२०७७ कार्तिक ११, मंगलवार

छाउगोठ, चेतना र शिक्षा क्षेत्रको प्रसङ्ग

जितबहादुर शाह

जीतबहादुर शाह,
मेरो बुझाइमा महिलाहरु महिनावारी भएपछि अरुसँग नछोइकन एवम् कुनै पवित्र कार्यबाट टाढा रही सधैं बसिरहेको घरमा नवसेर छुट्टै घर वा गोठमा बस्ने परम्परागत चलनलाई छाउ प्रथा भनिन्छ । यसरी महिनावारी भएको अवधि अर्थात पाँच देखि सात दिनसम्म बस्नका लागि बनाएको घर वा गोठलाई छाउगोठ भन्ने गरिन्छ । उक्त प्रयोजनका लागि बनाइएका गोठहरु असुरक्षित र अस्वस्थ भएका कारण छाउ गोठमा बसेकै अवधिमा कतिपय महिलाहरु बलात्कारमा परेको, कसैले सर्पको टोकाइ र अन्य समस्याले मृत्युबरण गर्नु परेका विभत्स घटनाहरु घटिरहेको अवस्था छ । मानव सभ्यताको कुरा गरिरहेको मानिसहरुको बीचमा यो प्रथा एउटा कलङ्क भएर बाँचिरहेको छ । त्यसैले पनि सरकारले प्रहरी लगाएर छाउगोठ भत्काउने अभियान अघि सारेको छ । विडम्बना, प्रहरीले यो अभियान चलाइरहँदा कतिपय ठाउमा सामुदायमा मानिसहरुसँग झडप पनि भयो भने कतिपय ठाउमा प्रहरीले भत्काउदै जाने र समुदायका मानिसहरुले बनाउदै जाने कार्य पनि भयो । मलाई भने टाउको दुखेको औषधी कतै नाइटोमा त लगाइएन भन्ने चिन्ताले चिमोटीरहयो र अहिले पनि चिमोटिरहेको छ ।

हेनरी डेभिड थोरोले भनेका छन्– ‘हजारहजार पटक पातमा प्रहार गरेर दुर्गुणहरु साफ गर्ने प्रयत्न गर्नु भन्दा एकपटक जरैमा प्रहार गर्नु उत्तम हुन्छ । हजार प्रयत्न गरेर हामी सानातिना पात र हाँगा त सफा गर्ने प्रयत्न गर्दछौं तर त्यसलाई हुर्कन, बढ्न र पोषणका लागि काम गर्ने जराका रुपमा रहेका हाम्रा सोच र दृष्टिकोण उही रहिरहे भने हाम्रा ती बानीब्यहोरा र प्रवृत्तिलाई सुधार गर्ने प्रयत्न काम लाग्दैनन् ।’ साँच्ची हेनरी डेभिडले भने झै हामीले पातहरु झारेर समस्याको समाधान गर्नतिर लाग्छौं तथापि जरै उखेल्नतिर लाग्दैनौं । त्यसकारण पनि समस्याको समाधान हुन सक्दैन, बरु झन झन बल्झिन्छ । हाम्रो समाधान भनेको जहानिया राणाशासन जोगाउनका लागि राणाहरुले अपनाएको तरिका जस्तै हुँदो रहेछ, हाम्रो समाधान भनेको पञ्चायतका हिमायतीहरुले पञ्चायत जोगाउनका लागि अवलम्बन गरेको शैली जस्तै हुँदोरहेछ । हामी गणतन्त्र नेपालका भए पनि तौरतरिका भने निरङकुशतारुपी बाउबाजेकै अपनाउदा रहेछौं । जनतालाई चेतना बाँड्नतिर नलागेर जनताले दुख गरेर बनाएको घरगोठ पुलिस लगाएर जवर्जस्ती भत्काउनतिर लाग्ने ।

जे होस निरङकुशतारुपी बाउबाजे अहिले नभए पनि सोच र दृष्टिकोण भने हामीलाई पुग्ने गरी छोडेर गएकै छन् । हेनरी डेभिडले भने झै सोच र दृष्टिकोण रुपी जराहरु पुरानै राखेर पात नयाँ खोज्ने काम भइरहेको छ । मनोबैज्ञानिकहरुले पागलपनका कैयांै लक्षणहरुमध्ये एउटा लक्षण त्यही चिजलाई बारम्बार त्यही तरिकाले गरिरहनु र अलगअलग परिणामको अपेक्षा गर्नु पनि हो भन्दछन् । हामीमा अहिले त्यही पागलपनको सवार भइरहेको छ ।

नाम बदल्छौं, काम गर्ने तरिका र शैली बदल्दैनौं । उद्देश्य फरक बनाउछौं, नियम कानून पनि फरक बनाउछौं, फेरि पनि तरिका र शैली, सोच र दृष्टिकोण बाउबाजेबाटै सापट लिएर चलाउछौं । त्यसैले त भ्रष्टाचार हिजो पनि थियो र आज पनि छ । ढिलासुस्ती हिजो पनि थियो र आज पनि छ । माथिकाहरु सुविधाभोगी हुने र तलकाहरु माथिकाले खाएरको देखेर मुख मिठ्याएर चित्त बुझाउने परिपाटी हिजो पनि थियो र आज पनि छ । मीठा मीठा भाषण गर्ने चलन हिजो पनि थियो र आज पनि छ ।
कहिले हामीले बालबालिकाको स्वास्थ्यमा सुधारका लागि खोप र सरसफाइ अभियान चलाउछौं । कहिले घरघरमा शौचालय अभियानलाई अगाडि बढाउछौं त कहिले छाउगोेठ भत्काउनतिर लाग्छौं । तथापि सोचे जस्तै सफलता हात पर्न सकिरहेको देखिदैन ।

अलि अलि पात हल्लिएको महसुस हुँदा हामी त्यसैलाई सफलता भनेर के के न भएको भन्दै गर्व गर्छौं । परिणाममा शौचालय त बन्छ, तर त्यो शौचालय, दाउरा राख्ने खलियान र बाख्रा अनि सुँगर थुन्ने खोरमा परिणत हुन्छ । देशले खुला दिशामुक्त भनेर आफूलाई घोषणा गरिसके पनि कतिपय तराइका जिल्लाहरुमा एकाविहानै लोटा लिएर खेततिर जाने चलन अझै पनि छुटेको छैन । खोपको अवस्था पनि त्यस्तै छ । यी सवैको चुरो कुरो मानिसको सोच र दृष्टिकोणमा गएर गाँसिएको छ । सोच र दृष्टिकोणमा परिवर्तन गर्ने कुरा चेतनासँग गएर गाँसिएको छ र चेतना देशको शिक्षासँग गएर गाँसिएको छ । अफशोच हाम्रो देशको शिक्षा ओझेलमा परेको छ । पूर्वाधारको पनि पूर्वाधार भनिने शिक्षा क्षेत्र ओझेलमा परेपछि अरु सवै क्षेत्र गतिहिन भइरहेका छन् ।
सोच र दृष्टिकोण माथि हमला गर्ने गरी हामीले आफूलाई परिवर्तन गर्न सकेनौं । परिवर्तन गर्ने प्रतिबद्धता पनि गर्छौं तर काम गर्दैनौं । धेरै टाढा नजाऔं, दुई वर्षमा साक्षर कर्णाली प्रदेश घोषणा गर्ने प्रतिबद्धता त गरियो तर दुइ वर्षको बीचमा प्रदेश त के एउटा पालिका पनि घोषणा हुन सकेको छैन । भाषणमा शिक्षा सधैं प्राथमिकतामा पर्दछ । भेट हुँदा दश ठाउ लागेको प्रेमीले ‘कसम तिमीलाई भन्दा अरु कसैलाई माया गर्दैन’ भने जस्तै ।

काममा भने शिक्षा सधै पछि पर्छ । बाँड्दै जाँदा अरुलाई पुगेपछि शिक्षाको पालो आउछ । अन्यत्र सवैतिर भ्याएर समय पुग्यो भने ‘कसम तिमीलाई भन्दा अरु कसैलाई माया गर्दैन’ भनिएकी प्रेमिकालाई भेट्न आए जस्तै । हाम्रा प्रतिबद्धताहरु प्रतिबद्धतामै तुहिए । प्रयत्नमा समेत फड्को मार्न सकेनन् प्रतिबद्धताहरुले । काम गरेर पनि फल फेला नपर्नु आफ्नो ठाउमा हुन्छ । हामीले त काम पनि गरेनौं । कामको नाममा भाषण भने खुव ग¥यौं ।
भाषण गरे जस्तो परिवर्तन त्यति सजिलो छैन ।

जसले परिवर्तनका कुरा गर्छौ, तिनीहरुले खाइपाइआएको सुविधा समेत कटौति हुने गरी परिवर्तनले नतिजाको अपेक्षा गर्दछ । परिवर्तनले कसैको पद र प्रतिष्ठामा हमला गर्ने मागदावी गर्छ । त्यो गर्न मानिस तयार छैन । कुरा गर्दा यो देश निर्माणको बेला हो भन्छ मानिस तथापि देश निर्माणको चरणमा आफूले कतिपय अवस्थामा भोको पेटका साथ पनि लाग्नु पर्ने अवस्था आउछ भन्दैन । यो कुरा कसैको निम्ति पनि पाच्य हुदैन र प्रतिकारस्वरुप जोगी हुन राजनीति कसैले गर्दैन भन्ने जवाफ आउछ । यस्तो लाग्छ हाम्रो देशमा आफू जोगी होइन कि देशलाई जोगी बनाउन राजनीति गरिन्छ कि जस्तो लाग्दैछ । कहिले त यस्तो लाग्छ आज देश परिवर्तनका कुरा गर्ने तर परिवर्तन हुन नचाहनेहरुबाट शासित भइरहेको छ ।

देशको स्थायी सरकारको कुरा गर्ने हो भने हिजो जुन समूहले राइदाइ गरेको थियो आज त्यही समूह हावी छ । अवल दर्जाका प्राविधिक जनशक्ति अहिले पनि उनिहरुकै आदेशमा चल्नु पर्ने बाध्यता छ । लाग्छ देश अहिले पनि लेम्यानहरुले नै चलाइरहेका छन् । देशमा जति जति बेला सङकट र विपत आइपर्छ त्यतिबेला बस्ती बस्तीमा पुगेर सेवा प्रदान गर्ने जनशक्तिले देशको शासन ब्यवस्थामा निर्णायक सेवा मानिने समूहमा कम्तिमा प्रथम श्रेणीमा पुग्दा मूल प्रवाहीकरण हुन पाउनु पर्छ भन्दा पञ्चायतदेखि हालीमुहाली गर्दै आएको समूहले आफनो शक्ति डगमगाउछ कि भन्ने भयले सिंहदरबारमा आगो बल्छ भनेर धम्की दिने काम गर्छ । राजनीतिक समूह त्यसैको पछि लाग्छ लाचार भएर । उनिहरुलाई यो बोध छैन कि हिजोको सत्तालाई असफल बनाउने काममा समेत धेरथोर जुन समूहको हात थियो, यो सत्तालाई असफलताको नजीक लैजान समेत त्यही समूहले भूमिका निर्वाह गरिरहेको देखिन्छ । बस्, हाम्रो देशको परिवर्तन भनेको यही हो र यस्तै हो । नयाँ वोतलमा पुरानो रक्सी भरेजस्तै । हेनरी डेभिडको शब्दमा जरा होइन कि पातको सफाइ गरेजस्तै ।

स्वरुप फेरेर सार फेरेको हवाला दिए जस्तै ।
कुनै पनि मुलुकलाई अब्बल र समुन्नत बनाउनका लागि निर्विकल्प योगदान गरिरहेको शिक्षा क्षेत्रको अवस्था हाम्रो देशमा झन भयावह छ । अहिले सरकारले भर्खर एउटा निर्णय गरेको छ – ‘देशभरका विद्यालयहरुको समय परिवर्तन गरेर विहान ९ बजेदेखि अपरान्ह ३ बजे बनाउने । थाहा छैन, सरकारले के कति विद्यार्थी र अभिभावकको रायसल्लाह लिएर यो काम ग¥यो ? मलाई त लाग्छ, शिक्षक र शिक्षाका कर्मचारीहरुलाई झै विद्यार्थीहरु प्रति फेरि अन्याय गर्ने काम भइरहेको छ । एउटा बालकलाई विहान ७ बजेसम्म सुत्नुपर्छ । कतिबेला उठ्छ ? कतिबेला नुहाउछ ? कतिबेला खाना खान्छ ? कतिबेला तयारी हुन्छ र कतिबेला स्कूल जान्छ ? बरु यो भन्दा त ट्राफिक जामकै कारणले हो भने स्कूल समयलाई यथावत राखी अफिसको समयलाई ९ देखि ५ गरेर दुइ दिन विदा गर्ने बुद्धिले काम गरेको भए अन्यथा हुदैनथ्यो जस्तो लाग्छ । अरु भन्दा बालबालिकालाई नै पेल्न सजिलो भएकोले यो गरेको होला सायद ।

विद्वानहरुको भनाइ छ, ‘विकास र उन्नति भनेको ठूला घर र चिल्ला सडकमात्र होइनन्, मानिसको सोच, चिन्तन र व्यवहारमा आएको अग्रगामी परिवर्तन नै वास्तविक विकास हो ।’ हामीले भने सार भन्दा पनि स्वरुपलाई विकास भन्यौं । मानिसहरुको मनहरुमा अग्रगामी सोच भर्न सकेनौं । माटो, ढुङ्गाले बनेका छाउगोठहरु त भत्कायौं, उनीहरुका मनमष्तिष्कमा भएका छाउगोठहरु भत्काउने जमर्को सम्म पनि गरेनौं ।

मन र मष्तिष्कका छाउगोठहरु भत्काउने गरी चेतना दिने शिक्षालाई प्राथमिकता दिन सक्ने होइन भने भत्किएका माटो र ढुङगाका छाउगोठहरु पुननिर्माण हुनु अनौठौ होइन । म्याक्सिम गोर्कीले हातलाई शसस्त्र बनाउनु भन्दा पहिले मष्तिष्कलाई शसस्त्र बनाउनु पर्छ भनेको त्यसै होइन । अतः मष्तिष्कलाई शसस्त्र बनाउनका लागि चेतनाको दियो सल्काउने शिक्षालाई प्राथमिकता दिनु जरुरी छ । त्रिचन्द्र कलेजको स्थापना गरेर फर्केपछि ‘आज मैले मेरो खुट्टामा बञ्चरो हानेर आएँ’ भन्ने चन्द्र शमशेरको प्रबृत्ति हावी हुँदासम्म यो देशले अग्रगति समात्ला जस्तो पटक्कै लागेको छैन । सवैलाई चेतना भया ।