२०७७ कार्तिक ८, शनिबार

रुकुम घटनामा पानीमा डुबि होइन, कुटपिटबाट मृत्यू भएको पुष्टि

सुर्खेत, १७ जेठ ।
रुकुम पश्चिममा जेठ दश गते भएको घटनामा परि ज्यान गुमाएकाहरुको कुटपिटबाट मृत्यू भएको पुष्टि भएको छ । घटनामा मारिएका ५ जना युवाको पोष्टमार्टम रिपोर्टले उनीहरुको मृत्यु कुटपिटबाट भएको देखाएको हो । जाजरकोट अस्पतालमा उनीहरुको पोष्टमार्टम गरिएको थियो । पाँचै युवकको मृत्यु कुटपिटबाट भएको ठहर चिकित्सकले गरेका हुन् । मृतक सबैको टाउको, अनुहारसहित शरीरका विभिन्न अंगमा चोट देखिएको इलाका प्रहरी कार्यालय चोरजहारीका प्रहरी निरीक्षक धर्मसिंह बिष्टले जानकारी दिए ।

‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ,’ पोष्टमार्टममा संलग्न एक चिकित्सकले भने, ‘नदीमा बगे पनि उनीहरुको पेटमा पानी भरिएको छैन ।’ नदीमा डुबेर मृत्यु भएका मानिसले पानी खाएर पेट भरिएको हुनुपर्छ । तर, रुकुम घटनामा मारिने कुनै पनि युवामा त्यस्तो नदेखिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीकी मल्ल थरकी एक किशोरीसँगको प्रेम सम्बन्धमा रहेका जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकसहित पाँच युवाको गाउँलेले कुटेर हत्या गरेका थिए। घटना १० जेठको हो । सोही दिनदेखि एक युवा अझै बेपत्ता छन् । नवराजसँगै गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार र टीकाराम सुनारको शव भेरी नदीमा फेला परेको थियो । घटनामा अर्का युवा गोविन्द शाही अझै बेपत्ता छन् । जाजरकोट अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको छ ।