२०७७ कार्तिक १४, शुक्रबार

कोरोनाको प्रभाव, चुनौती र सम्भावना

                                                                                                              झकबहादुर मल्ल
     आज सारा विश्व कोरोनाको महामारीबाट आक्रान्त छ । Covid-19 अर्थात coronavirus का कारण सिंगो मानव जाति आफ्नो अस्तित्वको लडाइँमा छ । देखापरेको झण्डै चार महिनाको अवधिमा यसले विश्वका झण्डै पैंतीस हजार मान्छेको ज्यान लिइसकेको छ । 5 लाख भन्दा बढी मान्छेमा यो रोग संक्रमण भैसकेको छ । विश्वका झण्डै 180 राष्ट्रमा यो रोग फैलिएको छ । आज संसारको शक्तिशाली राष्ट्र देखि गरिब राष्ट्र सम्म यो रोगले तबाह पैदा गरेको छ । संसारभरिका वैज्ञानिकहरु, चिकित्सकहरु तथा चिन्तकहरु समेत यो रोगको आयाम पत्ता लगाउन सकिरहेका छैनन् ।
      सुरुमा यो रोग चीनको उहानबाट देखा पर्यो । चीनले यसलाई गम्भीरतापूर्वक लियो र यो रोगको उपचारमा कुनै कसर बाँकी नराखी सिंगो देश युद्धस्तरमा लागि पर्यो । तत्काल उहान शहरलाई लकडाउन गर्यो, रातारात उपचारको निम्ति विशेष अस्पताल तयार गर्यो र देशभरका विशेषज्ञ डाक्टरहरु, स्वयंसेवकहरु उहानमा तैनाथ गर्यो । प्रत्येक नागरिकलाई आवश्यक सम्पूर्ण समग्री घरमै पुर्याउने व्यवस्था मिलायो । झण्डै दुई महिनाको अथक प्रयत्नबाट चीनले उक्त भाइरसलाई नियन्त्रण गर्यो ।
     उक्त भाइरसले चीनमा अस्तव्यस्त पारेको बेला विश्व स्वास्थ्य संगठनले दिएको सचेतना लाई समेत बेवास्ता गरी बाँकी विश्व रमितेको रुपमा मस्त रह्यो । जब उक्त भाइरस बिस्तारै कोरिया जापान स्पेन इटाली लगायतका देशमा प्रवेश गर्यो तबसम्म यसले विकराल परिस्थितिको श्रृजना गरिसकेको थियो । एकैदिन हजारौंको संख्यामा संक्रमण फैलिने र व्यापक मात्रामा यसको असर तत्काल देखिने हुनाले पनि यो विकराल स्थिति सिर्जना भएको हो । यो एस्तो तीब्रगतिमा फैलियो कि संसारका झण्डै १८० राष्ट्रमा छोटो अवधिमै फैलिन पुग्यो ।
       आजसम्म देखापरेका रोगहरूको पहिचान र उपचार सम्भव छ । यो रोगको पहिचान भयो तर हालसम्म यसको औषधि र स्पष्ट उपचार विधि पत्ता लगाउन सकिएको छैन । यसको संक्रमण यति तिब्र गतिमा छ कि हेर्दा हेर्दै सारा विश्वलाई नैं संकटको भुमरीमा लपेट्दियो । दशौं हजार सर्वसाधारणदेखि सयौंको संख्यामा डाक्टर र स्वास्थ्यकर्मीको ज्यान यो भाइरस संक्रमणका कारण गयो । हजारौंको हताहती लाखौंमा संक्रमण आदि कारणले पनि यसले महामारीको रुप लिएको हो ।
     विश्व संकटग्रस्त स्थितिमा रहेको यस घडीमा मानवजीवनका तमाम समस्या,चुनौती र सम्भावना एकैसाथ देखा परिरहेका छन् । हामी आफैले तय गरेका विकाशका मापदण्डहरू तोड्दै अभूतपूर्व कृतिमान खडा गर्यौं । गगनचुम्बी महलहरू बनायौं, भोग र विलाशका तमाम वस्तुहरु निर्माण गर्यौं,अन्तरिक्ष यान बनायौं । मंगलग्रहमा बस्ती बसाउने योजना बनायौं । आफुलाई शक्तिशाली देखाउन जल,स्थल र हवाई सेना बनायौं, आणविक भट्टीहरु बनायौं, मिसाइल र क्षेप्यास्त्र बनायौं । तर एउटा सानो भाइरसविरुद्ध लड्ने सामर्थ्य विकास गर्न सकेनौं । बिरामी पर्दा उपचार गर्ने व्यवस्थित ल्याव र  हस्पिटलहरु बनाउन सकेनौं ।
       जब संकट चीनमा देखा पर्यो,हामीले सहानुभूति व्यक्त गर्न सकेनौं । जब संकट हाम्रै छिमेकमा आयो, हामी सतर्क भएनौं । जब संकट हाम्रै घर भित्र देखा पर्यो त्यसपछि मात्रै हाम्रो चेत खुल्यो । त्यतिञ्जेल समयले नेटो काटिसकेको थियो , रोगले महामारीको रुप लिइसकेको थियो । हामी आफ्नै दम्भ,घमण्ड र अहंकारमा थियौं । हामी आफैले विकास गरेको जातीय,धार्मिक र भौगोलिक घेराबन्दीमा बाँधिएका थियौं । जबकि उक्त भाइरसले हाम्रा ती सबै घेरा तोडेर सिंगो मानव जातिलाई सखाप पार्ने विनाशकारी अभियानमा छ र हुन्छ ।
    हामीले यो संसारमा मान्छेका लागि भनेर शासन व्यवस्थाहरूको विकास गर्यौं । प्रकृतिका लागि भनेर पर्यावरणीय सन्तुलनका कुराहरु गर्यौं । पृथ्वीमा रहेका सबै जीवजन्तुहरुको बारेमा कुरा गर्यौं । तर आज यो महाविपत्तिले स्पष्टरुपमा के देखायो भने हामीले विकास गरेका यी सबै संरचनाहरू बिपत्तीको सामना गर्न सक्षम छैनन् । मानवीय सद्भाव व्यक्त गर्ने, सहकार्य गर्ने साझा विषय बनाउने र मानवजातिको शत्रुसँग एक भएर लड्ने कुरामा हाम्रा संरचनाहरु कतिपय सन्दर्भमा असफल समेत सिद्ध भए ।
      यी तमाम समस्याका बाबजुद यो संकटले मानवजातिको विकासका निम्ति नयाँ सम्भावनाका ढोकाहरू खोलेको छ । भौतिक विज्ञान, रसायन विज्ञान र  खगोल विज्ञानमा केही नयाँ विकास त अवश्य होलान् तर हामीले मुलत: समाज विज्ञानमा विकास गर्ने पर्दछ । आज त्यसका निम्ति नयाँ बहसको थालनी भएको छ । पूर्वीय दर्शन वेद र उपनिषद हुँदै प्लेटो र अरस्तु का समाज विकासका अवधारणाहरू पुनः एकपटक हेर्नुपर्ने भएको छ । रबर्ट ओवेन , चार्ल्स फुरिय , हेगेल र फायरबाख हुँदै मार्क्स, लेलिन र माओसम्मका समाज विज्ञान सम्बन्धी दृष्टिकोणमा हामीले स्पष्ट बहश चलाउन जरुरी छ । जुन शुरु भैसकेको छ ।