२०७७ कार्तिक ३, सोमबार

झुट फैलाउँदै कर्णालीको सामाजिक विकास मन्त्रालय, मरेपछि स्वाव लिइएको झुटो दाबी, सूचना दिएको भन्दै दुल्लु अस्पताल प्रमुखलाई महाशाखा प्रमुखको धम्की

सुर्खेत, १७ जेठ ।
दैलेखको दुल्लुस्थित किर्तीखम्बमा रहेको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय पूर्णबहादुर थापाको कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको छ तर कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले मृत्यू पछि स्वाव संकलन गरेको झुटो विवरण दिएका छन् ।
‘आज विहान उहाँको मृत्यू पछि हामीले स्वाव संकलन गरेका थियौं । तयो स्वाव जुम्ला पठायौं । दुइ घण्टामा पीसिआरको रिर्पोट आयो । उहाँको स्वाव जाँच्दा कोरोना पोजेटिभ आयो ।’ उनले भने, ‘हामीले गाडीमा स्वाव पठाएका हौं ।’ उनले न त गाडी नम्बर खुलाउन चाहे न त स्वाव संकलन गर्ने व्यक्तिको नाम दिन सके । ‘स्वास्थ्यकर्मीको नाम उल्लेख गर्न मिल्दैन ।’ उनले भने, ‘हामीले आजै स्वाव संकलन गरेर आजै रिर्पोट आएको हो । विज्ञप्ती सहि छ ।’ डा. तिवारीले दुल्लु अस्पताल प्रमुखलाई जानकारी नदिन धम्की समेत दिएका छन् । उनले सहि सूचना नदिन अस्पताल प्रमुख डा पूजा विसीलाई धम्की दिएका हुन ।
यता, क्वारेन्टाईनमा रहेकाहरुको हेरचाह गर्दै आएको दुल्लु अस्पतालले भने जेठ पन्ध्र गते मात्रै स्वाव संकलन गरिएको जनाएको छ । ‘दैलेख जिल्ला अस्पतालको समन्वयमा स्वास्थ्यकर्मीले जेठ पन्ध्र गते उनको स्वाव संकलन गरेका हुन ।’ उनले भनिन्, ‘त्यसको रिर्पोट आज मात्रै आएको हो । उहाँमा कोरोना पोजेटिभ देखिएको छ ।’


दुल्लु नगरप्रमुख घनश्याम भण्डारीले १५ गते मात्रै उनको स्वाव संकलन गरिएको बताए । ‘कतिचोटी भनौं, १५ जेठमा मात्रै स्वाव लिएका छौं ।’ उनले भने ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिवार गरिएको स्वाब परीक्षणमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मीनारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवाको रिपोर्ट पोजेटिभ आएको पुष्टी गरे । उनकाअनुसार दुल्लु नगरपालिका–११ कालभैरव घर भएका ३५ वर्षीय युवा भारतको गुजरातबाट केही दिन अघि फर्किएका थिए ।
दुल्लु नगरपालिका–७ किर्तीखम्बस्थित रहेको क्वारेन्टाइनमा बसिरहेका युवा उनी एक्कासी ढलेका थिए । ‘उनी भारतको गुजरात राज्यको अहमदावादमा रहेको एक होटलमा काम गर्दै आइरहेका थिए । हामीले उनलाई नगरपालिकाको पैसामा उद्धार गरि ल्याएका थियौं । उहाँलाई बचाउन सकिएन ।’ नगर प्रमुख घनश्याम भण्डारीले भने, ‘उनीसँगै क्वारेन्टाईनमा अब ७८ जना बसिरहेका छन् ।’ उनका अनुसार मृतक युवाको एक छोरा र एक छोरी छन् । उनको पारिवारिक अवस्था मध्यम खालको भएको नगर प्रमुख भण्डारीको भनाई छ । ‘उहाँको मृत्यू भइसकेको छ । हामी कोरोनाको अन्तिम रिर्पोटको प्रतिक्षामा बसेका थियौं ।’ उनले भने, ‘नेपाली सेनाको सहयोगमा नगरपालिकाले उनको शवको व्यवस्थापन खाल्डो खनेर गर्नेछ । हामी ती युवाको शवको व्यवस्थापनमा लागिरहेका छौं । आजै हिन्दु धर्मअनुसार उनको अन्तिम दाहसंस्कार हुन्छ ।’ नगरप्रमुख भण्डारीले नगरपालिकाले हालसम्म २३ सय नागरिकलाई भारतबाट ल्याएको बताए । अस्पतालका प्रमुख डा. पुजा विसीले पोजेटिभ नै आएको बताईन । ‘मैले सूचना पाए अनुसार उहाँमा लक्षण केहि पनि थिएन । दुइ दिन अगाडी मात्रै स्वाव लिइएको थियो । विहान चिया र विस्कुट मात्रै खानु भएको हो । सवा आठ बजे मलाई खबर आएको थियो । हामी एक घण्टा ढिलो पुगेका थियौं । उहाँ जीवित नभएको ठानेर म मात्रै उहाँको नजिक गएँ ।’ डा. विसीले भनिन्, ‘विद्युतको भवनको बीचमा एक कोठामा मात्रै उहाँ बसिरहनु भएको थियो । कोठा सिंगल थियो । अन्य दुइ जना मात्रै उहाँसँग बसिरहेका थिए । सानो भवनमा भएका कारण धेरैको जाँच गर्न नपर्ने हाम्रो अनुमान छ । ती दुइ जनाको स्वाव आगामी दुइ दिनमा फेरि जाँच गर्छौं ।’