२०७७ माघ ७, बुधबार

पानी पिउने ३२ वर्ष पुरानो सपना

downloadराजा वीरेन्द्र सुर्खेत भ्रमणमा आउँदा आम गढीबासीले माग राखेका थिए–गढीमा सुलभ ढङ्गले पानी पिउन पाइयोस् भनेर । राजा गईसके, राजतन्त्र नेपालबाटै हराइसक्यो । उतिबेलैको एउटा विकासको एजेण्डा आजका दिनसम्म आउँदा पनि राज्य लगायतका क्षेत्रले सम्बोधन नगरेको भन्दा आश्चर्य लाग्ला । तर सुर्खेत जिल्लाको पुरानो सदरमुकामको अहिलेको हालत यही हो ।

तर अहिले करिब ३२ वर्षदेखिको सपना आँगनमै धाराबाट आएको खानेपानी पिउने गढीका सर्वसाधारणको सपना पूरा भएको छ । स्थानीय उपभोक्ताहरुको पहल र राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीले आर्थिक सहयोग गरेर खानेपानी आयोजना सम्पन्न गरेपछि गढीबासीको सपना पूरा भएको हो । गढीमा करिब १२ किलोमिटर टाढा चन्दनेबाट खानेपानी ल्याएर रिजर्भ ट्याङ्कीमार्फत् वितरण गर्ने गरिन्छ ।

आयोजना सम्पन्न गरिसकेपछि आयोजनाबाट २ सय ५० घरपरिवार लाभान्वित भएका छन् । गढी गाउँ विकास समितिका पूर्व अध्यक्ष हरि हमालका अनुसार ५ घण्टासम्म खानेपानी लिन कुवामा लाईन बसेर १ गाग्री पानी लिनुपर्ने बाध्यतासमेत हटेको छ । चन्दने खानेपानी आयोजना बन्नु अगाडि १ घण्टा टाढा पर्ने मुहानबाट पानी लिन स्थानीय महिलाहरु डोकोमा गाग्री हालेर जानुपर्ने बाध्यता थियो । सोही आयोजनाले वर्षौदेखि खानेपानीको समस्यासँग जुध्दै आएका सुर्खेतको कुनाथरी, लेखगाउँ र गढी गाविसमा खानेपानी आयोजना निर्माण गरिदिएपछि स्थानीयसमेत खुसी छन् ।

लेखगाउँमा ३३ लाख ९७ हजार र गढीमा २३ लाख ३ हजारको लागतमा खानेपानी आयोजना निर्माण भएपछि स्थानीय खानेपानीको समस्याबाट मुक्त भएका छन् । घरआँगनमै चौबीसै घण्टा खानेपानीको सुविधा पाएपछि स्थानीयबासीले आफूहरुको समय बचत भएको र शुद्ध पिउने पानी पाइनेसमेत आशा गरेका छन् ।

जीवनको अत्यावश्यक सेवाका रुपमा रहेको खानेपानीको आपूर्तिसमेत नहुँदा करिब विस्थापित हुनुपर्ने अवस्था गढी र लेखगाउँबासीको लागि टरेको छ । राज्यले अहिलेसम्म असम्भव देखे पनि एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सम्भव देखेर आमनागरिकलाई खानेपानी धारामै उपलब्ध गराएको छ ।

निश्चय पनि यसले विकासमा सरकारी क्षेत्रले पनि सिक्नका लागि दबाब दिनेछ । यस्ता, सामान्य विषयमा पनि नागरिकहरुलाई राज्य हँुदाहँुदै अन्य क्षेत्रको मुख ताक्न नपरोस् भन्ने सन्देश आगामी आयोजनाहरु बन्दा सबैमा चेतना होस् ।