२०७७ कार्तिक ७, शुक्रबार

कर्णालीमा कोरोनाविरुद्ध सावधानीको अभाव : न सरकार संवेदनशील, न त भारतबाट आउनेहरू !

सुर्खेत ।

दैलेखको आठबीस नगरपालिका वडा नं. २ मा केही दिन पहिले मात्रै भारतको गड्डाचौकी नाका हुँदै ३९ जना भित्रिए । उनीहरू भारतको उत्तराञ्चलमा काम गरेर फर्किएका थिए । प्रदेश सरकारले उद्दार गरेर उनीहरूलाई सिंगौडी पठायो । सिंगौडीमा आठबीस नगरपालिकाले त्यहीँको माध्यमिक विद्यालयमा क्वारेनटाइन बनायो । गाउँमै आइपुगेका नागरिकहरू दिनभर क्वारेन्टाइनमा बस्ने, साँझ पसलमा जाने मदिरा सेवन गर्ने, होहल्ला गर्ने अनि राति क्वारेन्टाइनबाट भागेर आफ्नो घर जाने काम गर्न थाले ।

‘उनीहरू बिहान मात्रै क्वारेन्टाइनमा बस्थे । राम्रोसँग बस भनेर हामीले भनेका थियौं तर उनीहरू मान्दै मान्दैनन्,’ नेकपाका वडा कमिटी संयोजक मोतिराम खनालले लोकान्तरसँग भने, ‘प्रहरी पनि बोलायौं, केही सीप लागेन । उनीहरू ताससमेत खेल्न थाले । हामीले सम्झाउँदा पनि उनीहरूले अर्कै व्यवहार गर्न छोडेनन् ।


यो कर्णाली प्रदेशको एक वडाको दृष्टान्त मात्रै हो । अधिकांश नेपालीहरू भारतका विभिन्न स्थानमा रोजगारीका लागि गए । भारतमा कोरोना संक्रमण महामारीका रूपमा फैलिएसँगै भारत सरकारले लकडाउन घोषणा गरेको थियो । उक्त घोषणासँगै ज्याला मजदुरी गर्ने हजारौं कर्णाली र सुदूरपश्चिमबासी नागरिक नेपाल फर्किन थाले । नेपालले भारत र चीनसँगका सबै नाका बन्द गरेतापनि उद्दारका नाउँमा नेपाल सरकारले धमाधम अनुमति दियो । उनीहरूलाई सकेसम्म नाकामै क्वारेन्टाइनमा राख्नुको साटो सोझै गाउँ प्रवेश गराइयो ।

दैलेखको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले भावुक हुँदै भनेका थिए , ‘हामीले भन्दा कसैले पनि नमान्ने भए । कसरी उनीहरूलाई क्वारेन्टाइनमा बसाल्ने ? सयौंको संख्यामा गाउँमा आएपछि न र स्थानीय सरकारसँग पर्याप्त सुरक्षा निकाय छ, न त उनीहरूलाई व्यवस्थापन गर्न सक्ने जनशक्ति नै छ । जनप्रतिनिधि आफ्नै दाइ-भाइ, काका-भतिज, दिदी-बहिनी पर्ने भएका कारण भावनात्मक कुराले पनि उनीहरूलाई कडाइ गर्न सकिँदो रहेनछ् ।


गड्डाचौकी नाकाबाट भित्रिएका कैलालीका युवाहरूमा कोराना संक्रमण भएको पुष्टि भएपछि बल्ल प्रदेश सरकारको ध्यान भंग भएको छ । कर्णाली प्रदेश सरकारले गाडीहरू रिर्जभ गराएर स्थानीय जनप्रतिनिधिको रोहवरमा क्वारेन्टाइनमा राख्ने भनेर उद्दार गरेपनि स्थानीय सरकारले क्वारेन्टाइनमा राख्न नसक्दा र प्रदेश सरकारको सबै वडामा सहज पहुँच नहुँदा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेको आठबीस नगरपालिका ४ का ललित माझी बताउँछन् ।

‘सकेसम्म प्रदेश सरकारले भारतबाट आएका नागरिकलाई बाँके बर्दिया, कैलाली र कञ्चनपुरमै १४ दिन क्वारेन्टाइनमा राखेको भए कर्णालीमा त्यति धेरै त्रास हुन्थेन,’ माझीले भने, ‘तर सरकारले नै आफैंले जारी गरेको निर्देशन मिच्दै हजारौंलाई गाउँ पठाएपछि कसको के लाग्छ र ?’

कर्णाली प्रवेश गर्न मुख्यतया दुई नाका छन् । कोहलपुर भएर सुर्खेत आउँदा बबई नाका, कैलाली भएर सुर्खेत आउँदा पञ्चपुरी नगरपालिकाको कुइने नाका । यी दुई नाका नै सील गरेको भए अहिले कर्णालीमा कोरोना संक्रमणको भय कम हुने चौकुने गाउँपालिकाका भरत शाही बताउँछन् ।

‘नाकामा भरपर्दो स्वास्थ्य जाँच नगरिकनै धमाधम नागरिकलाई गाउँ पठाउनु गलत थियो,’ अनेरास्ववियू सुर्खेतका संयोजक धुपेन्द्र शाहीले भने, ‘अब भारतबाट आएका नागरिकको घरमै पुगेर भएपनि उनीहरूको स्वास्थ्य जाँच गर्न आवश्यक छ । कोरोनाका शंका लागेको खण्डमा उनीहरूलाई सरकारकै निगरानीमा क्वारेन्टाइनमा राख्नुको विकल्प छैन ।’

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले गाउँपालिकामा तीस जना क्वारेन्टाइनमा राखिएको बताए । ‘उनीहरूलाई हामीले क्वारेन्टाइनमा राखेका छौं । हामीलाई केही भएको छैन भनिरहेका छन्,’ उनले भने, ‘अप्ठ्यारो मानिरहेको महसुस भएको छ, अपराधी जस्तै थुनेको उनीहरूले मानेका छन् । असन्तुष्टि पनि राखिरहेका छन् । घर नजिकै आइपुगेको व्यक्तिलाई न फर्काउन सकिँदो रहेछ न त क्वारेन्टाइनमा अनुशासनपूर्वक बस्न दबाब दिन सकिने रहेछ ।’

कैलालीमा कोरोना संक्रमण भएको सुनेपछि पैदल हिंडेर जंगलाघाट हुँदै आउनेहरूको संख्या बढिरहेको  बताउँदै त्यसले कर्णालीमा थप जोखिम बढाउने बताए । ‘यहाँ गाई भैंसी पालिरहेका छन्, घरमा धारा छैन । खेतिपाती गर्नुपर्ने अवस्था छ । बाक्लो बस्ती छ । एक जनामा कोरोना देखिएको खण्डमा हामीले थेग्न सक्ने अवस्था छैन,’ उनले भने, ‘गाउँमा धेरै नागरिक पठाइयो । भारतबाट आएका, काठमाडौं, सुर्खेत, कैलाली, बाँकेबाट पनि सयौं नागरिक कर्णालीमा आएका छन् । अझ आइरहेको मैले सुनेको छु । यसले धेरै जोखिम निम्त्याएको मैले महसुस गरेको छु । हामीले हाम्रो तर्फबाट सक्दो प्रयास गरेपनि त्यो कोरोनाविरुद्ध कमै हुने मैले देखेको छु ।’

पर्याप्त स्वास्थ्यकर्मी नभएको, उनीहरूलाई सामाग्री अभाव भएकोले पनि यहाँ जोखिम बढेको उनले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सूचना अधिकारी केशव उपाध्यायले भारतबाट आएका सबै नागरिकको स्वास्थ्य जाँच गर्ने गरी एक्सन लिनुपर्ने अवस्था आइसकेको बताए । सरकारले गाडी रिर्जभ गर्दै भारतबाट आएकाहरूलाई पहाडी जिल्लामा पठाएको आरोप पनि यतिबेला लागिरहेको छ ।

‘अब दोष दिएर हुँदैन, कसरी हुन्छ स्थानीय तह वडा लेवल सक्रिय भएर नागरिकले पनि साथ दिएर उनीहरू जहाँ छन् फोन गर्दै पत्ता लगाउनु पर्छ । कैलाली कन्चनपुर र बाग्लुङ्गमा लागु भएको र्‍यापिड टेष्टिङ्ग यता फर्केर आएकाहरूमा पनि गर्नु पर्छ । त्यति आत्तिइहाल्नु पर्दैन । सबैमा वा कसैमा पनि भाइरस सरेको नहुन पनि सक्छ । संयमित भएर नियन्त्रण गर्न सकिन्छ । महामारी फैलन रोक्न त रकम खर्च गौण हुने नै भयो,’ उनले भने ।

कर्णाली प्रदेशभर हालसम्म कति जना भारतबाट फर्किए भन्ने कुराको यकिन तथ्यांक आइ नसकेको सामाजिक विकास मन्त्री दल रावल बताउँछन् । ‘केही स्थानीय तहले हामीलाई पुरै तथ्यांक दिइसकेका छैनन्, ९ हजार भन्दा बढी आएको हाम्रो अनुमान छ,’ मन्त्री रावलले भने, ‘सकेसम्म कोरोना विरुद्ध लड्ने हामीले योजना बनाएका छौं । यही आधारमा अहिले अनुगमन, क्वारेन्टाइन र अस्पतालको निरीक्षण गरिरहेका छौं ।’

सरकारले अहिले दैनिक १५ जनाको ‘स्वाब टेष्ट’ गरिरहेको बताउँदै केही दिनमा थप तीस जनाको टेष्ट गर्न सक्ने पीसीआर मेसिन ल्याउनेबारे कुराकानी भइरहेको  बताए ।