२०७७ कार्तिक ६, बिहीबार

तीस हजार घुसहित प्रधानाध्यापक अख्तियारको नियन्त्रणमा

दैलेख ।
दैलेखका एकजना प्रधानाध्यापकलाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । जिल्लाको नौमुले गाउँपालिका–१ मा रहेको भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहलाई बिहीबार ३० हजार रुपैयाँ घुस रकमसहित रंगेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।
सिंह र सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गगनबहादुर बस्नेतले शिक्षकहरूको चौमासिक तलब तथा दसैँ खर्च निकासा गर्न पटकपटक घुस मागेको भन्ने उजुरीका आधारमा सुर्खेत कार्यालयबाट गएको अख्तियारको टोलीले उनलाई घुससहित नियन्त्रणमा लिएको सापकोटाले जानकारी दिए ।
घुस रकम लिइसकेको अवस्थामा प्रअ सिंहलाई नौमुले गाउँपालिका–१ मा स्थित एनएमबी बैंकको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिए ।