२०७७ कार्तिक ७, शुक्रबार

अनेरास्ववियु सुर्खेतले बाँड्यो ‘कर्मी’लाई मास्क

सुर्खेत, १४ चैत ।
अनेरास्ववियू जिल्ला कमिटि सुर्खेतले दुइ हजार हजार प्रति मास्क सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई शुक्रबार वितरण गरेको छ । देश नै कोरोना त्रासबाट ग्रस्त भएको र बजारमा निरन्तर खट्ने तीनै संरचनामा काम गर्नेहरुलाई आवश्यक पर्ने मास्क सहजै उपलब्ध नभएको बताउँदै उक्त अभाव टार्नका लागि यी मास्क वितरण गरिएको अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्रबहादुर शाहीले जानकारी दिए । ‘हामीले कोरोनाबाट आम नागरिकलाई जोगाउन निरन्तर स्वास्थ्य जाँच गर्ने, उपचारमा खटिने, सूचना सम्प्रेषित गरेर नागरिकलाई सचेत बनाउन अहम भूमिका खेलिरहेको मैले देखेको छु ।’ उनले भने, ‘यसका अलावा नागरिकलाई कोरोनाबाट बचाउन अहोरात्र खट्ने सुरक्षाकर्मीलाई हामीले मास्क वितरण गरेका हौं । पहिलो चरणमा दुइ हजार मास्क बाँडेका हौं भने दोश्रो चरणमा थप तीन हजार मास्क बाँडने गरी अघि बढेका छौं ।’
चोकमा खटिएका सुरक्षाकर्मीले नै मास्क नपाएको देख्दा आफुहरुले खोजेर भएपनि मास्क वितरण गर्न थालेको उनको भनाई छ ।
मास्क ग्रहण गर्दै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले मिडियाकर्मी पनि कोरोना विरुद्ध लडिरहेको हुँदा मास्क दिइ सहयोग गरेको धन्यवाद दिए । ‘यहाँहरुको यो सहयोगले मिडियाकर्मीमा कोरोना विरुद्ध लेखनमा थप हौसला बढने छ ।’ उनले भने, ‘आफ्नो ज्यानको परवाह नगरी काम गरिरहेका सञ्चारकर्मीलाई सम्झेर अनेरास्वविययू सुर्खेतले गरेको यो सहयोग अत्यन्तै महत्वपूर्ण छ ।’ अध्यक्ष भारतीले संकटको यो घडिमा सहयोग गर्ने अनेरास्ववियुलाई धन्यवाद दिए ।