२०७७ कार्तिक ५, बुधबार

सरकारका कारण खाना पकाउने ग्याँसमा लाईन, नाकाबन्दीको झल्को

सुर्खेत, ३१ बैशाख ।
कर्णाली प्रदेश सरकारले बैशाख २२ गते राती देखि कर्णालीमा खाना पकाउने ग्याँस आयात गर्न नदिदाँ भारतले नेपालमाथि लगाएको नाकाबन्दीको जस्तो सास्ती ब्यहोर्नुपरेको छ । ‘विहान ६ बजेदेखि लाईनमा लागेको थिएँ । साढे आठ बजे मात्रै ग्याँसको पालो पाएँ ।’ वीरेन्द्रनगर ६ की सतरा लामीछानेले भनिन्, ‘नाकाबन्दीका बेलामा एक रात एक दिन लाईन लागेकी थिएँ । मलाई अहिले त्यस्तै अवस्था आउँछ कि भन्ने लाग्यो ।’ उनी मात्रै होइनन्, आज लाईनमा सयौं जना थिए ।
प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय सुर्खेतले खानापकाउने ग्याँसलाई अत्यावश्यक बस्तु नठान्दा सुर्खेतमा ग्याँस लिनेहरुको लाईन लागेको हो । ‘कम्तिमा सरकार र जिल्ला प्रशासन कार्यालयले खाना पकाउने ग्याँसलाई अत्यावश्यक वस्तु हो भन्ने कुरा थाहा पाउनु पथ्र्यो ।’ भेरी ग्याँसको लाईनमा दुइ घण्टा देखि लागेका रमेश सापकोटाले भने, ‘ग्याँस आयात गर्न दिइएको भए यसरी लाईन लाग्नु पर्ने अवस्था आउँथेन । नागरिकलाई त्रसित बनाउने काम सरकारले गरेको छ ।’ भेरी ग्याँस सोमबार र मंगलबार पाइएको थिएन । मंगलबार साँझ मात्रै गाडी आइपुगेपछि बुधबार विहान देखि मात्रै ग्याँस दिइएको थियो ।
लकडाउन कार्यान्वयन सुस्त
सुर्खेतमा लकडाउनमा खुलापन आउन थालेको छ । कोरोनाको पर्याप्त जाँच गर्न नसकेको सरकारका कारण कोरोना नदेखिएको आरोप लागिरहेको बेलामा नागरिकहरु जथाभावी सडकमा निस्कन थालेका हुन । ‘कम्तिमा सरकारले सबैको स्वाव जाँच गर्न सकेको भए ढुक्कका साथ हिडन सकिन्थ्यो ।’ स्थानीय कमल थापाले भने, ‘नागरिकहरु जथाभावी सडकमा हिडेको देख्दा आफूलाई पनि घर भित्र बस्न मन लाग्दो रहेनछ् । बाहिर जाँउ कोरोनाको डर लाग्छ । राज्य नै लकडाउनलाई कडाइका साथ कार्यान्वयनमा चुकेको मैले देखेको छु ।’
सुर्खेतसँग सिमाना जोडिएको बाँके र बर्दियामा कोरोना संक्रमण देखिएपछि सुर्खेतमा कोरोनाको त्रास बढिरहेको छ तर सरोकारवाला निकाय भने लकडाउन कार्यान्वयनमा सुस्ताईरहेको वीनपा ८ का विनोद लम्सालले बताए । ‘हप्ताको तिन दिन खाद्यान्न पसल खोल्ने तथा हार्डवेयर पसल दैनिक खोल्ने निर्णय गरिएको छ । यो गलत छ ।’ उनले भने, ‘यो भनेको कोरोनालाई कर्णालीमा खुला आमन्त्रण दिनु हो । कोरोनाबाट कर्णाली मुक्त गराउने हो भने लकडाउनलाई अझै केहि साता कडाइ गर्नुको विकल्प छैन । तर यहाँ जसको जे मनमा आउँछ हचुवाका भरमा निर्णय गर्दै हिडिरहेका छन् । कोरोना कर्णाली आएको खण्डमा स्थिति सम्हाल्नै नसकिने हुने उनको आँकलन छ ।
यता, प्रदेश सरकारले लकडाउनलाई केहि खुकुलो बनाएको छ । खाना पकाउने ग्याँस, पशुपंक्षीको दानाहरु सहज रुपमा ल्याउन दिने निर्णय गरेको सरकारका प्रवक्त एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बताईन ।