२०७७ मंसिर १०, बुधबार

मप विश्वविद्यालयको पहिलो दिक्षित झमक घिमिरे ‘जीवन काँडा कि फूल’ विश्वविद्यालयको पाठ्यक्रममा

mjसुर्खेत, भदौ १७ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पहिलोपटक चर्चित साहित्यकार झमक घिमिरेलाई दिक्षित गर्ने भएको छ ।झमकलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरी पहिलोपटक दिक्षित गर्न लागेको हो ।

घिमिरेको सम्मानमा मानार्थ विद्यावारिधि प्रदान गरिसकेको मप विश्वविद्यालयले यही भदौ २० गते विश्वविद्यालयकै पहिलो दिक्षित व्यक्तिका रुपमा झमक घिमिरेलाई सम्मान गर्न विशेष दिक्षान्त समारोहको आयोजना गरेको छ ।

मप विश्वविद्यालयमा औपचारिकरुपमा विद्यावारिधिको सुरुवात नभए पनि विश्वविद्यालयको सिनेटबाट पारित निर्णयअनुसार विद्यावारिधि प्रदान गरी दिक्षित गर्न लागिएको हो ।
दिक्षित कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता तथा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा राजधानी काठमाडौंमा आयोजना गर्न लागिएको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । नेपाली साहित्यकी प्रेरणादायी व्यक्ति घिमिरेलाई यसअघि नै सिनेटबाट मप विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गर्ने प्रस्तार पारित गरेको थियो । सोही अनुसार उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्रकुमार कोइरालाले झमकको घर पुगेर मानार्थ विद्यावारिधिको पत्र हस्तान्तरण गरिसकेका छन् ।

नेपाली साहित्यका मुर्धन्य स्रष्टा, सिर्जना र संघर्षकी प्रतिमूर्ति पछिल्लो युगको साहित्य चेतनाको सर्वाेत्तम प्राप्ती र राष्ट्रको अमूल्य निधि भएकाले यस्तो विशिष्टताको उच्च सम्मान गर्दै उपाधि प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ । मप विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी पाउनेमा घिमिरे पहिलो व्यक्ति हुन् । दिक्षित हुने पनि उनी पहिलो हुने भएकी छन् ।
यसैबीच, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अंग्रेजी विभागको स्नातकोत्तर तहको पाठयक्रममा घिमिरेद्वारा लिखित मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’ समावेश गरिएको छ । नेपाली विभागमा पनि उक्त कृति पाठ्यक्रममा राखिने तयारी भइरहेको विश्वविद्यालयले जनाएको छ ।

को हुन् झमक ?
साहित्यकार झमककुमारी घिमिरे वि.सं. २०३७ असार २१ गते शुक्रबार धनकुटाको कछिडेमा बुवा कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेको छारीका रुपमा जन्मिएकी प्रतिभावान् नेपाली महिला स्रष्टा हुन् । प्रति मष्तिस्क रोगद्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्वकै १० प्रतिभावान् साहित्यकारमध्ये एक हुन् ।

जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन् । खुट्टाको ३ औंला मात्र चल्ने उनले तिनै तीन औंलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकी छिन् । औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको, लेखेको, देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकी हुन् । उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो । कान्तिपुर र ब्लास्ट टाइम्स पत्रिकामा उनका नियमित स्तम्भहरू पनि छापिन्छन् । झमकले मदन पुरस्कार र प्रबल गोरखा दक्षिण बाहु, चौंथोलगायत दर्जनौं पुरस्कार एवम् सम्मान प्राप्त गरेकी छन् ।

झमकको बाल्यकाल अत्यन्तै कष्टकर थियो । लुला हात गोडा र विकलाङ्ग शरीर लिएर ‘कति छाक भोकभोकै बस्ने परिवार’मा जन्मेकी झमकलाई जन्मने बित्तिकै स्वजनले ‘मुर्कुट्टा’ भने । दशैंमा टीका लाएर उनलाई ‘चाँडै मरेस्’ भत्रे आसिक दिए । उनले कुनै पाठशाला र गुरुबाट सिक्न पाइनन् । सिक्न खोज्दा ‘तैले सिकेर के गर्छेस् ?’ भने । गोडाको बुढी औँलाले छर्छरी रगत निकाल्दै भुईमा कपुरी क लेख्दा भुँई भत्काई भनेर गाली गरे । गोलले लेख्दा ‘रिन लाग्छ’ भनेर गाली खाइन् ।

अरू बालकहरू पढेनन् भने कुटाई खान्छन् । उनी पढी भनेर कुटाई खान्थिन् । कापी, कलम माग्दा कुटाई खाइन् । उनको ‘कैलेकाहीँ ओठमा उम्रिएको हाँसो पनि ‘धेरै नहान’ भत्रे आदेशमा बिलाउँथ्यो । जोखाना हेर्नेले सन्तान पिर्छे भने । मान्छेले उनलाई अलच्छिनी भनेर बाटो छले । पाँच वर्षको हुँदा भात खुवाई दिने बजु मरेपछि गोडाका औंलाले मुछेर भात खान थालिन् । आफंैले बिस्टा पुछ्ने प्रयत्नमा बिस्टामा लट्पटिन्थिन् ।

भोकै, प्यासै, नाङ्गै, अधिकांश एकाकीपनमा हुर्किसकेपछि नौ–दश वर्षको हुँदा घर बनाउन आएका सिकर्मी, डकर्मीबाट फाटेको लुगाबाट देखिने गुप्ताङ्गमा ताकेर ढुंगाका मसिना गिर्खाले हानी मागेर र कुरीकुरी भनेर गरेको यौन शोषण सहनेजस्ता अनेक आपत्विपत सहँदै उनी हुर्किएकी हुन् । घिमिरेले अहिले थुप्रै कृतिहरु लेखिसकेकी छन्, जुन प्रेरणादायी बनेका छन् ।

सुर्खेत प्रहरी प्रमुखविहीन
सुर्खेत, भदौ १६ । जिल्ला प्रहरी कार्यालय, सुर्खेत एक महिनादेखि प्रमुखविहीन भएको छ । एसपीको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा अहिले डिएसपीले निमित्त प्रमुख भएर काम गरिरहेका छन् ।
प्रमुख वीरेन्द्र श्रेष्ठ गत साउन १७ गते सरुवा भएर काठमाडौं गएपछि अहिलेसम्म नयाँ एसपी आउन सकेका छैनन् । लामो समय प्रहरी प्रमुख नहँुदा जिल्लाको शान्ति सुरक्षा र अन्य काम कारबाहीमा केही समस्या परेको प्रहरीले जनाएको छ । निमित्त प्रहरी प्रमुख डिएसपी बहादुरजङ्ग मल्लले अहिले सम्मको एसपी आउने भनेर कुनै टुङ्गो नभएको बताए ।
उनले एसपीको दरबन्दी भएको जिल्लामा पक्कै पनि एसपी आउने तर कहिले र को आउने भन्ने कुरा एकिन नभएको बताए । एक महिनादेखि जिल्ला प्रहरी प्रमुखविहीन भए पनि सुर्खेतमा अहिलेसम्म कुनैले पनि नयाँ प्रहरी प्रमुख छिट्टै ल्याउनु पर्छ भनेर आवाज उठाएको पाईदैन ।

माओवादी केन्द्र वीननपा–२४ को भेला
सुर्खेत, भदौ १६ । नेकपा माओवादी (केन्द्र) वीरेन्द्रनगर नगरपालिका वडा नं. २४ को वडा भेला सम्पन्न भएको छ । बिहीबार भएको भेला आयोजक कमिटी गठन गर्दै सम्पन्न भएको हो ।
भेलाले पर्शुराम कँडेलको संयोजकत्वमा १९ सदस्यीय वडा सम्मेलन आयोजक समिति गठन गरेको हो । आयोजक समितिको सह–संयोजकमा हर्कबहादुर रावत र इञ्चार्जमा तुलबहादुर रावत रहेका छन् । भेलामा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य लोकेन्द्र्र राना, जिल्ला सम्मेलन आयोजक समिति सदस्य बीरबहादुर बुढा र माधव पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
भेलाले एक महिनाभित्र वडा सम्मेलन सम्पन्न गर्नका लागि पार्टी सदस्य नवीकरण गर्ने, संगठन सुदृढीकरण गर्ने निर्णयसमेत गरेको छ ।
भेला पर्शुराम कँडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।