२०७७ कार्तिक ३, सोमबार

दैलेखमा मृत्यु भएका युवकमा कोरोना पुष्टि, नेपालमा कोरोनाबाट ७ जनाको मृत्यु

दैलेखमा मृत्यु भएका युवकमो कोरोना पोजेटिभ, नेपालमा कोरोनाबाट ७ जनाको मृत्यु

सुर्खेत । नेपालमा थप १ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ को क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

मृतक १० दिन अघि भारतबाट फर्किएका दैलेख जिल्लाको दुल्लुस्थित विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका थिए ।

स्वास्थ्यमा समस्या देखिए लगत्तै मृत्यु भएका ३५ वर्षीय उनको १५ गते कोरोना परीक्षणको लागि उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

आज (शनिवार) आएको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै उनको मृत्यु कोरोनाको कारण भएको पुष्टि भएको हो । यस अघि नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले उनको स्वाब पठाइएको र रिपोर्ट आउन बाँकी रहेको बताएको थियो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेका हुन् ।

उनको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । जसमध्ये ६ पुरुष र १ महिला रहेका छन् । उनीहरु सिन्धुपाल्चोक, बाँके, गुल्मी, अर्धाखाँची, ललितपुर र बाराका हुन् ।

एकैपटक १८९ जनालाई कोरोना संक्रमण पुष्टि
नेपालमा आज (शनिवार) एकैपटक १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १४०१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नेपालमा एकैपटक १८९ जनालाई संक्रमण भएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १,४०१ पुगेको छ ।

२१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा थप १३ जना स्वास्थ्योपचार पछि निको भएका छन्

। प्रदेश १ मा ३० जना, प्रदेश २ मा १०४ जना, वाग्मती प्रदेशबाट २८ जना, गण्डकी प्रदेशका ३ जना, प्रदेश ५ का ४८ जना र सुदूरपश्चिम प्रदेशका ६ जना डिस्चार्ज भएका हुन् ।

आईसोलेसनमा ११ सय ७६ जना
प्रदेश नम्बर १ मा १३०, प्रदेश २ मा ४४२, वाग्मती प्रदेशमा १५, गण्डकी प्रदेशमा १७ प्रदेश ५ मा ४९६ जना, कर्णाली प्रदेशमा ६१ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी कुल ११ सय ७६ संक्रमित आईसोलेसनमा उपचाररत छन् ।

कुल संक्रमित कहाँका कति छन् ?
प्रदेश नम्बर १ मा ९ वटा जिल्लाका १६० जना संक्रमित भएका छन् । प्रदेश नम्बर २ का सबै ८ जिल्लामा संक्रमण फैलिएको छ भने कुल संक्रमितको संख्या ५४७ पुगेको छ । वाग्मती प्रदेशका १२ जिल्लामा संक्रमण फैलिएको छ भने संक्रमितको संख्या ४५ पुगेको छ । गण्डकी प्रदेशका ५ जिल्लामा संक्रमण फैलिएको छ भने कुल संक्रमितको संख्या २० पुगेको छ । प्रदेश ५ का ९ जिल्लामा संक्रमण फैलिएको छ भने संक्रमितको संख्या ५४७ जनामा संक्रमण फैलिएको छ । कर्णाली प्रदेशका ३ जिल्लाका ६१ जनामा संक्रमण फैलिएको छ । सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा संक्रमण फैलिएको छ भने २१ जना संक्रमित भएका छन् । यसरी कुल संक्रमितको संख्या १४ सय १ पुगेको हो ।

संखुवासभामा पहिलोपटक कोरोना पुष्टि
संखुवासभामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज गरिएको स्वाब परीक्षणमा संखुवासभाका २ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । कोशी अस्पताल विराटनगरमा गरिएको स्वाब परीक्षणमा संखुवासभाको खाँदबारी एक २३ वर्षका पुरुष र संखुवासभाको पाँचखपनका एक २२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालका कुल ७७ वटा जिल्ला मध्ये ५३ वटा जिल्ला र सातै प्रदेशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

कपिलवस्तुमा थप ७७ जनामा कोरोना पुष्टि
कपिलवस्तुमा आज मात्र थप ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । हिजो ५२ एकैपटक संक्रमति भएको कपिलवस्तुमा आज थप ७७ संक्रमित भएपछि संख्या २ सय ६५ पुगेको छ ।जिल्ला स्वाथ्य कार्यालय कपिलवस्तुका अनुसार थपिएका संक्रमितहरु जिल्लाको महाराजगञ्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन् । यस्तै कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुषमा संक्रमणको पुष्टि भएको छ ।

थप १३ जना डिस्चार्ज
नेपालमा आज थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या २ सय १९ जना पुगेको हो । टेकु अस्पतालबाट बूढानीलकण्ठका ३८ वर्षिय पुरुष र टोखाका ४१ वर्षिय पुरुष डिस्चार्ज भएका छन् । उनीहरु दुबैजना संक्रमण देखिएको ५ औं दिनमा डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए । त्यस्तै, कोभिड युनिफइाड अस्पताल बलम्बुबाट ९ जना डिस्चार्ज भएका छन् । अछाम जिल्ला भइ बाँकेका ३२ वर्षिय पुरुष १६ औं दिनमा डिस्चार्ज भएका प्रवक्ता देवकोटाले बताए ।

त्यस्तै, रुकुम घर भएका ललितपुरका १ जना २६ वर्षिय पुरुषले पनि कोरोना जितेर घर फर्किएका छन् । उनी पनि डिस्चार्ज कोभिड युृनिफाइड असपताल बलम्बुबाट डिस्चार्ज भएका छन् ।

यस्तो छ हालसम्म डिस्चार्ज हुनेको प्रदेशीक विवरण

प्रदेश १            –     ३० जना,
प्रदेश २-          –    १०४ जना,
वाग्मती प्रदेश     –   २८ जना,
गण्डकी प्रदेश     –  ३ जना,
प्रदेश ५             –   ४८ जना
सुदूरपश्चिम प्रदेश  – ६ जना