्कीले जानकारी दिए । ‘साहित्यिक, कलाकारिता, उद्योग व्यवसाय क्षेत्रमा ख्यातीप्राप्त विभिन्न क्षेत्रमा पाँच जनालाई दूतको रुपमा सम्मानसहित प्रमाणपत्र प्रदान गरिनेछ ।’ कार्कीले भने, ‘सम्मानितहरुले भ्रमण वर्षको अवधिभर कर्णालीका पर्यटन दूतको रुपमा काम गर्ने छन् ।’