२०७७ कार्तिक १३, बिहीबार

युवा संघ जाजरकोट संयोजक शाही निलम्बनमा, नगर प्रमुखमाथि आक्रमण आरोप

सुर्खेत, २३ बैशाख ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट राष्ट्रिय युवा संघ जाजरकोट जिल्ला संयोजक दीपेन्द्र शाही संगठनबाट निम्लबनमा परेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटी सदस्य एवं भेरी नगरपालिका जाजरकोटका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि समूहमा गएर कुटपिट गरेको भन्दै संघले शाहीलाई निलम्बन गरेको हो । युवा संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ र सहसंयोजक रमेश पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै शाहीलाई निलम्बन गरिएको जानकारी दिएका हुन् ।
‘जिल्ला संयोजक दीपेन्द्र शाही नेतृत्वको समूहले आक्रमण गरि शक्त घाइते बनाएको उल्लेख गरी ०७७ बैशाख १३ गते नेकपा जाजरकोट जिल्ला कमिटि, नेकपा कर्णाली प्रदेश कमिटिको प्रेश वक्तव्य र ०७७ बैशाख १६ गते राष्ट्रिय युवा संघ केन्दीय कमिटीका सदस्यहरूको सिफारिसलाई आधार मानी राष्ट्रिय युवा संघ नेपालको अन्तरिम विधान २०७६ धारा १०.३ (क.ङ) का आधारमा धारा १८.३ को प्रावधान बमोजिम आजका मितिदेखि लागू हुने गरि संगठनका सबै जिम्मेवारीहरूबाट निलम्बन गरिएको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।
घटनाको सत्यतथ्य छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन जाजरकोटबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू मनोज विक, विश्वविक्रम शाह, राजन थापा, भीम रोकाय र कार्यबहाक संयोजक भीम जिसी रहेको ५ सदस्यीय छानबिन समितिसमेत संघले बनाएको छ । संयोजकको कार्यबहाक जिम्मेवारी सहसंयोजक भीम जिसीलाई प्रदान गरिएको छ ।