२०७७ कार्तिक ११, मंगलवार

सबै वडामा पाँच लाखको खाद्यान्न उपलब्ध गराउँदै वीरेन्द्रनगर

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रका विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराउने भएको छ।

वीरेन्द्रनगर नगरकार्यपालिकाको शुक्रबार बसेको आकस्मिक बैठकले लकडाउनको अवधि १८ गतेपछि लम्बिएमा दिनभरि मजदुर गरेर दुई छाक जोहो गर्ने परिवारको पहिचान गरी राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले राहत वितरणका लागि प्रति वडा रु पाँच लाखको खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण भएको बन्दाबन्दी (लकडाउन) को प्रभावलाई मध्यनजर गरी नगरपालिकाले विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको हो ।

दिनभरि काम गरेर दुई छाक जोहो गर्ने विपन्न परिवारको समस्यालाई मध्यनजर गरी बन्द नखुलेसम्मका लागि राहत उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

“लकडाउनको अवधि चैत १८ गते पश्चात पनि थप भएको अवस्थामा बन्दको कारणले साँझ विहान खान नपाउने किसिमका परिवारको पहिचान गरी राहत उपलब्ध गराउने निर्णय गरेका छौ”, उपप्रमुख ढकालले भनिन्, “त्यस्ता परिवारलाई बन्द नखुल्दासम्मका लागि राहत उपलब्ध गराइनेछ ।”

त्यसैगरी बन्दको कारणले साँझ विहानको न्यूनतम खाद्य सामग्री खरीद गर्न घर बाहिर जान नसक्ने अवस्था भएमा वडावासीलाई घरबाटै खाद्य सामग्री खरीद गर्न सक्ने गरी आवश्यक व्यवस्था मिलाउने तयारीमा रहेको ढकालले बताइन् ।

गर्मीयाम बढ्दै गरेको र संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरी नगरपालिका अन्तर्गतका जनसम्पर्क बढी हुने टोलहरु, कार्यालयहरु, स्वास्थ्य संस्था, अस्पताल, क्लिनिकहरूमा र मुख्य बजार चोकहरूमा नगरपालिकाको दमकल मार्फत क्लोरिन छर्कने निर्णय भएको ढकालले बताए ।

बैठकले नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूका लागि नगरपालिकाले अन्य निकायसँग समन्वय गरी तथा विपद् व्यवस्थापन कोषबाट खर्च हुने गरी व्यक्तिगत सुरक्षा सामग्रीका साथै न्यूनतम् औषधिहरु खरीद गरी उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका सूचना अधिकारी दिपेन सुवेदीले बताए ।

“हालसम्म जिल्ला बाहिरबाट आएर घरपरिवार तथा होटेलहरुमा बसिरहेका व्यक्तिहरुलाई सोही स्थानमा निगरानीका साथ बस्ने गरी व्यवस्था मिलाइनेछ”, सुवेदीले भने, “त्यसैगरी सरकारी विद्यालय, सामुदायिक भवन तथा विभिन्न संघसंस्थासँग समन्वय गरी प्रत्यक्ष निगरानी (क्वारेन्टिन) मा बस्ने व्यवस्था मिलाउने र यसो गर्दा करीब एक सय शैय्याका लागि आवश्यक पर्ने न्यूनतम् सामग्रीहरु नगरकार्यपालिकाको कार्यालयले विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी व्यवस्था मिलाउने निर्णय भएको छ ।”

नगरक्षेत्रका सम्पूर्ण जनप्रतिनिधि, कोरोना संक्रमण विरुद्धको समन्वय समितिका पदाधिकारीहरू र विपद् व्यवस्थापनमा संलग्न हुने पदाधिकारीहरूलाई चौबीसै घण्टा सम्पर्क समन्वयमा रही सम्भावित जोखिम न्यूनीकरणमा सहभागी हुने निर्णय गरिएको सूचना अधिकारी सुवेदीले बताए ।

यस्तै नगरका हरेक टोलटोलमा सुरक्षा निकायसँगको समन्वयमा कोरोना भाइरसको संक्रमण विरुद्ध प्रतिरक्षा गर्ने उद्देश्यले सम्पूर्ण व्यक्तिलाई घरमै बसी उक्त संक्रमण विरुद्ध सजग हुने सार्वजनिक सूचना जारी गरिने भएको छ ।