२०७७ कार्तिक ५, बुधबार

शिक्षालाई यसरी सुचारु गर्ने कि ?

जितबहादुर शाह

लकडाउन पनि  २ महिना भयो । भौतिक हिसावले तरकारी र अति आवश्यक खाद्य सामग्री खरिदको लागि नजिकैको पसलसम्म पुग्ने बाहेक त्यो भन्दा टाढा जाने काम भएको छैन । परिवारका सदस्यहरु बाहेक अन्यसँग नजीक पसेर चिया खाँदै भलाकुसारी गर्ने काम पनि भएको छैन । आमाको काख छोडेदेखि यसरी आफ्नो घरलाई आफ्नो सम्झेर लामो समय घरमै बसेको यो नै पहिलो पटक हो । यति लामो समयसम्म साथीसँगी र आफन्तको घर अनि अन्य सार्वजनिक थलोमा नगएको पनि यो नै पहिलो पटक हो । साथीहरुसँग अन्कमाल गर्ने र हातमिलाउने काम छोडेको झन लकडाउन भन्दा धेरै पहिलेदेखि हो । अर्थात कोरोनाको हल्ला चलेदेखि नै । त्यतिबेला हाम्रो राष्ट्रभित्र प्रमाणिक रुपमा कोरोनाको कहर भित्रिएको समेत थिएन । जीवन यसरी पनि अघि बढ्ला भन्ने सोचिएन कहिल्यै । तै पनि नसोचेकै किसिमबाट अघि बढिरहेको छ जीवन । ज्ञान प्राप्तिका लागि गौतम बुद्धले घर छोडेर हिडे । यो पङ्तिकार भने घरदेखि बाहिर निस्कन छोडेर ज्ञान प्राप्त गर्ने दुश्साहस गरिरहेको छ । खैर त्यो बुद्धत्व प्राप्तीको मार्ग नहोला तथापि बाहिर निस्केर प्राप्त गरेको ज्ञानको तुलनामा यो मार्ग पनि कुनै मानेमा कमजोर छैन जस्तो अनुभूत भइरहेको छ ।
म्याट मुलेनवेगले भनेका रहेछन् ‘प्रविधिले त्यतिबेला सर्वोत्कृष्ठ काम गरेको ठहर हुनेछ जति बेला मानिसहरुलाई एकैठाउमा ल्याउनेछ ।’ यो कुरालाई मैले भोगेर अनुभूत गरे यसपाली । घरको आखीझ्यालबाट मैले संसार हेरें र संसारले पनि मलाई हेरयो । यो क्रम जारी छ । प्रविधि हुदैनथ्यो भने हाम्रा पुर्खाहरुले ओढारमा बसेर पाएको सास्ती भन्दा पनि बढि सास्ती हुन्थ्यो जस्तो लाग्छ हामीलाई । त्यतिबेला उनीहरु शिकारका लागि जङ्गलमा कोशौै टाढासम्म घुमफिर गर्थे त्यो पनि साथीहरुसँग । हामी धेरैमा एकाध किलोमिटर खाना खरिदका लागि बाहिर निस्कन्छौ त्यो पनि एक्लै । त्यतिबेला मानिसले मानिस देख्यो भने भरोसा हुन्थ्यो यतिबेला भरोसाका त कुरा नगरौं भागाभाग हुन्छ । त्यसैले त प्रविधिलाई मैले पहिले देखि नै माया गर्थें र आफ्नो सम्झिन्थें । त्यही भएर मुटुभन्दा प्यारी छोरीको नाम समेत प्रविधि राख्ने काम भएको छ । यो लकडाउनको अवधिमा त झनै सम्झेको छु । कहिले त यस्तो लाग्छ यो प्रविधि हुदैनथ्यो भने यस्तो बेला मेरो संसार कति कहालीलाग्दो हुन्थ्यो होला मेरा निम्ति । कहालीलाग्दो मात्र होइन, यसरी अस्तित्व जोगाएर सकुशल अवस्थामा रहन समेत हम्मे हम्मे पथ्र्यो होला जस्तो लाग्छ ।
लकडाउन सुरु भए सँगै जुम क्लाउड अर्थात भर्चुअल संसारमा घुम्ने क्रम पनि जारी छ । खुट्टाले घुम्न नपाए पनि मष्तिष्कले भने घुम्ने काम पाएर रमाइरहेको छ । रमाउने भन्दा पनि जति नियास्रो हुन्थ्यो त्यो अनुभूत गरेको छैन । दिनानुदिन सयौं मानिसहरुसँग भलाकुसारी भइरहेको छ । त्यो पनि एकैथलोमा बसेर एउटै समयमा । कुनै दिन त चारपाँच सय मानिसहरुको बीचमा समेत एउटै तालिम हलमा बसे झै गरी अनुहार नियाल्दै भलाकुसारी भइरहेको हुन्छ । भर्चुअल भेटघाट र भलाकुसारी पनि ठूलाबडा र उच्चपदस्थ अधिकारीहरुसँग भइरहेको छ । सायद यो भेटघाट भौतिक रुपमा कार्यकक्षमा गएर गर्छु भनेको भए यति सजिलै सम्भव हुने थिएन भन्ने कुरामा यो पङितकार ढुक्क छ । चिनजानको र आफन्त नभएको अवस्थामा ठूलाबडाहरुको फोन त उठ्दैन भने हाम्रा निम्ति त्यस्तासँग पूर्व अनुमति नलिइ यति सजिलै भेटघाट सम्भव हुने कुरा पनि भएन । कहिलेकाही त लामो समय पर्खिएर पनि भेट्न नपाए पछि आगन्तुक कक्षमा वसेर उनकै आफन्तसँग बह पोखेर फर्किन पायो भने पनि त्यसैलाई अहोभाग्य सम्झिने दिन पनि आउदा रहेछन् हामीले ल्याएको लोकतन्त्रमा । यो पनि हाम्रो लोकतन्त्रले ल्याएको शासकीय सुधारको एउटा महत्वपूर्ण कदम होला सायद ।

मेरो कर्म क्षेत्र शिक्षा भएको र शिक्षाको अन्तिम गन्तव्य बालबालिका भएकाले मैलेजस्तै प्रविधिको प्रयोग गरेर हाम्रा बालबालिकाहरु मैलेजस्तै सुखभोग गरिरहेका छन् त ? भन्ने प्रश्नले भने मेरो मन र मष्तिष्कलाई एकैचोटी हतौडालेझै हिर्काइरहेको छ । साथी र दौतरीहरुसँगको संसारलाई सर्वोपरी ठान्ने त्यो बालापन घरभित्र के गरी बसिरहेको होला ? टिभी र मोवाइल समातेर मैलेजस्तै समय पास गरिरहेको भए पनि त्यो बालमष्तिष्कमा त्यसले कस्तो असर पारिरहेको होला ? परिवारका सदस्यहरु बालमैत्री नभएको र परिवेश सिकारु मैत्री नभएको अवस्थामा त्यो बालबालिकाको अवस्था कति विसङगत अवस्थाबाट गुज्रिरहेको होला ? अनलाइन र मिडियामा सुनिरहेको मात्र होइन देखिरहेको पनि छु, कतिपय परिवारमा त घरमा खानका लागि एउटा गेडा अनाज पनि नभए पछि स्यूसाइड नोट समेत लेख्न जरुरी नठानेर अभिभावकसहित सवैले एकैचोटी ज्यान फालेका दुखद सन्दर्भहरु छन् । त्यस्तै–त्यस्तै परिवेशमा बाँचेर त्यस्तो निर्णय गर्न नसकेको परिवारमा बालबालिकाको अवस्था साँच्चि कति पीडादायक होला ? कतै छलफल पनि हुदैन यो विषयमा । सायद गैरकानूनी हुन क्या रे यी विषयहरु ! चिया पसलमा त हुन्थ्यो । ती पनि बन्द छन् लकडाउन भएकाले । संसद चालु छ तथापि त्यहाँ यो विषयमा छलफल हुदैन । सायद त्यहाँ भएका मानिसहरु बुढा भइसकेको हुदा बालपनको महत्व र आवश्यकता विर्सिसकेका होलान ।
लकडाउनको अवधिमै कतिपय मुलुकहरुले औपचारिक शिक्षालाई यो वा त्यो रुपमा सञ्चालन गरिरहेका छन् । यहाँ पनि शिक्षकका पेशागत संस्थाहरुबाट घरमै बसेर काम नगरी लामो समयसम्म सरकारी नूनपानी खान शरम मानेर पनि होला, भर्चुअल विधि मार्फत कक्षा सञ्चालन गर्ने जमर्को भइरहेको छ । यद्यपि सरकारले यसलाई उचित कदम भन्न नसकिरहेको अवस्था छ । कति कति बेला त यस्तो कार्यलाई रोक लगाउने भनेर झर्कोफर्को गरेको अवस्था समेत देखिन्छ । कुरा जे जस्तो भए पनि बालबालिकालाई खाली दिमाग सैतानका घर बनाएर यसरी राख्दा भोली झनै मनोबैज्ञानिक हिसावले जटिल समस्याहरु आउन सक्छन् भन्ने कुरालाई भुल्नु हुदैन । दुई महिना हुन थालिसक्यो, समस्या समाधानको लक्षण देखिएको छैन । बरु झन विकराल बन्ने सम्भावना देखिरहेको छ । मलाई त लाग्छ यो समस्या समाधान हुन महिनौं त के वर्षौ लाग्ने देखिन्छ । त्यसकारण पनि यो बन्दाबन्दीको अवस्था र तरिकामा स्थानविशेषलाई मध्यनजर राखी शिक्षालाई सुचारु गर्नुपर्ने देखिन्छ । त्यसका लागि यसो गर्दा राम्रै हुने सोचेर एकान्तबासको आँखीझ्यालबाट विद्यालय सञ्चालन सम्बन्धि केही प्रस्तावहरु जो जससँग सम्बन्ध राख्दछ भन्दै प्रस्तुत गर्न चाहन्छु ।
सर्वप्रथम त देशको सवै भूभागको निम्ति लकडाउनको मोडालिटी एउटै बनाउनु हुदैन । यसका लागि निर्णायक भूमिका स्थानीय सरकारलाई दिनुपर्दछ । हाम्रो देशका कतिपय भूभाग र वस्तीहरु यस्ता छन् जहाँ बाहिरबाट मानिसहरु पुग्न गाह्रो छ । न त त्यहाँ हिजो पुग्थे न त आज नै । त्यस्ता गाँउ र बस्तीका मानिहरुलाई सामान्य स्वास्थ्य चेक गरी यदि त्यो गाउ बाह्य संसारसँग भौतिक रुपमा डिष्कनेक्ट छ भने त्यहाँका विद्यालयहरु सुचारु गर्दा फरक पर्दैन । कतिपय विद्यालयका विद्यार्थी र शिक्षकहरु त्यही टोलका छन् भने माष्क लगाउने, दूरी कायम गर्ने र सावनुपानीले हात धुने व्यवस्थालाई कडाइ गरी सञ्चालन गर्दा अन्यथा हुदैन भन्ने लाग्छ । दृष्टान्त दिएर भन्नु पर्दा तत्कालीन कर्णाली अञ्चलका हिमाली बस्तीहरुमा हामीले अहिले नै निश्चित नियम पालना गरेर विद्यालयहरु अहिले नै सञ्चालन गरेर पठनपाठन शुरु गर्दा हुन्छ । किनभने हिउदमा त्यस्ता बस्तीहरुमा हिमपात र अत्यधिक चीसोका कारण विद्यालयहरु सञ्चालन हुन सक्दैनन् ।
म त भन्छु लकडाउनको नियम पालना गर्दै अत्यधिक संक्रमण भएका क्षेत्रमा बाहेक अन्य क्षेत्रमा समेत विद्यार्थी भर्ना कार्यलाई अघि बढाउन सकिन्छ । सवैलाई एकैपटक होइन कि निश्चित कक्षालाई निश्चित समयमा विद्यालयमा बोलाएर अरु कार्यमा जस्तै सामाजिक दूरी कायम गरी विद्यार्थीलाई भर्ना गराउन सकिन्छ र विद्यार्थीहरुलाई पाठ्यपुस्तक दिएर पठनपाठनलाई अघि बढाउन सकिन्छ । पाठ्यपुस्तकलाई पनि स्वास्थ्य र खाद्य सामग्रीजस्तै अति आवश्यक बस्तुको वर्गमा राखेर विद्यालय सम्म पुरयाउनु पर्दछ । विद्यालयमा हरेक विद्यार्थीहरुलाई हरेक दिन बोलाउनुको सट्टा हरेक हप्ता एउटा विद्यार्थी तीन दिन जस्तो आउने गरी दूरी कायम गर्दै पठनपाठनको व्यवस्थापन गर्न सकिन्छ । विश्वको अनुभवले सिद्ध गरेको छ कि बालबालिका कोरोनाको वाहक हुन सक्छन तर शिकार हुन सक्दैनन । यदि यो कुरा सरकारले स्वीकार गरेको हो भने अरु काममा जस्तै कोरोना विरुद्धका आचारसंहिता कायम गरी विद्यालयको पठनपाठन सूचारु गर्न किन नसक्ने ? बरु यही बेला विद्यालयको सेवा क्षेत्र र विद्यालय नक्साङ्कनको अवधारणालाई प्रभावकारी रुपमा लागू गर्न समेत सकिने हुन्छ ।
तीन दिन विद्यालयमा आएको समयमा विद्यार्थीहरुलाई बाँकी तिन दिनका निम्ति विद्यालयले परियोजना कार्य एवम् गृहकार्य दिनु पर्दछ । यसरी बाँकी तीन दिन आफ्नो टोलका सहपाठीहरुसँग सँगै बसेर सिकाइ गर्नका लागि टोलमा रहेका शैक्षिक बेरोजगारहरुलाई सरकारले तोकिएको पारिश्रमिक दिएर सहजिकरणको काममा लगाउन सक्छ । यसले गर्दा बेरोजगारहरुलाइ रोजगारी दिने सरकारको नीति समेत धेरै हदसम्म पूरा हुने देखिन्छ । अर्को अर्थमा भन्नुपर्दा विद्यालय र विद्यार्थी बीचको सम्बन्धलाई जिवन्तता प्रदान गर्नका लागि त्यस्ता शैक्षिक बेरोजगारहरुले भूमिका निर्वाह गर्न सक्छन् । यो स्वयमसेवी कार्यमा विदेशबाट फर्किएर घरमै बसिरहेका शैक्षिक बेरोजगारहरुलाई समेत लगाउन सकिने देखिन्छ । यसको लगत लिने र व्यवस्थापन गर्ने जिम्मेवारी वडा र स्थानीय कार्यपालिकालाई दिनु पर्दछ । ती क्रियाकलापहरुको अनुगमन र सुपरीवेक्षणका लागि सम्बन्धित विद्यालयले समेत आवश्यक व्यवस्थापन गर्नुपर्दछ । गृहकार्य र परियोजना कार्य दिने क्रममा शिक्षालाई कार्यमूलक, संँस्कारी, जीवनोपयोगी र व्यावहारिक बनाउने कुरालाई प्राथमिकता दिनुपर्दछ । कलेज लेभलमा यो काम गर्नका लागि नेपाल सरकारले ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ नाम दिएको स्नातकोत्तर तहका युवा परिचालन गर्ने नीति र कार्यक्रमलाइ प्रभावकारी बनाउनु पर्दछ भन्ने लाग्छ ।
जहाँ कोरोनाले अलि बढि सङक्रमण गरेको छ, त्यस्ता क्षेत्रमा विद्यालयले विद्यार्थीहरु भर्ना गरेर भर्चुअल कक्षा सञ्चालन गरेर पठनपाठनलाई सुचारु गर्नुपर्दछ । सरकारले अघि सारेको सार्वजनिक विद्यालयहरुमा शक्तिशाली इन्टरनेट सेवा जडान गर्ने नीति र कार्यक्रमलाई अविलम्ब कार्यान्वयन गर्नुपर्ने देखिन्छ । शिक्षक महासंघ एवम् शिक्षकका पेशागत संस्थाहरुको अगुवाइमा शिक्षकहरुलाई आइसीटी सम्बन्धि प्रशिक्षण गर्ने र लगानी तीनै तहका सरकारले गर्ने गरी कार्यक्रम निर्माण गरी सञ्चालन गरिनुपर्दछ । अनलाइनमा उपलब्ध हुने सामग्रीहरुको छनौट गर्ने अधिकार विद्यालय र विषयगत शिक्षकहरुलाई प्रदान गर्दा अन्यथा हुदैन बरु आफ्नो र आफ्ना विद्यार्थीहरुको रुचि र आवश्यकता अनुसारको सामग्री छनौटमा सहज हुन्छ ।
एसइइ, कक्षा ११ र कक्षा १२ को स्थगित परीक्षाको सञ्चालनको लागि पनि छिटै टुङ्गो लगाउनु पर्दछ । यसका लागि लामो समयसम्म पारित हुन नसकेको विद्यालय शिक्षा सम्बन्धी विधेयकलाई चालु सदनबाट अविलम्ब पारित गराउनु पर्दछ र उक्त विधेयकमा देशमा कावुबाहिरको परिस्थिति वा महामारी फैलिन गएको कारणले तोकिएको ढाँचामा एसइइ र कक्षा १२ को परीक्षा सञ्चालन गर्न नसक्ने अवस्था भएमा नेपाल सरकारको निर्णय अनुसार उक्त ढाँचामा परिमार्जन गरी परीक्षा सञ्चालन गर्न सकिनेछ भन्ने प्रावधान राखिनुुपर्दछ । यसो गर्न सकिएमा अहिलेको अवस्थामा एसइइ, कक्षा ११ र कक्षा १२ को परीक्षालाई परीक्षा वोर्डले बनाएको प्रश्नावलीको आधारमा विद्यालयले नै सञ्चालन र मूल्यांकन गरी राष्ट्रिय परीक्षा बोर्डबाट प्रमाणित गर्ने काम कानून अनुसार हुन सक्छ । सवैलाई चेतना भया ।