२०७७ कार्तिक ९, आईतवार

कर्णाली प्रदेश सभा सदस्यद्धारा रुकुम घटनाको छानविन गर्न उच्च स्तरीय समिति गठन गर्न माग

सुर्खेत, १७ जेठ ।
कर्णाली प्रदेश सभा सदस्यहरुले जेठ १० गते पश्चिम रुकुममा भएको विभत्स हत्याकाण्डको छानविन गर्न उच्च स्तरीय छानविन समिति गठन गर्न माग गरेका छन् । कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँच जना सांसदहरुले शनिबार प्रदेश सभाका सभामुख राजबहादुर शाही र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई एक ज्ञापन पत्र बुझाँउदै उक्त माग गरेका हुन ।


‘मिति २०७७ जेठ १० गते पश्चिम रूकुम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँमा सोही गाउँकी मल्ल थरकी युवती र जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४ का नवराज बि.क.ले प्रेम सम्वन्धलाई वैवाहिक सम्वन्धमा परिणत गर्नका लागि केटा पक्षका केही युवाहरू युवतीलाई लिन भनी सोती गाउँ जाँदा युवती पक्षका आफन्तहरूले योजनावद्ध तरिकाले लखेटी–लखेटी नवराज वि.क., टिकाराम सुनार, गणेश वि.एम., सञ्चु वि.क. र लोकेन्द्र सुनारको निर्ममतापूर्वक हत्या गरिएको छ भने अझै एक जना गोविन्द शाही वेपत्ता छन् । अन्य युवाहरूलाई सक्त घाइते बनाइएको छ । यो घटनाको घोर भत्र्सना गर्दछौं ।’ प्रदेश सभा सदस्य सिता नेपाली, राजु गुइदेल, रातो कामी, दानसिंह परियार, झोवा कामीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ, ‘२१ औ शताब्दीमा पनि सामूहिक रूपमा नियोजित किसिमबाट घटाइएको उक्त जातीय विभेदपूर्ण निर्मम सामूहिक हत्याले सिङ्गो सामाजिक वर्ग चरित्रको उदाङ्गो उदाहरण दिएको छ भने उक्त घटनाले सिङ्गो कर्णाली प्रदेशको मात्र होइन अन्तराष्ट्रियस्तरमा नेपालको शिर निहुरिएको छ । उक्त घटनाको जति निन्दा र भर्त्सना गरेपनि कमै हुन्छ । उक्त घटनाले हजारौं उत्पीडितहरूको बलिदानको एकातिर अपमान महशुस भएको छ भने अर्को तिर ब्राम्हणवादी राज्य व्यवस्थाको नाङ्गो चरित्र देखिएको छ । त्यसैले यो घटनालाई कर्णाली प्रदेश सरकारले गम्भीरतापूर्वक लिई प्रभावकारी भूमिका पूरा गर्न अनुरोध गर्दछौं । साथै दोषिलाई हदैसम्मको कारवाहीका लागि जोडदार माग गर्दछौं । उक्त घटनाको सत्यतथ्य अध्ययन, अनुगमन र छानविन गर्न उच्चस्तरीय संसदीय समिति गठन गरी सत्यतथ्य जनसमक्ष ल्याउनकर्णाली प्रदेश सभा समक्ष माग गर्दछौं ।’