२०७७ मंसिर २०, शनिबार

मप विश्वविद्यालयको स्ववियु निर्वाचनमा १ हजार ४ सय ८० मत खस्यो

सुर्खेत, भदौ १३ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतमा पहिलोपटक आइतबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदान सम्पन्न भएको छ । बिहान करिब ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ६ बजेपछि सम्पन्न भएको थियो । चार बजेपछि मतदान स्थल प्रवेश गरेका विद्यार्थीहरुले साँझ ६ बजेसम्म मतदान गरेका थिए ।3

निर्वाचन समितिका अनुसार एक हजार ४ सय ८० जना मत खसेको छ । विश्वविद्यालयका जम्मा एक हजार ६ सय ९३ जना मतदाता भएकोमा त्यसको ८६.४१ प्रतिशत मत खसेको हो । निर्वाचन समितिका अनुसार बुथ नं. १ अर्थात् व्यवस्थापना संकायबाट पाँच सय ८६ मत खसेको छ ।

यस्तै, मानविकी र शिक्षा संकायका लागि निर्माण गरिएको बुथ नं. २ बाट चार सय ४४, इन्जिनियरिङ, विज्ञान र शिक्षाशास्त्र संकायका लागि निर्माण भएको बुथ नं. ३ मा चार सय ५० मत खसेको निर्वाचन समितिले जनाएको छ । देशकै पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि चुनाव हुन नसकिरहेको बेलामा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा निर्वाचन हुँदा त्रिविलाई समेत दबाब बढ्ने विश्लेषण गरिएको छ ।

स्ववियुको नेतृत्व हत्याउनका लागि पहिलोपटक हुन लागेको निर्वाचनमा मप विश्वविद्यालयमा विभिन्न ८ वटा विद्यार्थी संगठनबाट ६९ जनाले प्रतिस्पर्धा गरेका छन् ।

त्रिविले मिश्रित प्रणालीमा निर्वाचन गर्ने तयारी गरे पनि कार्यान्वयन नगरेका बेला मप विश्वविद्यालयले भने मिश्रित प्रणालीमै निर्वाचन गराउन लागेको छ । यो प्रणाली अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष र सात जना सदस्य प्रत्यक्ष निर्वाचनबाट छनौट हुँदैछन । जसका लागि विभिन्न ८ संगठनबाट ६९ जनाले प्रतिस्पर्धा गरेका छन् ।

बाँकी पदमा संगठनले प्राप्त गरेको मतको आधारमा छनौट गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा सहभागी आठ वटा संगठनमध्ये तीन वटाले मात्रै प्रत्यक्षतर्फको १० सिटमा उम्मेद्वारी दर्ता गराएका छन् ।

नेकपा माओवादी (केन्द्र)को अखिल (क्रान्तिकारी), नेकपा (एमाले) निकट अनेरास्ववियु र नेपाली काँग्रेसको नेपाल विद्यार्थी संघले मात्रै प्रत्यक्षतर्फका सबै १० सिटमा उम्मेद्वारी दिएका छन् ।

नेकपा माओवादी (केन्द्र) निकट अखिल (क्रान्तिकारी)बाट अध्यक्षमा राजेन्द्र बुढा, सचिवमा रवि केसी र कोषाध्यक्षमा जानकी रेग्मी तथा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघबाट अध्यक्षमा झक्कबहादुर शाही, सचिवमा सन्तोषकुमार उपाध्याय र कोषाध्यक्षमा सुशील भट्टराईले उम्मेद्वारी दिएका छन् भने अखिलबाट अध्यक्षमा प्रभात पोख्रेल, सचिवमा भरत शाही र कोषाध्यक्षमा अनु आकुराले उम्मेद्वारी दिएका छन् ।

त्यसैगरी, नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अध्यक्षमा भरतप्रसाद दाहाल, सचिवमा नविनप्रसाद जैसी र कोषाध्यक्षमा कमला शाही, नयाँ शक्ति विद्यार्थी युनियनबाट अध्यक्षमा तिर्सना हमाल, सचिवमा उमेश शाही र कोषाध्यक्षमा पुष्करदेव गिरी, अखिल (छैंठौं)बाट अध्यक्षमा शिल्पा रावल, सचिवमा टेकबहादुर वि.क. र कोषाध्यक्षमा भूमिका थापा उम्मेद्वार बनेका छन् ।

अखिल (क्रान्तिकारी)बाट अध्यक्षमा भीमबहादुर कठायत र कोषाध्यक्षमा शुद्धधन रोका मगर उम्मेद्वार बनेका छन् भने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट आदित्यराज उपाध्यायले अध्यक्ष, नवराज गिरीले सचिव र गणेश थापाले कोषाध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

८ वटा संगठनहरु प्रतिस्पर्धामा उत्रिए पनि खास प्रतिस्पर्धा अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ र अनेरास्वियुबीच देखिएको छ ।