२०७७ कार्तिक १५, शनिबार

स्वास्थ्यकर्मीको मनोबल बढाउन सल्यानका स्थानीय तहलाई पिपिई सेट वितरण

सुर्खेत, २४ चैत ।
विश्व नै कोरोनाको त्रासमा रहेका बेला कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका राजनीतिक सल्लाहकार भीम प्रकाश शर्माले सल्यानका स्थानीय तहमा स्वास्थ्यकर्मीहरुका लागि पिपिई वितरण गरेका छन् । व्यक्तिगत सुरक्षा उपकरण पिपिई व्यक्तिगत लगानीमा वितरण गरिएको मन्त्री ज्वालाले जानकारी दिए । उनका अनुसार सल्यान जिल्लाका थप चार स्थानीय तहहरू शारदा नगरपालिका, कलिमाटी गाउपालिका, छत्रेश्वरी गाउपालिका र त्रिवेणी गाउपालिकामा अत्यावश्यक स्वास्थ्य सामाग्री दश दश थान पिपिई सेट उपलब्ध गराइएको हो ।
यसअघि दुवै जनाले बन्गाड कुभिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा स्वास्थ्य सामाग्री वितरण गरिसकेका छन् । पिपिई सेटका साथै प्रदेश सरकारद्वारा उपलब्ध औषधि र सर्जिकल मास्क सम्बन्धित पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूलाई आज हस्तान्तरण गरिएको मन्त्री ज्वालाको भनाई थियो । उनले जिल्लाका बाँकी अन्य स्थानीय तहका लागि पिपिई सेट चाँडै उपलब्ध गराउने जानकारी मन्त्री ज्वालाले इनयाँ नेपाललाई बताए ।
‘हामीले सल्यान जिल्लामा कार्यरत सबै स्थानीय तहका स्वास्थ्य संस्थालाई पिपिई सेट उपलब्ध गराइरहेका छौं ।’ मन्त्री ज्वालाले भने, ‘यसले थोरै भएपनि स्वास्थ्यकर्मीमा उत्साह बढने र कोरोना विरुद्ध लड्न साहस प्राप्त हुने अपेक्षा राखेका छौं ।’