२०७७ माघ ४, आईतवार

सल्लीबजारमा तीज विशेष कार्यक्रम

images (1)सुर्खेत, भदौ १३ । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. र वातावरण सुधार समाज, सुर्खेतले संयुक्तरुपमा सल्यानको सल्लीबजारमा तीज विशेष कार्यक्रम सम्पन्न गरेका छन् ।

वातावरणको लघुवित्त कार्यक्रमअन्तर्गत देवस्थल सेवा केन्द्रमा आबद्ध महिला समूहहरुबीच खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरी उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । संस्थाका कार्यकारी प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सुरजप्रसाद आचार्यले वातावरणले विशेषगरी प्रत्येक वर्ष हिन्दू महिलाहरुको महान् पर्व तीजलाई उल्लासका साथ मनाउँदै आए पनि गत २ वर्ष सुर्खेतको बाढी र महाभूकम्पका कारण नमनाए पनि यस वर्ष संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सल्यानको सल्लीबजारमा विशेष कार्यक्रम आयोजना गरिएको बताए ।

संस्थाको देवस्थल सेवा केन्द्र अन्तर्गतका विभिन्न ३२ वटा महिला समूहहरुले भाग लिएको उक्त खुल्ला तीज गीत तथा नृत्य प्रतियोगितामा उत्कृष्ट ५ वटा समूहलाई पुरस्कृत गरिएको थियो भने जेष्ठ महिला र खुल्ला गरी २ जनालाई नृत्यमा समेत पुरस्कृत गरिएको थियो ।

संस्थाको महिला तथा बालबालिका उपसमितिका संयोजक शोभा ढकालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बागीना समूहका कलाकारका साथै राष्ट्रिय लोकगायिकाहरु पदमपुरा सेजुवाल र मनु मन्दिरको समेत विशेष प्रस्तुती रहेको थियो ।