२०७७ मंसिर १७, बुधबार

भड्किला भाका, भड्किलो तीज

teejसुर्खेत, भदौ १६ ।
हरेक वर्ष तीजमा मौलिकता हराएको गुनाशो बढ्दै गएको छ । भड्किलो र आधुनिक रुपमा तीज मनाउन थालिएपछि तीजको मर्म र भावना मेटिएको कतिपयको भनाई छ ।

चेली र माइतीसंग जोडिएको तीजलाई अहिले भड्किलो रुपमा मनोरञ्जनका रुपमा लिन थाले पछि यसको महत्व र भावना र मौलिकतामा परिवर्तन भएको छ । दाईभाईले दिदीबहिनीलाई घरबाट माइतमा लिएर दर खुवाउने, चेली र माइतिका बीचमा सुख, दुःख साटासाट गर्ने, गीतबाटै पीरब्यथाहरु पोख्ने तीजको मौलिकता हो भने चेलीको सम्मान तीजको महत्व हो तर तीजको मौलिकता आधुनिकतासंगै हराएको छ ।
पछिल्लो हरेक वर्षहरुमा तीज अझ भड्किलो र खर्चिलो हुँदै गएको छ । सामान्य मान्छेले तीज मनाउन नसक्ने अवस्था आएको छ । महंगो लगाउने, होटेल, पाटी प्यालेसमा खाने, नाच्ने रमाउने, तीजका लागि महंगा होटेल नै बुक गर्ने प्रचलन बढेको छ । गाउँघर र छिमेकका दिदीबहिनीहरु जम्मा भएर रमाईलो गर्ने दुःख, सुख गर्ने तीजमा अहिले भने ठुला ठुला कार्यक्रम आयोजना गर्ने, ट्रयाकमा गीत गाउने, नाच्ने प्रचलन बढेको छ ।

सुर्खेतमा पनि पछिल्लो वर्षहरुमा तीजका नाममा थुप्रै खर्च गर्ने गरिएको देखिन्छ । विभिन्न टोलटोलका महिलाहरु, विभिन्न समूह, संघ, संगठनहरु, प्रतिष्ठानहरुका साथै सरकारी तथा गैरसरकारी कार्यालयहरुले पनि भड्किला खालका औपचारिक कार्यक्रम आयोजना गर्ने गरेका छन् । त्यस्ता कार्यक्रममा थुप्रै खर्च गर्ने गरिएको हुन्छ । यद्यपी कही कतै भने मौलिकता झल्किने गरी तीज गीत प्रतियोगिता लगायतका राम्रा कार्यक्रमहरु पनि गर्ने गरिएको छ ।

पछिल्ला  केही वर्षयता बजारमा आएका गीतहरुले तीजलाई रत्यौलीका रुपमा विकास गरिदिएको गुनाशो समेत आउने गरेको छ । तीजका गीतहरु निकै उत्तेजक हुने गरेको भन्दै बिरोध समेत हुने गरेको छ । समाजले नै पचाउन नसक्ने यस्ता कतिपय गीतहरुमा प्रतिबन्ध समेत लाग्ने गरेका छन् । तीजमा देखिएको यस्तो विकृतिलाई रोक्नुपर्ने धेरैको भनाई छ ।

महिला अधिकारकर्मी दुर्गा वि.क.ले तीजमा हुनुपर्ने मौलिकता नभएको र तडकभडक बढिरहेको भन्द्यै यसलाई रोक्नुपर्ने बताइन । तुलनात्मक रुपमा हरेक वर्ष तीज भड्किलो बन्दै गएको उनको भनाई छ । मुख्य गरी तीजका गीतहरु समाज सुहाउदा मौलिक नभएको भन्दै उनले यस्तो बिकृत्ति रोक्नु पर्ने बताइन । ‘‘अहिले जे देखिएको छ, त्यो अलि बढी भड्किलो छ,’ उनले भनिन्–‘खर्चिलो कार्यक्रम गर्ने टिभिमा देखाउने चलन बढेको छ, यो आवश्यकता भन्दा बढी छ, त्यो भन्दा पनि अहिलेका तीज गीतहरु अझै समाजमा नपच्ने खालका छन्, यसलाई रोक्नुपर्दछ । ’’

यस्तै माओवादी केन्द्रकी नेता हरिमाया शर्माले पनि वर्षसम्म भेटनभएका चेली र माइतिको भेटघाट गर्ने संस्कारका रुपमा रहेको तीज भड्किलो बन्दै गएको भन्दै सबैमा सचेतना फैलाउनु पर्ने बताइन । खासगरी नहुँदा नुहँदै पनि महंगो पोशाक लगाउने, खानपिनमा ठुलो खर्च गर्ने, देखासिकि गर्ने प्रबृत्तिको विकास भएको हुँदा यसले समाजलाई गलत बाटोतर्फ लैजाने भएकोले यसमा सचेत हुनुपर्ने उनको भनई छ ।

‘‘यो दिदीबहिनी र आफन्तहरुको बर्षको अन्तरालपछिको भेट, सुखानी, द्खानी गर्ने चाड हो,’ उनले भनिन–‘तर यसका नाममा अहिले देखासिकि गर्ने र भड्किलो रुपमा मनाउने गरिएको छ यसले समाजलाई नराम्रो प्रभाव पार्न सक्छ तसर्थ सचेत बनाउनुपर्दछ ।’’

तस्विर : फाईल