२०७७ कार्तिक १४, शुक्रबार

कर्णालीको पहिलो सेनेटरी प्याड उद्योग : आयातमुखी कर्णालीमै बजार पाएन

सुर्खेत ।  एक समय थियो महिलाले प्रयोग गर्ने सेनेटरी प्याड सिमित महिलाको पहुँचमा मात्रै । तर, आज त्यो हरेक महिलाको पहुँचमा छ । कीने र वा स्कूल स्वास्थ्य संस्थामार्फत सितैमा लिएर सबैले प्रयोग गर्छन् । नेपालमो कुना कन्दराका पसलमा पाइन्छ सेनेटरी प्याड । त्यसको मतलब सबैले यसको महत्व बुझेका छन् ।

अहिले पनि केही मान्छेलाई लाग्छ कर्णालीमा धेरै समस्या छ, विकास छैन । तर, यही कर्णालीमा यहीका मान्छेको आवश्यकता र सम्भवना बनेर स्थापना भएको छ, सेनेटरी प्याड उद्योग । कर्णालीमा यसको उद्योग कसरी चल्दै होला ! केही गर्नु पर्छ भन्ने सोच भएकाहरूले अनेक उपाय खोज्छन् । एकातिर आफूले कमाइ खाने मेसो हुने, केहीले रोजगारी पाउने र स्थानीय स्तरमा आवश्यक पर्ने प्याड उत्पादन गर्ने ध्येयले खुलेको हो उक्त उद्योग ।

तर, गरी खान भनेजस्तो सहज भने छैन । नेपाली समाजमा एउटा उखान चर्चित छ, ‘नजिकको तिर्थ हेलाँ,’ कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–११ पिपिरास्थित ‘द सुपर वली’ उद्योगलाई यस्तै भएको छ । उनको ‘द सुपर वली’ उद्योग सुपर हुन भने सकेको छैन । उत्पादनले आम्दानी दिन नसके पनि चल्दै भने छ ।

कर्णाली प्रदेशमा पहिलो सेनिटरी प्याड उत्पादनको रूपमा स्थापना भएको उद्योगमा उत्पादित सेनेटरी प्याडले सोचेजस्तो बजार पाउन सकेका छैन । स्थानीय उद्यमी सुरेश कुमार वलीले करिव एक करेड १५ लाख रूपैयाँको लागतमा स्थापना गरेको ‘द सुपर वली इन्डस्ट्रिज’ नामको सेनिटरी प्याड उद्योग गएको साउन महिनादेखि सञ्चालनमा ल्याएका हुन् । उनले जुन उद्देश्य र अपेक्षासहित उद्योग सञ्चालनमा ल्याएका थिए, त्यसले प्रगति भने त्यसअनुसार गर्न सकेको छैन । उक्त उद्योगमा उत्पादित सेनेटरी प्याडले अहिलेसम्म राम्रो बजार पाउन नसकेको सञ्चालक वलीले बताए ।

‘प्याडहरूको खुद्रा मुल्य प्रति सातवटाको २३० एम एम, २८० एम एम र ३२० एम एमको क्रमश ८०, ९० र एक सय रहेको छ ।’ उनले भने, ‘प्याडहरूको होलसेल मुल्य प्रति सातवटाको २३० एम एम, २८० एम एम र ३२० एम एमको क्रमश ५५,. ६८ र ७८ रूपैयाँ रहेको छ

कर्णालीका गाउँ गाउँमा आयातित प्याड पुग्दा, त्यही बनेको प्याड थन्किएर बसको छ । वारिबाट आएका प्याडले वलीको उद्योगमा जन्मिएका प्याडलाई गिज्याएझै हुन्छ कहिलेकाहीँ । ‘वन साङ्लाले घर साङ्लालाई खेद्छ’ भने झै । किन रूचाउँदैन यहाँका महिला उनको उत्पादन ? के हो उनको उत्पादनमा खोट ? वा उनलाई स्थानीयले सहयोग गरिरहेका छैनन् । उनले पनि सोच्ने वेला आएको छ । भनिन्छ बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन । यस्तै भएको त होइन ? ।

कर्णाली प्रदेशमा सेनेटरी प्याडको प्रयोग गर्नेको संख्या र माग पनि बढ्दो छ । तर, त्यही बनेको समानले भने उचीत बजार पाउन सकेको छैन । यहाँका हरेक विद्यार्थी र गाउँका महिला सेनेटरी प्याड प्रयोग गर्ने भइसकेका छन् । यहिँका विद्यार्थी र महिलाले प्रयोग गर्ने प्याड बाहिरबाट आएका हुन्छन् ।

उद्योगका सञ्चालक वलीका अनुसार उक्त उद्योगमा उत्पादित प्याड बजारमा पाइने अन्य प्याडको तुलनामा महँग छैनन् र गुणस्तरीय छन् । ‘हामीले उत्पादन गरेको प्याड स्वास्थ्य, आर्थिक र अन्य दृष्टिकोणले सस्तो र राम्रो छ सबै दृष्टिले उपयुक्त हुँदा हुँदै पनि मान्छेले बाहिरको सामान रोज्नुको कारण बुझन सकेका छैनौँ ।’ उनले भने, ‘कर्णालीमा सेनेटरी प्याड धेरै खपत हुन्छन् । तर, यहाँ उत्पादन भएको प्याड प्रयोग नगरी बाहिरबाट आयात भएको प्रयोग गर्दा हामीले समस्या व्यहोर्नु परेको छ ।’

दैनिक डेढ लाख वटाको संख्यामा उत्पादन गर्ने क्षमता भएको उद्योगले हालसम्म स्थापना भएको पाँच महिनामा करिब ८० हजारवटा मात्रै सेनेटरी प्याड बिक्री गरेको उनले बताए । ‘दैनिक डेढ लाखवटा उत्पादन गर्ने क्षमता मेसिनको छ ।’ उनले भने ‘हाल दाङ, भुरीगाउँ लगायतका क्षेत्रमा पठाउने गरेको छु ।’ वलीका अनुसार उद्योगमा सात जनाले मासिक ज्यालादारी र अन्यले मार्केटिङमा रोजगारीसमेत पाउँदै आएका छन् ।

निजी लगानीमा स्थापना गरेको उद्योगमा सेनेटरी प्याड उत्पादन गर्ने कच्चापदार्थ भारतबाट आयात गर्ने गरेको वलीले बताए । उनका अनुसार हालसम्मको कारोबार हेर्दा उद्योग घाटामा जाने स्थिति देखिन्छ । ‘हालसम्मको उत्पादन बिक्रीको परिणाम सन्तोषजनक छैन ।’ उनल गुनासो गरे, ‘यस्तै अवस्था रहि रहेमा यहाँ काम गर्ने कर्मचारीलाई तलब दिनसमेत गाह्रो हुने छ । दिनदिनै सेनेटरी प्याडको प्रयोग र यसको माग बढिरहेको अवस्थामा कर्णालीमा नै यसको उद्योग खोल्दा व्यवसाय राम्रो होला भन्ने उनको आसा थियो । तर, उनले सोचेअनुसार भइरहेको छैन ।

यस उद्योगले अक्सिजन प्वालसहितको विभिन्न प्रकारका प्याडहरू उत्पादन गरिरहेको वलीले बताए । ‘२३० एम एम, २८० एम एम र ३२० एम एम का विभिन्न साइजका प्याडहरू उत्पादन हुन्छन्’ उनले भने, ‘प्याडहरूको क्षमता १२ घण्टासम्म हुन्छ ।’ उनको अनुसार बजारमा पाइने अन्य प्याडभन्दा आफूले उत्पादन गरेको प्याड धेरै उपयोगी रहेको छ ।

उनका अनुसार उद्योगमा उत्पादन भएका प्याड कागज र अन्य कुहिने सामाग्रीबाट बनेकोले वातावरणीय दृष्टिकोणबाट समेत सुरक्षित रहेका छन् । ‘प्याडहरूको खुद्रा मुल्य प्रति सातवटाको २३० एम एम, २८० एम एम र ३२० एम एमको क्रमश ८०, ९० र एक सय रहेको छ ।’ उनले भने, ‘प्याडहरूको होलसेल मुल्य प्रति सातवटाको २३० एम एम, २८० एम एम र ३२० एम एमको क्रमश ५५,. ६८ र ७८ रूपैयाँ रहेको छ ।’

प्रयोगकर्ताले बाहिरबाट आयात गरिएका प्याड नै खोज्ने गर्दा आफूले उत्पादन गरेको सेनेटरी प्याडले बजार पाउन नसकेको उनको गुनासो छ । ‘पसलवालाहरूले भनेअनुसार ग्राहकहरूले हाम्रो उत्पादन रूचाएका छैनन । ग्राहाकले आयातित प्याड प्रयोग गर्नुहुन्छ । तर, हाम्रो यहीँ उत्पादन भएको गुणस्तरिय प्याडले राम्रो बजार लिन सकेको छैन ।’ उनले भने, नेपालमा अझ आफ्नै गाउँमा बनेको सामान राम्रो हुँदैन भन्ने भ्रम रहनु र बाहिरबाट आएको सामान राम्रो हुन्छ भन्ने बुझाइने यस्तो भएको हो ।’ हाम्रो परनिर्भर सोचले यस्तो समस्या भएको हो । विस्तारै यहाँका प्रयोग कर्तालाई हाम्रो उत्पादनको महत्व बुझाउने छौँ ।’

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा बाहिरबाट प्याडहरूको आयात हुने गर्छ । गाउँ–गाउँमा सेनेटरी प्याड पुग्छन् तर, बाहिरबाट आएको । वलीले आगामी दिनहरूमा स्थानीय तह र विभिन्न विद्यालयहरूसँग सहकार्य गरेर प्रदेशभरि नै आफ्नो उत्पादनको सेवा विस्तार गर्न तयार रहेको बताए । ‘विद्यालय तथा विभिन्न स्वास्थ्य संस्थासम्म स्थानीय उत्पादन पु¥याउने मेरो लक्ष्य छ ।’ उनले भने ।

उद्योगले विभिन्न निकायलाई सेनेटरी प्याडको बिक्रीका लागि समन्वय गर्न पत्राचारसमेत गरेको छ । तर, पत्रको जवाफ नआएको उनले बताए । स्थानियलाई रोजगारीसमेत दिएको उद्योगबाट उत्पादित सेनेटरी प्याड नै प्रयोग गर्न कर्णालीवासीले ध्यान दिन आवश्यक देखिन्छ । यदि उद्योगमा उत्पादित सेनेटरी प्याडले बजार नपाकै कारण उद्योग बन्द हुने अवस्था आएमा कर्णालीमा उद्योग गर्न सहज छैन भन्ने सन्देश जाने उनले बताए ।

‘कर्णाली जस्तो ठाउँमा यहाँ खपत हुने सामान उत्पादनमा लगानी गर्न हामीजस्तोको उत्साह मर्नेछ’ उनले भने, ‘हामीले उत्पादन गरेको सामान यहाँ खपत नहुने होइन यही सामान बाहिरबाट आउने र बाहिरकाले आम्दानी गर्ने हामीचाहिँ उद्योग बन्द गरेर हिँड्ने दिन आयो भने कस्तो होला ?’ उनले प्रश्न गरे । उनले आफ्नो उत्पादनमा कमी भए सुझाब दिन र गरी खानुपर्छ भन्ने सोचमा साथ दिनसमेत सबैलाई आग्रह गरेका छन् । यसका लागि स्थानीय निकाय र संघसंस्थाको सहयोगको अपेक्षा रहेको समेत उनले बताए ।