२०७७ कार्तिक ९, आईतवार

कर्णालीको व्यथाः क्वारेन्टाईन शहरमा, नागरिक पुगे गाउँमा

सुर्खेत, ११ चैत ।
कर्णाली प्रदेश सरकारले कोरोना कोभिड १९ संक्रमणबाट कर्णाली प्रदेशलाई बचाउन चैत ७ गते दश दिन भित्रै कर्णालीमा भित्रिने नागरिकलाई भित्रिसक्न निर्देशन दियो । उक्त निर्देशन अनुसार कर्णालीमा भेरीगंगा नगरपालिका वडा नं. ५ को बबईबाट दैनिक २५० जना भन्दा बढी नागरिक भारतबाट फर्केर कर्णालीप्रवेश गरे । आजसम्म उनीहरु गाउँ पुगिसकेका छन् । कर्णालीका नागरिकहरु कर्णाली फर्किरहेका बेला संघीय सरकारले चैत १० गते विहान १० बजेदेखि लागु हुने गरि सीमानाका बन्द गर्ने निर्णय ग¥यो । भारतसँग सोझै सिमानाका नजोडिएको प्रदेश भएपनि अधिकांश नागरिक भारतमूखि भएका कारण कर्णालीमा भारतबाट कोरोना संक्रमण बढी हुन सक्ने त्रासका कारण प्रदेश सरकारले ४०० पालसहितको क्वारेन्टाईन खुला मञ्चमा निर्माण गरिरहेको छ ।

यस्तै मध्यपश्चिमाञ्चलविश्वविद्यालयका नवनिर्मित भवनलाई पनि क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार कोरोना भाईरस (कोभिड(१९) रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद व्यवस्थापन परिषद र कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले चैत सात गते नै निर्णय गरेको थियो ।

प्रदेश सरकारले भारत तथा अन्य देशबाट आएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने भन्दै गरेको निर्णय कार्यान्वयनमा समस्या हुने देखिएको छ । भारत देखि आएका नागरिकहरु सबै आफ्नै गाउँमा पुगिसकेको तथा सीमानाका पूर्ण रुपमा बन्द भइसकेका अवस्थामा सरकारले क्वारेन्टाइनमा गरेको लगानी बालुवामा पानी हुनसक्ने सम्भावना देखिएको वीरेन्द्रनगर ७ का कमल कार्की बताउँछन् । ‘सरकारले भारत तथा अन्य देशबाट आएका व्यक्तिहरुकालागि क्वारेन्टाईन बनाउने र उनीहरुलाई अनिवार्य रुपमा राख्ने निर्णय गर्नु राम्रो थियो । अब सबै नाका बन्द भएपछि उक्त क्वारेन्टाईनको प्रयोग गर्न आवश्यक देखिएन बरु हरेक स्थानीय तहमा क्वारेन्टाईनको व्यवस्था गर्नुपर्ने देखियो ।’ उनले भने, ‘लक्षित वर्ग नै गाउँ पुगेपछि राजधानीमा क्वारेन्टाईन निर्माण गरि बजेट खर्च गर्नुको साटो सरकारले स्थानीय तह केन्द्रीत हुन आवश्यक छ । प्रदेश सरकारले कोरोना विरुद्ध लड्नकालागि विनियोजन गरेको बजेट स्थानीय तहमा पठाउन आवश्यक छ । नभए करोडौं लगानी गरेर बजेटलाई बालुवामा पानी हालेको जस्तै बनाउन आवश्यक छैन ।’

यता, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेले बबई नाकाबाट दैनिक रुपमा २५० जना जति नागरिक बबई नाकाबाट कर्णाली भित्रिरहेको बताए । ‘हामीले नाप्ने भनेको ज्वरो नै हो । रुघाखोकी लागेकालाई पनि जाँचिरहेका छौं । यो बाहेक अन्य साधन छैन ।’ उनले भने, ‘ज्वरो आएका हरेक नागरिकलाई मैले पनि फोन गरेर सोधिरहेको छु । ज्वरो आएको खण्डमा हामीले उहाँलाई अस्पताल जान भनिसकेका छौं ।’ उनले हरेक नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताए ।
‘यहाँ हालसम्म कोही पनि व्यक्तिलाई क्वारेन्टाइनमा राखेका छैनौं । पालिका र वडा तहमा पनि हामीले कोरोना सचेतना समिति निर्माण गरिसकेका छौं । बाहिरबाट आएको हरेक व्यक्तिलाई निगरानी गर्न हामीले खबर गरिसकेका छौं ।’ उनले भने, ‘वडाअध्यक्ष, पालिका प्रमुखलगायतका जनप्रतिनिधिलाई त्यहि अनुसारको परिपत्र सरकारले गरिसकेको अवस्था छ । भारतबाट आएका नागरिक गाउँमा जाने र उनीहरुलाई हामीले सम्झाएर पठाएका छौं । त्यसको निगरानी वडा तहमा नै उहाँहरुले गर्नुहुन्छ ।’
पञ्चपुरी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष हरिप्रसाद ढकालले कोरोनाबाट नागरिकलाई बचाउन विभिन्न पहल गरिरहेको बताए । ‘मैले बारम्बार बैठक बोलाइरहेको छु । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रममा पनि भारतबाट आएका शंकास्पद व्यक्तिलाई चौध दिनसम्म सम्पर्क भन्दा टाढा राख्न आग्रह गरेको छु ।’ अध्यक्ष ढकालले भने, ‘यसका अलावा कुइनमो सावुन पानीले हात धुने र स्वास्थ्य जाँच गर्ने व्यवस्था गरेका छौं ।’ उनले रुघाखोकी र ज्वरो आएका व्यक्तिलाई १४ दिनसम्म अलग्गै कोठामा राख्न आग्रह गरिएको बताए । यद्यपी कोरोनाको संक्रमण फैलिनबाट रोक्न गाउँमा समस्या भएको उनको भनाई छ । ‘स्वास्थ्यकर्मीसँग पर्याप्त उपकरण छैनन् । उनीहरुले लगाउने सुरक्षित पोसाक पनि छैन । गाउँमा मास्क पनि पाइदैन । समस्या भने छ । तरपनि हामी कोरोनाबाट बच्न अनुरोध गरिरहेका छौं ।’ उनले भने ।
सरकारका प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले क्वारेन्टाईन बनाउनुको अर्थ व्यापार गर्नु नभएको बताईन । ‘हामीले बनाएका क्वारेन्टाइन खाली नै होउन, कसैले क्वारेन्टाइनमा बस्न नपरोस भन्ने चाहेका छौं । कर्णालीमा कोरोना नै नआओस भन्ने हाम्रो चाहना हो ।’ उनले भनिन, ‘तर आइसकेपछि नागरिकलाई राख्नको लागि यो तयारी गरेका हौं । क्वारेन्टाइन निर्माण गर्दा केहि खर्च लाग्ला तर त्यो खर्च बालुवामा पानी सरह होइन ।’ उनले भारत कोरोनाबाट संक्रमित भइसकेको र कर्णालकिा नागरिक घर फर्कने सिजन भएका कारण पहिलो प्राथमिकतामा उनीहरुलाई क्वारेन्टाइनमा राख्ने निर्णय भएको बताइन । यसका अलावा भारतबाट नागरिक आउन रोकिए पनि यहाँ कसैमाथि शंका भएको खण्डमा उक्त क्वारेन्टाईन प्रयोग हुने उनको भनाई छ ।