२०७७ कार्तिक ५, बुधबार

थाहा छैन नागरिकलाई जेव्राक्रस : मनलाग्दी सडक पार गर्छन्

सुर्खेत ।

कर्णाली  प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित फोर लेन सडकमा केही महिना पहिले ‘जेब्राक्रस’ संकेत राखियो ।

शनिहल लाइन नजिकैको सुर्खेत–जुम्ला सडकखण्डमा बनाइएका जेब्राक्रसलाई सर्वसाधारणले नियमित रुपमा प्रयोग गर्दैनन् । जेब्राक्रमलाई ख्याल नगरी जथाभावी बाटो काट्ने गरिएको छ ।

यो संकेत किन बनाइएको हो ? मलाई थाहा नै भएन,’ जेब्राक्रसबारे अनभिज्ञ रहेका पैदल यात्री भुपेन्द्र कार्कीले भने, ‘यसबाट मात्रै सडक वारपार गर्नुपर्छ भन्ने कुरा मलाई थाहा थिएन । अब म आगामी दिनमा यसबाटै सडक वारपार गर्छु ।’

उनी मात्रै होइन, सडक जथाभावी पार गर्नेमध्ये अधिकांशले जेब्राक्रसबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् । ‘जेब्राक्रसबारे कसैले पनि हामीलाई जानकारी दिएका छैनन् । सुर्खेतमा पहिलोपटक जेब्राक्रस राखिएकाले पनि हुनसक्छ, हामीलाई सेतो धर्का तान्नुको अर्थ राम्रो देखाउनको लागि हो कि भन्ने लागिरहेको थियो,’ अर्का पैदल यात्री रमेश शाही भन्छन्, ‘मैले अहिले थाहा पाएँ । अब म सधैं जेब्राक्रस नै प्रयोग गर्छु ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतीले उल्टै प्रश्न गरे, ‘एक्लै प्रहरीले कति जनालाई सिकाउन सक्ला ?’ जेब्राक्रसबारे जनचेतना जगाउन सबै पक्षले सक्रिय हुनुपर्ने र शहरको भित्रि सडकमा पनि जेब्राक्रस राख्नुपर्ने उनले बताए । वीरेन्द्रनगर नगरपालिकालाई जेब्राक्रस राख्नको लागि पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनले बताए ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले नागरिकलाई जेब्राक्रसबाट बाटो काट्न सिकाउने दायित्व नगरपालिकाको भएको बताइन् । ‘आमनागरिकलाई जेब्राक्रसबाट बाटो काट्न सिकाउने जिम्मा हाम्रो हो,’ उनले भनिन्, ‘यो कुरामा हाम्रो ध्यानाकर्षण भएको छ । हामी केहीदिनमै नागरिक समाज, प्रहरी, पत्रकार सबैसँग सहकार्य गर्दै अभियानको शुरूवात गर्छौं ।’ उनले अबको २ महिनाभित्र शहरका भित्रिस्थानमा जेब्राक्रस राखिसक्ने प्रतिबद्धता जनाइन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जेब्राक्रसको प्रयोगबारे प्रदेश ट्राफिक कार्यालयसँग कुराकानी भइरहेको बताए । ‘यहाँका लागि जेब्राक्रस नौलो विषय हो । नागरिकलाई हामीले जेब्राक्रसबाट नै बाटो काट्नुपर्छ भनेर सिकाउन जरुरी छ,’ उनले भने, ‘त्यसका लागि ट्राफिक प्रहरीसँग कुराकानी भइसकेको छ ।’

माघ १५ गतेभित्र सडक सप्ताह मनाइने बताउँदै उनले नागरिकलाई जेब्राक्रसबारे जनचेतना अभिवृद्धि गरिने लोकान्तरलाई जानकारी दिए ।