२०७७ कार्तिक ४, मंगलवार

जुम्ला अस्पतालमा पहिलोपटक मस्तिष्कघातको सफल शल्यक्रिया

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक मस्तिष्कघातको सफल शल्यक्रिया सम्पन्न भएको छ ।

हिमा गाउँपालिका– १ आचार्यलिहीका ६५ वर्षीय धनबहादुर रावतको मस्तिष्कघातको सफल शल्यक्रिया गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका न्युरोसर्जरी विशेषज्ञ डा. नीलमकुमार खड्काले धनबहादुरको मस्तिष्कघातको सफल शल्यक्रिया गरेका हुन् ।

धनबहादुरलाई ७ चैतमा अचेत अवस्थामा अस्पतालमा ल्याइएको थियो । डेढ महिनादेखि जुम्ला अस्पतालमा कार्यरत डा. खड्काले भने, ‘बिरामीको अवस्था अध्ययन गर्ने क्रममा फोक्सोले सामान्य मानिसको जस्तो काम गरेको थिएन र अक्सिजन पनि राम्रोसँग लिन सक्नुभएको थिएन ।’ उनको दायाँ मस्तिष्कमा रक्तनली फुटेर भित्री र बाहिरी सतहमा रगत जमेको थियो ।

डा. खड्काका अनुसार पश्चिम नेपालकै इतिहासमा पहिलोपटक धनबहादुरको मस्तिष्कघातको माइक्रोस्कोपको सहायताबाट सफल शल्यक्रिया भएको हो । उनले भने, ‘बिरामीलाई पाँच दिनसम्म आइसियूमा राखेर अहिले वार्डमा सारेका छौँ । बिरामीको अवस्था अहिले सामान्य छ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा न्युरोसर्जरी (नशा रोग शल्यक्रिया) सेवा सुरु भएको डेढ महिना भएको र अहिलेसम्म तीनजनाको सफल शल्यक्रिया भएको अस्पतालका निर्देशक डा. मंगल रावलले बताए । डा. खड्का जुम्ला अस्पतालमा आएपछि न्युरोसर्जरी सेवा सुरु भएको हो ।

नयाँ पत्रिकाबाट