२०७७ कार्तिक ५, बुधबार

भारतबाट फर्किएका नेपाली गाउँगाउँमा स्वतन्त्र !

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ जना पुगेको छ । ८ जना विदेशबाट आएकालाई देखिएको संक्रमण १ जनामा भने स्थानीयरुपमा सरेको देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपाल कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको जनाएको छ, जुन स्थानीय संक्रमणको चरण हो । भारतबाट आएका व्यक्तिमा समेत संक्रमण देखिन थालेपछि भारतबाट नेपाल आएका व्यक्तिका कारण संक्रमण फैलिने डर बढेको छ ।


छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७८ पुगेको छ भने झण्डै ६ हजार संक्रमित भेटिएका छन् । रोजगारीका लागि भारत गएका नेपाली कोरोना त्रासका कारण स्वदेश फिर्ता भएका छन् तर स्वदेश फिर्ता भएका सबै जनाले न स्वास्थ्य जाँच गराएका छन्, न त क्वारेन्टाइनमा नै बसेका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि १ हप्ताका लागि लकडाउन गर्ने निर्णय गर्‍यो । लकडाउनको निर्णय वैशाख ३ गतेसम्म लम्बिएको छ ।


सरकारले चैत १० गते साँझ लकडाउन घोषणा गर्दा हामी जुम्लाको सिंजामा थियौं । भोेलिपल्ट नै देश लकडाउन हुने, यातायात सबै ठप्प हुने भनेपछि हामीले पनि रातारात यात्रा शुरू गर्‍यौं – सिंजादेखि सुर्खेतसम्म ।

सिंजादेखि कालिकोटको सिमाना नाग्म बजारसम्म त्यो रात सडकमा गाडीहरूको लाइन थियो । बीच बाटोमा बसहरू हिलोमा फसेर हैरान । सिंजादेखि नाग्मसम्म करीब २ घण्टाको समयमा करीब १५  वटाभन्दा बढी बस भेटिए । जीप र अन्य साना गाडीको त गणना नै थिएन । ती बसमा कति यात्रु थिए भन्ने कुरा सायद गनेर साध्य नै थिएन । बस हिलोमा फसेर कतिपय स्थानमा यात्रुले धकेलिरहेका थिए ।

नाग्म बजार पुग्दा हल्लाकल्ला धेरै नै थियो ।  सयौं यात्रु नाग्म बजारमा खाना खान होटलमा थिए । होटलवालाले भन्थे, ‘यति धेरै मान्छे त चाडपर्वको सिजनमा पनि हुँदैन्थे ।’ कति गाडी त यात्रुलाई त्यहीँ झारेर सुर्खेततर्फ फर्किरहेका थिए । नाग्म बजारमा यस्तो भीड थियो कि त्यहाँ १ जनालाई मात्र कोरोना लागेको भए हजारौंलाई सर्थ्यो । सरकारले त्यसअघि नै धेरै मान्छे एकैठाउँमा भेला नहुन निर्देशन दिइसकेको थियो तर त्यहाँ भीड थियो ।

त्यहाँदेखि जुम्ला सदरमुकाम खलंगातिर जाने सवारीसाधन पनि लाइन लागेरै गइरहेका थिए । सयौं यात्रुमध्ये कोही न कोही त पक्कै पनि भारतबाट आएका हुन सक्छन् । कसैमा कोरोना संक्रमण नभएको भए त असाध्यै राम्रो भयो । यदि कसैमा कोरोना संक्रमण रहेछ भने त्यसरी गाडीमा कोचाकोच भएका सबैलाई कोरोना सर्न के बेर ?

रातिको करीब ११ बजे हामी नाग्मदेखि कालिकोटको सदरमुकाम मान्मतर्फ लाग्यौं । मान्मसम्म जुम्लादेखि सुर्खेततर्फ जाने सवारीसाधन मात्रै भेटिए तर जब हामी रातिको करीब १ बजेतिर मान्मदेखि ओरालो लाग्यौं, तब भेटिन थाले सुर्खेतबाट अघिल्लो दिनको साँझ छुटेका गाडीहरू । मान्मदेखि तल कर्णालीको तीरमा आइपुगेपछि गाडीको इन्ट्री गर्ने प्रहरी पोस्ट छ । पोस्टको तथ्यांकअनुसार नै प्रहरीले जिल्लामा कति जना भित्रिए भन्ने तथ्यांक निकाल्ने हो तर त्यहाँ कोही थिएनन् गाडी र यात्रु दर्ता गर्ने । त्यहाँ मात्र होइन, हामी सिंजादेखि सुर्खेत पुगुञ्जेल कतै पनि दर्ता गर्नु परेन । गणना नभएपनि यात्रु र सवारीसाधनको चाप धेरै थियो ।

त्यो रात कर्णालीका कालिकोट, मुगु र जुम्लामा त त्यति धेरै यात्रु गए, अन्य जिल्लामा जाने यात्रु पनि त्यस्तै थिए होलान् । एउटा गाडीमा यदि १ जना विदेशबाट आएका यात्रुले यात्रा गरेको रहेछ भने ?

लकडाउन उल्लघंन गरेर केही दिनअघि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले हुम्लाका १०० भन्दा बढी व्यक्तिलाई गृहजिल्लातिर पठाए । भारत र कुवेत लगायतका विदेशका विभिन्न मुलुकबाट नेपालगञ्ज आइपुगेका व्यक्तिलाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको खर्चमै मुगुसम्मका लागि गाडी रिजर्ब गरेर पठाएको खुल्यो । ती व्यक्तिको न्यूनतम स्वास्थ्य चेकजाँच गरेको समेत भेटिएन, यति मात्र होइन, ती व्यक्तिलाई क्वारेन्टाइनमा नराखी घरघरमै छाडिएको छ ।

लकडाउनको अवधिमै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको पास उपलब्ध गराएर भारत तथा नेपालका विभिन्न स्थानबाट आएका कालिकोट र जुम्लाका १८२ जना नागरिकलाई ३ वटा बसमा पठाइयो ।

अलपत्र परेका भनी जिल्लास्थित क्वारेन्टाइनमा राख्ने भन्दै उद्धार गरेर पठाइएको थियो तर क्वारेन्टाइनमा बस्ने प्रदेशभरका नागरिकको तथ्यांक हेर्दा ती व्यक्तिहरू घरमै रहेको देखिन्छ । यसरी रातारात गाउँ प्रवेश गरेका व्यक्तिको स्वास्थ्य जाँच हुने कुरै भएन । किनकि हामिले जुम्लाको सिंजदेखि सुर्खेतको वीरेन्द्रनगरसम्म आइपुग्दा एक ठाउँमा पनि स्वास्थ्य चेकजाँच गर्ने ठाउँ देखेनौं । सायद रातको समय भएर पनि हुनसक्छ जाँच गर्नेहरू सुतिसकेका थिए होलान् ।

केही हप्ताअघि नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएका व्यक्ति पर्खाल भत्काएर भागे । तीमध्ये करीब ११ जना जाजरकोट पुगे । केही समयपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको खबर आयो तर उनीहरू गाउँमा हेलमेल भए कि ?

दैलेखको आठबिस नगरपालिका–२ मा भारतबाट आएका ३९ जनालाई राखिएको क्वारेन्टाइन १४ दिन नबित्दै रित्तै छ । उनीहरू अहिले गाउँघरमै स्वतन्त्र छन् ।

कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीका लागि मुलुकबाहिर जाने नागरिकको यकिन तथ्यांक नभएपनि धेरै छन् । त्योमध्ये भारतमा अधिकांशले मजदुरी गर्छन् । कर्णाली प्रदेश सरकारले यकिन तथ्यांक नबताएपनि सामाजिक विकास मन्त्रालयको अनुमानअनुसार चैत महिनामा मात्रै ९ हजारभन्दा बढी नागरिक भारतबाट कर्णालीमा भित्रिएका छन् । योबाहेक सीमानाका लगायत अन्य स्थानबाट भागेर आउनेको त तथ्यांक नै छैन प्रहरीसँग ।

गृह मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा जम्मा २ हजार ५३१ वटा शय्याका क्वारेन्टाइन छन् । सोही तथ्यांकअनुसार प्रदेशभर ४६७ शय्याको आइसोलेसन छन् । कर्णालीमा जम्मा ९३४ जना क्वारेन्टाइनमा छन् ।

जिल्ला प्रशासन कार्यालय दैलेखको तथ्यांकअनुसार दैलेख जिल्लाभर १ हजार २२० जना भारतलगायत विदेशबाट जिल्लामा भित्रिएका छन् तर क्वारेन्टाइन शय्याको संख्या त्योभन्दा असाध्यै कम अर्थात् २२८ मात्रै छ भने क्वारेन्टाइनमै बस्ने २० जना मात्रै छन् ।

कर्णाली प्रदेशबाट मजदुरीका लागि भारत जाने नागरिकको अत्याधिक धेरै संख्या भएको जिल्ला हो दैलेख तर तथ्यांकमै भएका भारतबाट फर्किएका नागरिक सबै क्वारेन्टाइनमा नबसी गाउँमा खुला छन् ।

लोकान्तर अनलाइन बाट साभार