२०७७ कार्तिक ११, मंगलवार

देउती नागरिकद्वारा डेढलाख बराबरको राहत वितरण

सुर्खेत, २७ चैत ।
देउती नागरिक यातायात प्रा.लि.ले आफ्ना कर्मचारी र नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र स्थानीयलाई राहत वितरण गरेको छ । विहीबार कार्यालयमा आफ्ना २० जना कर्मचारीलाई प्रति व्यक्ति १५ सय नगद, पचास किलो चामलसहित राहत वितरण गरेको छ भने नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई २५ केजी तौल भएका ३० बोरा चामल, डेढ क्वीन्टल दाल, ६० प्याकेट तेल र ३० किलो नून प्रदान गरेको हो । स्थानीय गोरे थारु, सिता थारु, रामबहादुर थारु, प्रदिप वादी, मुस्तकिम अन्सारी, अपांगता भएका अर्का एक अशक्त व्यक्तिलाई सोही बराबरको राहत सामाग्री वितरण गरेको छ ।


‘लकडाउनका समयमा कर्मचारीलाई कुनै समस्या नहोस, आर्थिक रुपमा समस्या भएका कारण भोकै बस्न नपरोस भनेर हामीले यो राहत वितरण गरेका हौं ।’ अध्यक्ष कमल खड्का जुनीले भने, ‘यसबाट हाम्रा कर्मचारीको मनोबल उच्च रहने र समस्या परेको बेलामा कम्पनी सधैं कर्मचारीको साथमा रहेको सन्देश दिनका लागि नगदसहित राहत सामाग्री वितरण गरेका हौं ।’ उनले देउती नागरिक यातायातले महासंघलाई पनि राहत दिएको बताए । ‘महासंघसँग हाम्रो विगत देखिको सहयात्रालाई थप योगदान दिनका लागि हामीले यो थोरै राहत दिएका हौं ।’ अध्यक्ष खड्काले भने, ‘यसबाट महासंघका सदस्यहरुको केहि समस्या समाधान अपेक्षा कम्पनीले गरेको छ ।’
यता, पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेश कञ्चन भारतीले यातायात प्रालिले महासंघलाई गरेको सहयोग प्रति कृतज्ञता ज्ञापन गरे । ‘कोरोनाको यो भयावह अवस्थामा राज्यले गर्नुपर्ने काम तपाईहरुले गर्नु भएको छ । यो अत्यन्तै प्रशंसनीय काम हो ।’ उनले भने, ‘यो राहत हामी श्रमजीवि पत्रकार जसलाई अति आवश्यक परेको छ उसलाई वितरण गर्नेछौं । यसकालागि महासंघको तर्फबाट प्रालिलाई धन्यवाद दिन चाहन्छु ।’