२०७७ कार्तिक ५, बुधबार

आरडिटी जाँच विनै गाउँ पठाउँदा दैलेखमा देखियो कोरोना

सुर्खेत, ६ जेठ ।
दैलेख जिल्लाको आठबीस नगरपालिका एक मा देखिएको कोरोना संक्रमितको आरडिटी जाँच नै नगरि पालिकामा पठाइएको खुलेको छ । प्रदेश सरकारले भारतबाट आएका हरेक नागरिकको कम्तिमा आरडिटी जाँच गरेर मात्रै पालिकामा पठाउने भनेर निर्णय गरेपनि भारतको बनबासा बाट आएका ती युवाको आरडिटी परिक्षण प्रदेश सरकारले नगरेको खुलेको हो । स्वास्थ्य सेवा निर्देशनक रिता भण्डारी जोशीले उनीहरुलाई सोझै पालिकाले नै ल्याएका कारण आरडिटी परिक्षण नगरिएको बताईन । ‘उहाँहरुलाई आठबीस नगरपालिकाले नै कञ्चनपुरबाट उद्धार गरेर ल्याएको रहेछ । उहाँहरुको आरडिटी जाँच कहाँ भयो हामीलाई जानकारी नै छैन । उक्त बसमा अन्य पालिकाका पनि नागरिक ल्याएको सुनेका छौं । अहिले खोजी गरिरहेका छौं ।’ उनले भनिन्, ‘रुपहिडिया नाकाबाट आएकाहरुका हकमा नेपालगञ्जले आरडिटी जाँच गर्ने र त्यहाँ छुटेकाहरुको मात्रै आरडिटी हामीले गर्ने गरेका छौं । अन्य नाकाबाट कर्णाली आएकाहरुको बारेमा जानकारी भएन ।’
उनले पीसिआरमा पोजेटिभ देखिए पछि मात्रै आरडिटीमा पोजेटिभ देखिने बताईन । ‘उहाँहरुलाई ल्याउँदा वित्तिकै पोजेटिभ देखिदैन । पिसिआर पछि मात्रै आरडिटी जाँच गर्दा पोजेटिभ देखिने गरेको छ ।’ उनले भनिन्, ‘आरडिटी किट हामीसँग पर्याप्त छैन तर सटेज पनि छैन ।’ उनका अनुसार दुइ हजार जति आरडिटी किट कर्णालीमा रहेको छ । २५ हजार आरडिटी किट माग गरिएको उनको भनाई थियो ।
उनले पिसिआर किट पनि कर्णालीमा कम भएको बताईन । ‘अहिले हामी आफैले खरिद गर्ने तयारी गरेका छौं । हामीले हालसम्म ३४ सय भन्दा बढिको पीसिआर जाँच गरेका छौं । आज या भोलीसम्म थप तीन देखि चार सय जनाको पीसिआर जाँच गर्दैछौं ।’ उनले भनिन्, ‘अब नाकामा एक दुइ जना गरि आउनेलाई जम्मा पारेर एकमुष्ठ पालिकामा पठाउने वा सुर्खेतमा रहेको क्वारेन्टाईनमा बसाल्न सरकारलाई सुझाव दिएका छौं । धेरै संख्यामा एकै पालिकाको भएको खण्डमा गाडी कतैपनि नरोक्ने र सोझै क्वारेन्टाईनमा राख्ने शर्तमा पालिका पठाउन हामीले सरकारलाई सुझाव दिएका छौं ।’