२०७७ कार्तिक ११, मंगलवार

लाइसेन्स बनाउने ? अब सुर्खेतमै आउनुस…

शेरबहादुर थापा

सुर्खेत, ६ माघ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पहिलो पटक यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’ पाउन सहज हुने भएको छ । वीरेन्द्रनगर ११ चनौटेकी गीता सिंजाली खाम्चुको बायोमेट्रिकमा क्लिक गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सेवाको औपचारिक रुपमा उदघाटन गरेका हुन ।
आइतबारदेखि सुर्खेतस्थित कार्यालयबाटै लाइसेन्स वितरण गर्नेगरी यातायात व्यवस्था विभागले अनलाईन फारम खुला गरेको हो । विभागले सुर्खेतबाटै लाइसेन्स वितरणका लागि अनुमति दिएको करिब एक वर्षपछि कार्यालयले वितरणको प्रक्रिया सुरु गरेको हो ।
कार्यालय प्रमुख आनन्द चपाईका अनुसार मोटरसाइकल, स्कुटर, कार जीप, भ्यान, ट्याम्पो, इरिक्सा, पावर टेलर, ट्याक्टर, बस मिनिबस, ट्रकहरुको लाइसेन्स दिइने छ । अन्य लोडर, स्काभेटरको लाइसेन्स दिन भने कर्मचारी र जनशक्तिको अभावका कारण नसकिने उनको भनाई छ । उनका अनुसार कार्यालयले आर्थिक वर्ष ०७१÷०७२ मा एक करोड ४६ लाख ८९ हजार ४८१ राजश्व संकलन गरेकोमा आर्थिक वर्ष २०७२÷०७३ मा ४ करोड ९ लाख पाँच हजार ४५५ राजश्व संकलन गरेको थियो ।
आर्थिक वर्ष २०७३÷०७४ मा पाँच करोड ७८ लाख पाँच हजार दुइ सय साठी रुपैंया संकलन गरेको कार्यालयले आर्थिक वर्ष २०७४÷०७५ मा सात करोड ९८ लाख ७८ हजार ४५३ रुपै.ा राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष ०७५÷०७६ मा९ करोड ७१ लाख ५५ हजार ८६१ राजश्व संकलन गरेको कार्यालयले चालु आर्थिक वर्षको माघ पाँच गतेसम्म ६ करोड ४६ लाख ६५ हजार ६९२ रुपैंया संकलन गरेको कार्यालय प्रमुख चपाईको बनाई थियो ।
‘हामीले यो कार्यालयबाट विगतमा पटके, स्थायी अस्थायी रुट जारी गर्ने, नविकरण गर्ने, ब्लुबुक नविकरण गर्ने, जाँच पास गर्ने, लाइसेन्स नविकरण गर्ने र सवारी नाम सारी र दर्ता गर्ने गरेका थियौं ।’ उनले भने, ‘अब यहि कार्यालयबाट नयाँ लाइसेन्स पनि वितरण हुनेछन ।’ उनका अनुसार दैनिक रुपमा २०० नयाँ तथा थप लाइसेन्स वितरण गर्ने गरी कार्यालय अघि बढेको उनको भनाई थियो । सबैभन्दा बढी स्कुटी र मोटरसाइकलका लाइसेन्स जारी गरिनेछ । यी लाइसेन्स ७० ओटा हुनेछन् । कार जीप, भ्यानका ३५ ओटा, ट्याम्पोका ३०, इरिक्सा पाँच, पावर टेलर पाँच, ट्याक्टर १०, मिनिीबस १० ओटा दैनिक लाइसेन्स वितरण गरिनेछ । लाइसेन्स लिन चाहनेले अनलाईन फार्म भरेर कार्यालयमा आउनुपर्ने उनको भनाई छ ।
भौतिक विकास मन्त्रालयका सचिव रामआधार शाहले गत साउनमै लाइसेन्स वितरण गर्ने तयारी भएपनि विविध कारणले ढिलाइ भएको बताए । मुख्यमन्त्री शाहीले प्रदेश राजधानीमा नै लाइसेन्स बन्ने भएका कारण कर्णाली वासीको ठूलो धनराशी कर्णालीमै रहने बताए । ‘विगतमा लाइसेन्स लिनको लागि सुर्खेत, दैलेख, कालिकोट, जाजरकोटलगायतका जिल्लाका युवाहरुले नेपालगञ्ज जानुपर्ने बाध्यता थियो ।’ मुख्यमन्त्री शाहीले भने, ‘दुइ तीन पटक नेपालगञ्ज जानुपर्ने हुँदा आउन जान समय बढी खर्च हुने, रुपैंया पनि बढी नै खर्च हुने अवस्थाको अन्त्य भएको छ ।’ वीरेन्द्रनगरमै लाइसेन्स पाइने भएपछि युवालाई रोजगारीका अवसर पनि सिर्जना हुने उनको भनाई थियो । ‘आर्थिक अभाव भएका तर कार, व्यवसायिक सवारी साधनको लाइसेन्स लिइ रोजगारी गर्न चाहने युवाहरुको माग सम्वोधन भएको मैले महसुस गरेको छु ।’ उनले भने, ‘तपाइहरु आफूले पाएको जिम्मेवारी वहन गर्दै सेवाग्राहीको चाहना अनुसार काम गर्नुहोला । सकेसम्म सेवाग्राहीलाई सन्तुष्ट पार्ने काम गर्न कर्मचारीलाई आग्ह गर्दछु ।’