२०७७ मंसिर ९, मंगलवार

सक्षम डिएफओ आवश्यक – सम्पादकीय

वीरेन्द्रनगर–११ स्थित धोद्रेसालदेखि नाराढिकसम्मको चक्रपथ खण्डमा जथाभावी रुख काटेको पाइएको छ । एकसाता अघि अम्बिकादेवी सामुदायिक वनका करिब पचासभन्दा बढी रुखहरू जथाभावी कटान गरिएको थियो । अम्बिकादेवी सामुदायिक वन उपभोक्ता समूहले सडक छेउका मसिना, थोत्रा र कुहिन लागेका काठ काटेको दावी गरेको छ ।

तर ति काटिएका रुखका ठेली हेर्दा रुख मसिना र थोत्रा नभई राम्रा रुख भएका देखिन्छन् । रुख कटानी भएको समाचार आएपछि डिभिजन वन कार्यालय, सुर्खेतले अनुसन्धान गर्न सब–डिभिजन कार्यालय, वीरेन्द्रनगरलाई निर्देशन दिएको थियो । जिल्लाभरीको वन संरक्षण र अनुगमनको जिम्मा लिएको जिल्ला वन अधिकृत गोविन्द दाहालको असक्षमताका कारण वीरेन्द्रनगरकै रुखहरु कटान भइरहेका छन् । आफूलाई सक्षम भएको डिएफओको रुपमा स्वघोषित बोल्दै हिँड्नै दाहालकै पालामा प्रदेश राजधानी भित्रैका रुखहरु दिनदहाडै ढालिनु लज्जाको विषय बनेको छ ।

त्योसँगै जिल्लाभर विभिन्न सामुदायिक वनमा हजारौँ क्यूफिट काठ कटानका लागि अनुमति दिइएको भए पनि ठेकेदारहरुले अनुमतिभन्दा धेरै रुखहरु कटान गरेका र त्यसकोसमेत अनुगमन वन कार्यालयले गर्न नसकेको सुर्खेत पश्चिमका स्थानीयवासीको भनाइ छ । यता, सब– डिभिजन कार्यालय, वीरेन्द्रनगरले अनुसन्धान प्रतिवेदन बुझाएपछि थप कारवाहीका लागि विस्तृत अध्ययन गर्न पनि डिभिजन वन कार्यालयले निर्देशन दिएको छ । विस्तृत अनुसन्धान भएपछि कसलाई कस्तो प्रकारको कारवाही हुने डिभिजन वन कार्यालय, सुर्खेतका प्रमुख गोविन्द दाहालले बताए । तर वीरेन्द्रनगरमै जथाभावी रुख कटान भइरहँदा डिभिजन कार्यालय भने ट्वाल्ल अवस्थामा देखिएको हो ।

यसरी अनुमतिभन्दा बढी रुख काट्नेहरुलाई सरकारले कारवाही गर्ला कि नगर्ला सर्वत्र चासोको विषय बनेको बेला आफूले अनुसन्धान गर्ने प्रमुखको भनाइ छ । नेपालमा बारम्बार अनुसन्धान गर्ने र त्यसलाई बेवास्ता गर्ने प्रचलन कायमै छ । वनजस्तो महत्वपूर्ण क्षेत्रको जगेर्ना गर्नुको साटो डिएफओले हेरिरहने वा कारबाहीको नाम मात्रको प्रक्रिया अपनाउने कार्य गैर जिम्मेवार हो  ।