२०७७ कार्तिक १०, सोमबार

उत्पादनसँग जोडिँदै मध्यपश्चिमाञ्चल विश्वविद्यालय, पहिलो चरणमा स्यानिटाइजर उत्पादन सुरु, महासंघलाई स्यानीटाईजर प्रदान

सुर्खेत, १४ बैशाख ।
कर्णाली प्रदेशमा रहेको एक मात्र विश्वविद्यालयलाई उत्पादनसँग जोडन सुरु गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.नन्दबहादुर सिंहका अनुसार विश्वविद्यालयलाई उत्पादनसँग जोडदै जाने योजना अनुरुप पहिलो चरणमा स्यानीटाईजर उत्पादन गरेर कोरोना विरुद्ध लडन सुरु गरिएको हो । ‘अहिले विज्ञान तथा प्राविधिक संकाय केन्द्रीय विश्वविद्यालयले स्यानीटाइजर उत्पादन गरिरहेको छ । त्यहाँ अध्ययनरचत विद्यार्थीहरुलाई उत्पादनमा जोडिरहेका छौं ।’ प्रा.डा. सिंहले भने, ‘शिक्षालाई सीपसँग जोडने, उक्त सिपलाई उत्पादनसँग जोडने र आर्थिक वृद्धि गर्ने गरी हामी अघि बढिरहेका छौं ।’


अहिले विश्वविद्यालयले एक लाज लगानी गरेर स्यानीटाईजर उत्पादन गयिररहेको उपकुलपति प्रा.डा. सिंहले बताए । ‘आम नागरिकलाई त्रसित बनाइरहेको कोरोना विरुद्ध लड्न स्यानीटाईजरमा आम नागरिकको सहज पहुँच अभाव देख्यौं ।’ उनले भने, ‘त्यहि अभावलाई पुर्ति गर्न र विश्वविद्यालयलाई उत्पादनसँग जोडनकालागि हामीले उत्पादन सुरु गरेका हौं । व्यवस्थापन संकायले व्यवस्थापन गर्ने र विज्ञान तथा प्रविधि संकायले उत्पादन गर्ने योजना अनुसार थप कार्ययोजना बनाई अघि बढछौं ।’
प्रा.डा. सिंहले अहिले सेमी मेसिनबाट दैनिक रुपमा ६० एमएलका ७३० बोत्तल उत्पादन भइरहेको बताउँदै निकट भविष्यमा आइएसओ सर्टिफाईड गर्ने र बजारमा पठाउने बताए । यसकालागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग थप सहकार्य भइरहेको उनको भनाई थियो ।
विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई उत्पादन सँग जोडन अनिवार्य रहेको बताउँदै कर्णाली समृद्धिको आधारको रुपमा विश्वविद्यालय बनाउन खोजेको प्रा. डा. सिंहको भनाई थियो । ‘विगतमा सर्टिफिकेट प्रदान गर्ने मात्रै विश्वविद्यालय बनाइयो ।’ उनले भने, ‘अब आत्मनिर्भर बन्नकालागि आवश्यक पर्ने सीप प्राप्त जनशक्ति निर्माण गर्नेछौं । त्यसैको पहिलो चरणको रुपमा स्यानीटाईजर उत्पादन हो ।’ उनका अनुसार यसपछि थेसिस गर्ने विद्यार्थीहरुले उत्पादनका विषयमा गर्ने गरी अघि बढिने जानकारी दिए ।
महासंघलाई स्यानीटाईजर प्रदान
यसैबीच, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सिंहले नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई तीस थान स्यानीटाईजर प्रदान गरेका छन् । महासंघका अध्यक्ष गणेशकञ्चन भारतीले विश्वविद्यालयले स्यानीटाईजर उत्पादन गर्नु ऐतिहासिक भएको बताए । ‘विश्वविद्यालयले राम्रो कामको सुरुवात गरेको छ । आगामी दिनमा कर्णालीकै बस्तुको प्रयोग गरेरनयाँ नयाँ आविष्कार गर्न विश्वविद्यालय सफल होस ।’ अध्यक्ष भारतीले भने, ‘कर्णालीलाई उत्पादन मूलक शिक्षाको थलो बनाउन विश्वविद्यालय सफल हुने अपेक्षा छ । महासंघलाई यहाँहरुको उत्पादन दिएर सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद छ ।’