२०७७ कार्तिक ११, मंगलवार

प्रदेश सरकारले गर्न नसकेको काम वीरेन्द्रनगर गर्दै, विश्वविद्यालयमा क्वारेन्टाईन गरिने

सुर्खेत, १२ जेठ ।
कर्णाली प्रदेश सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुर्खेत क्याम्पस शिक्षामा क्वारेन्टाईन स्थापना गर्ने भनेर निर्णय गरेको महिनौं वित्दा वीरेन्द्रनगर नगरपालिकाले क्वारेन्टाईन निर्माणमा तीव्रता दिने निर्णय गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई पूर्वसावधानी गृह (क्वारेन्टाइन) का लागि भवन उपलब्ध गराइदिन नगरपालिकाले अनुरोध गरेकोमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकाललगायतको अग्रसरतामा मानविकी, व्यवस्थापन, विज्ञान र इन्जिनियरिंग संकायका भवनको सम्भाव्यता अनुगमन गरी नगरपालिकाको पूर्वसावधानी गृह (क्वारेन्टाइन) स्थापना गर्न तयारी भएको कार्यवाहक नगरप्रमुख ढकालले बताईन । यस्तै शिक्षा क्याम्पस सुर्खेतलाई पूर्वसावधानी गृह (क्वारेन्टाइन) का लागि भवन उपलब्ध गराइदिन अनुरोध गरिएको बताउँदै उनले क्याम्पस प्रमुख भुपेन्द्र बहादुर शाहीसँग सहमति भई मैत्री भवनको सम्भाव्यता अनुगमन गरी नगरपालिकाको पूर्वसावधानी गृह (क्वारेन्टाइन) स्थापना भइसकेको उनको भनाई थियो ।
हाल नगरपालिकामा बालमन्दिर आधारभूत विद्यालय, जन माध्यमिक विद्यालय, त्रिपुरेश्रवर माध्यमिक विद्यालय, चन्द्रगंगा माध्यमिक विद्यालय र शिक्षा क्याम्पस सुर्खेतको मैत्री भवनमा पूर्वसावधानी गृह (क्वारेन्टाइन) स्थापना गरी सञ्चालन गरिएको छ । हाल नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा २४८ जना बसिरहेका छन् ।