२०७७ कार्तिक ११, मंगलवार

सरकारको निगरानी गर्दै सत्तारूढ नेकपा, विशेष टोली खटाउने

सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश कमिटीले ७९ वटा स्थानीय सरकार र प्रदेश सरकारको काम कारवाहीको प्रभावकारी र निगरानी गर्न विशेष टोली खटाउने भएको छ ।

नेकपा कर्णाली प्रदेशको फागुन ६ र ७ गते बसेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकले गरेका निर्णय पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै अध्यक्ष गोरख बोगटीले प्रदेश, जिल्ला, स्थानीय तथा टोलमा पनि यस्ता टोली खटाइने जानकारी दिए ।

‘जनताका अपेक्षाअनुसार काम नभएको गुनासो सर्वत्र आइरहेको छ । विगतमा पार्टीका सबै कमिटी नबनेका कारण निगरानी गर्न र सरकारलाई निर्देशन दिन समस्या भएको थियो,’ अध्यक्ष बोगटीले भने, ‘अब समस्या छैन । सबै तहका कमिटी गठन भइसकेका छन् । ती सबैले सरकारका काम कारवाहीलाई विगतको भन्दा थप प्रभावकारी बनाउने गरी आवश्यक निर्देशन दिनेछन् । गलत कसैले गरेको अवस्थामा पार्टीलाई जानकारी दिनेछन् । पार्टीले अध्ययन गर्ने र गलत देखिएको खण्डमा छानबिन गरी दोषीलाई कारवाही गर्ने गरी हामी अघि बढेका छौं ।’

उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम राख्न पार्टीले सबै सरकारलाई निर्देशन दिइसकेको बताए । उनले सरकार पार्टीकै नेतृत्वमा चल्नुपर्ने बताए ।