२०७७ कार्तिक ६, बिहीबार

कोरोना त्रासमा रहेको बेला नौमुलेमा कार्यरत स्वास्थ्यकर्मीलाई धम्की, गाउँपालिका छोड्न चेतावनी

सुर्खेत, २१ चैत ।
दैलेखको नौमुले गाउँपालिकाको नौमुलेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डा. विप्लव सुवेदीलगायतका स्वास्थ्यकर्मीमाथि शुक्रबार अभद्र व्यवहार भएको स्वास्थ्यकर्मीले आरोप लगाएका छन् । १५ शैयाको अस्पतालको रुपमा स्तरोन्नती भइरहेको उक्त स्वास्थ्य केन्द्रमा गाउँपालिकाका सवारी चालक कुलविर खत्रीसहित गणेश थापा तारामी र दिनेश चन्दले मदिरा सेवन गरेर शुक्रबार विहान साढे एघार बजे विरामीको हातै समातेर उपचार गर्नुपर्ने त्यस्तो नगरेको खण्डमा गाउँपालिका नै छोडनुपर्ने धम्कीसहित अभद्र व्यवहार गरेको स्वास्थ्यकर्मीहरुले बताए ।
‘कोरोना त्रासका कारण अत्यावश्यक बाहेकका ओपिडि सेवा बन्द गर्न गाउँपालिकाले नै हामीलाई निर्देशन दिइसकेको छ । गाउँमा भारतबाट आएका नागरिकहरुको संख्या पनि उल्लेख्य रहेको हुादा हामीले दुरी कायम गरेर टाढैबाट औषधी दिने गरेका थियौं ।’ डा. सुवेदीले भने, ‘सकेसम्म फोन गरेर मात्रै आउनुस भनेर हामीले नम्बर पनि दिएका छौं । कोरोनाका कारण हामी अहिले कसैलाई छोएर उपचार गर्न सक्ने अवस्थामा छैनौं भनेर भन्दा तीन जनाले हामीमाथि हातपातको् प्रयास गर्नुको साथै अभद्र व्यवहार दिए । गाउँपालिका छोडन धम्की दिए । नछोडेको खण्डमा जे पनि गर्न सकिने धम्की हामीले पायौं ।’
धनगढीमा कोरोना देखिएका युवा नेपालगञ्ज भएर आएका र आफू पनि त्यहि बाटो भएर यहाँ आएका कारण कोरोना भएपनि अरुलाई नसरोस र अरुबाट आफूलाई नसरोस भनेर दुरी मेन्टेन गरेको डा. सुवेदीको भनाई छ । ‘हामीले जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत प्रहरी प्रशासनसँग कुराकानी गरेका थियौं । कुरा बुझ्न एकचोटी सहायक इन्सपेक्टर आएका थिए । अहिले गए । हाम्रो बारेमा केहि पनि छलफल नै भएन ।’ उनले भने, ‘यस्तो त्रासको अवस्थामा गाउँपालिकामा कसरी बस्ने चिन्ता लागेको छ ।’ उनका अनुसार गाउँपालिकाका अध्यक्षको रोहवरमा मिलाउन खोजेपनि कतैबाट प्रयास नभएका कारण लिखित निवेदन इलाका प्रहरी कार्यालय नौमुलेमा दर्ता गर्न पठाइएको छ । प्रहरी कार्यालयमा यो समाचार तयार पार्ने बेलामा सहायक निरिक्षक अनुपस्थित भएका कारण उजुरी दर्ता नभएको तर सई आउने वित्तिकै दर्ता हुने उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय दैलखका प्रहरी नायव उपरिक्षक हरिबहादुर वलीले हालसम्म लिखित उजुरी नपरेका कारण केहि गर्न नसकिएको बताए । यद्यपी प्रहरी केन्द्रमा पुगिसकेको उनको भनाई छ । उजुरी परेको खण्डमा कानून अनुसार कारवाही अघि बढाउने उनको भनाई थियो ।
यता, गाउँपालिका अध्यक्ष भदे बुढा मगरको मोबाईल अफ थियो । उपाध्यक्ष अमृता सिंह उपचारकालागि काठमाडौंमा भएको र आफूलाई यसबारेमा कसैले जानकारी नदिएको बताईन् । ‘म केहि समय पहिले नै उपचारको लागि काठमाडौं आएकी थिएँ । उपचार पश्चात गाउा फर्कने खोजेपनि लकडाउनका कारण म जान सकिन ।’ उनले भनिन्, ‘तपाईले खबर गर्नु भएका कारण मैले थाहा पाएँ । के भएको रहेछ म बुझ्छु ।’