२०७७ कार्तिक ५, बुधबार

दरवार हत्याकाण्ड : को थिए भविष्यवाणी गर्ने जोगी ? 

जगत नेपाल

श्रीहर्षबाट आफ्नो काम नहुने बुझेपछि खत्री भन्न थाले – ‘‘ठीक छ मेरो काम त गरिदिनु भएन । ऋणले म थला परेँ । तपाइँले सुन्नु भएन । त्यसो भए भारतबाट एकजना नामुद जोगी आएका छन्, भविष्यवाणी गर्न माहिर । एक एक कुरा मिलाउँछन् । तपाईँलाई भेट्ने भन्दैछन् । समय मिलाउनुस्, मसँग हिँड्नुस्, भेटाउँछु ।’’
श्रीहर्षले भने – ‘‘कता जोगी (ज्यौतिषी) भेट्न जाने यार ! म परेँ आईटीको मान्छे । ज्योतिषीमा विश्वास छैन । किन भेट्नु ।’’ मनमनै उनी सोच्न थाले ‘‘कतै ज्योतिष भेटाउने बहानामा आफ्नो ऋण मिनाह गर्न मलाई प्रभावित गर्ने रणनीति त होइन ।’’

खत्रीले धेरै कर गरेपछि श्रीहर्ष जोगी भेट्न राजी भए । त्यो घटनाबारे श्रीहर्षले लेखकलाई सुनाए – ‘‘उसले धेरै कर गरेपछि मैले हुन्न भन्नै सकिन ।’’  कल्याणले श्रीहर्षलाई सरासर बालाजु औद्योगिक क्षेत्र नजिकै आफ्नो घरमा पुर्‍याए । दक्षिण भारतबाट आएका जोगीसँग उनको त्यहीँ भेट भयो ।

श्रीहर्षलाई भेट्नासाथ जोगीले भने– ‘‘ देखिए, दो हप्ते के अन्दर शुक्रवारके दिन दरवारके लोग मारे जा रहे है । देखिए इस वक्त आपके चाचा प्रधानमन्त्री है । उनके उपर भी बडा एट्याक होनेवाला है । लेकिन मत घबराइए, उनको कुछ नहीँ होगा । सिट छोड्नी होगी । उसके वाद और दस साल जिएंगे वह ।”
श्रीहर्षले लेखकलाई सुनाए – “मलाई उसको भनाइमा खासै विश्वास लागेन । त्यति गम्भीरतापूर्वक लिइन पनि । सानो बुबा अझै दस वर्ष बाँच्नुहुन्छ भन्यो । मेरो अनुहारमा एकोहोेरो हेरेर जोगीले भन्यो – ‘आप को अभि भी विश्वास नही हो रही है न ।’’

श्रीहर्ष चुपचाप बसिरहेका थिए । जोगीले झोलाबाट रातो रंग मिसिएको एक मुठी चामल निकाल्यो । मन्त्र गुनगुनाउँदै सोध्यो – ‘तपाइँको घरमा परेवा आउँछन् ?’

श्रीहर्ष : आएको त थाहा छैन !

जोगी : हो मैले भनेको सत्य हो होइन, तपाईँले थाहा पाइहाल्नु हुनेछ । अब हेर्नुहोला । तपाईँको घरमा १३ वटा परेवा आउनेछन् ।  घरमा परेवा जति बढ्ने छन् तपाइँको त्यति नै उन्नति हुनेछ ।

श्रीहर्ष : छक्क पर्दै मनमनै (अब के उन्नति, कस्तो उन्नतिको कुरा गरेको होला ? मैले कुनै लाभको पद पाउने हो कि ? पैसा कमाउने हो कि ?)

जोगी : ठीक छ । घर जानू । मैले भनेको कुरामा ध्यान दिनू । तपाईँको देशमा ठूलो दुर्घटना हुनेवाला छ । आफ्नो काका (प्रधानमन्त्री) लाई एलर्ट गराउनु होला ।

कुराकानी चलिरहँदा खत्री बाथरुमतिर लागे । जोगी बर्वराउँदै भन्न थाले ‘यो कल्याणको पनि धेरै दिन छैन, अब अरु केही महिनाभन्दा बढी बाँच्दैन ।’

उसको कुरा सुनेर श्रीहर्ष छक्क परे । लाग्यो ‘ल जसको घरमा बसेको छ, उसैलाई बाँच्दैन पो भन्छ बा !’

त्यसपछि श्रीहर्षले जोगीलाई सोधे – “हैन तपाइँलाई सबै कुरा थाहा छ भने आफैँ राजा र प्रधानमन्त्री (गिरिजावावु)लाई भेटेर यो सबै कुरा किन भन्न सक्नुहुन्न ?”

जोगी : राजा वीरेन्द्रले बोलाएरै त आएको हुँ । बेङलोरबाट । नत्र म जंगलमा बस्ने जोगी अहिले नेपाल किन आउथेँ ?

रानी ऐश्वर्यले निक्कै कर गरेपछि राजाले मलाई बोलाउन लगाएका हुन् युवराज दीपेन्द्र र उनकी प्रेमिकाबीच विवाह सम्भव छ कि छैन भनेर सोध्नलाई ।

जोगी भन्दै थिए– ‘‘राजालाई म कसरी भनू कि तिमी मारिँदै छौ । तर, मैले उनलाई भनेको छु । सरकार पार्टी सरिक नहुनु होला र दरवारमा पनि कुनै पार्टी नराख्नु होला ।’’

ज्योतिष विद्यामा विश्वास नभएका कारण श्रीहर्षले त्यो दिनको घटनाबारे कसैसँग कुरा गरेनन् । पत्नी रुचिरालाई मात्र जोगीले भनेको कुरा सुनाए ।

यस प्रसंगमा २०७२ साल साउन १५ मा श्रीहर्षले लेखकलाई सुनाए – ‘‘घर फर्किएपछि पत्नीलाई मात्र उसको भविष्यवाणी सुनाएँ । गिरिजाबाबुलाई भन्न सकिनँ । कस्तो बौलाहासँग संगत गर्दो रहेछ ? भनिदिनु होला भन्ने डरले । उसलाई भेटेको भोलिपल्टदेखि घरमा परेवा देखा परे । त्यसअघि कहिल्लै मेरो घरमा परेवा देखिएका थिएनन् । रुचिराले जोगीले पठाएको अक्षता परेवालाई दिन भनिन् ता कि तिनको संख्या गन्न सकियोस् ।’’

जोगीले भनेबमोजिम घरमा परेवाको हुल आउन थालेपछि एकाबिहानै श्रीहर्ष बालुवाटारतिर लागे । रिसाए रिसाउनुहुन्छ काका (प्रधानमन्त्री) सबै कुरा सुनाउँछु भनेर । त्यो दिन प्रधानमन्त्री कोइराला निवासबाट बाहिरिइ सकेका थिए । भेट हुन सकेन । देशको प्रधानमन्त्रीको व्यस्तता हुने नै भयो । फेरि कुनै बेला भेट भयो भने भनौँला, भन्दै फर्किए उनी ।

केहीदिन श्रीहर्षले काकालाई भेट्न पाएनन् । विसं २०५८ जेठ १९ गते शुक्रबार राति प्रेम उपाध्यायले आत्तिएर फोन गरे – ‘‘दरवारमा गोली चल्यो रे को को मरे ? राजारानी मरे भन्छन् ।’’  राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष विश्ववन्धु थापाका नातेदार प्रेमको भनाइमा पत्यार लागेन । श्रीहर्षले भनिदिए ‘‘तिमी बौलायौ कि क्या हो ? यो राति खाएर नचाहिने कुरा गर्ने हो ?’’

प्रेम भन्दै थिए ‘‘साँच्चै हो दरबारमा ठूलो घटना भएको छ । तपाईँ पत्ता लगाउनुस् ।’’

श्रीहर्षको दिमाग फन्फनी घुम्न थाल्यो । त्यो जोगीको भविष्यवाणी र उसको हाउभाउ चलचित्रको रिलजस्तै फनफनी घुमिरहेको थियो ।  उनले सीधै बालुवाटारमा फोन लगाए । अनि थाहा भयो – ‘‘दरवारमा ठूलो काण्ड भयो । प्रधानमन्त्रीज्यू दरवारका प्रमुख सचिव पशुपतिभक्त महर्जनका साथ निस्कनु भयो ।’’

बस ! श्रीहर्षको दिमाग बिजुलीको गतिमा घुम्न थाल्यो । आँखामा उही जोगीको अनुहार र भविष्यवाणीमात्र आइरह्यो । शुक्रवार नै दरवारका मान्छे मारिन्छन् भनेको थियो । त्यही भयो ।  श्रीहर्ष सीधै बालुवाटार पुगे । काकालाई भेट्न पाएनन् । फर्किए । मनमा लागिरह्यो – उसले सानोबुवामाथि ठूलो हमला हुनेछ भनेको छ । के होला कसो होला ? रातभर झिमिक्क नसुतेर बित्यो ।

जेठ २० गते बिहान मात्र थाहा भयो । जेठ १९ गते शुक्रवार दरवारमा भएको गोलीकाण्डमा राजा रानीसहित दश जनाको मृत्यु भयो । युवराज दीपेन्द्रको समेत मृत्यु भइसकेको थियो । कृत्रिम श्वास प्रश्वास दिएर राखिएको थियो उनलाई ।

उनै अचेत दीपेन्द्रलाई राजा घोषणा गरियो, अधिराजकुमार ज्ञानेन्द्रलाई राज्य सहायक बनाइयो । नयाँ राजा घोषणा गरिए पनि दीपेन्द्रको राज्यारोहण भएन । राजा कहिल्यै मर्दैन भन्ने परम्पराअनुसार राजाको स्वर्गारोहण हुँदा नयाँ राजाको राज्यारोहणपछि मात्र दाहसंस्कार गर्ने प्रचलन थियो । तर नेपालको इतिहासमा पहिलो पटक त्यो परम्परा भंग भयो ।

जेठ २० गते अपराह्न ४ बजे राजारानीको शव यात्रा सुरु भयो छाउनी अस्पतालबाट । राजारानीको शवको ठीकपछि राज्य सहायक ज्ञानेन्द्र, अनि प्रधानमन्त्रीको मोटर थियो ।  तिनताका प्रधानमन्त्री कोइरालाको चर्को आलोचना भइरहेको थियो । संसद् र सडकमा मात्र होइन आफ्नै पार्टीभित्र पनि संस्थापक नेता भट्टराईले समेत पद छोड्न दबाब दिइरहेका थिए ।

शव यात्रा स्वयम्भु नजिक पुग्दा चर्को नारावाजी सुरु भयो । मानिसको भिडले सडकमा खुट्टा राख्ने ठाउँसम्म थिएन ।  राजा वीरेन्द्रका एडीसी सुन्दरप्रताप राना लेख्छन्– ‘‘शव यात्रा चलाएपछि प्रधानमन्त्रीलाई लक्ष्य गरी भयानक हमाला भयो । बाटोको छेउमा निर्माणाधीन एक चार तले घरमाथिबाट प्रधानमन्त्री चढेको मोटरमा चार पाँच किलोको ढुंगा फालियो । प्रधानमन्त्री वालवाल बचे । तर, छत कच्याककुचुक्क भयो । सुरक्षाकर्मी समेत ज्यान जोगाउन भाग्नुपर्ने अवस्था आइलाग्यो ।

स्थिति काबु बाहिर पुग्यो । मोटरमा प्रधानमन्त्री, अंगरक्षक र ड्राइभर थिए ।  प्रधानमन्त्री बोलेका थिएनन् । अंगरक्षक र ड्राइभरले मनमनै सोचे यति नै रहेछ मरिने नै भइयो ।  मोटरको अघिल्लो सिटमा रहेका अंगरक्षक सुनील श्रेष्ठ प्रधानमन्त्रीसँगै पछिल्लो सिटमा बसे । सुरक्षाका लागि प्रधानमन्त्रीसहित तीनैलाई हेलमेट लगाइयो ।

लगातार ढुंगामुढा भैरहेको थियो । वुलेट प्रुफ मोटरको सिसा पत्रपत्र हुँदै पूरै फुट्यो । प्रधानमन्त्रीको सुरक्षाका लागि प्रहरी महानिरीक्षक प्रदीपशमशेर राणा आफैँ प्रधानमन्त्रीको मोटरको अघिल्लो सिटमा (अंगरक्षक बस्ने) बसे ।

प्रधानमन्त्री कोइरालाविरुद्व नारावाजी गर्दै ढुंगा प्रहार हुन थालेपछि असुरक्षा महसुस गरेर गृहमन्त्री रामचन्द्र पौडेलसहित अधिकांश मन्त्रीहरु ज्यान जोगाउन शवयात्रा छोडर भागे ।  रामकृष्ण ताम्राकार, सुरेन्द्र चौधरी, महेश आचार्य भने अन्तिम समयसम्म प्रधानमन्त्रीसँगै थिए ।  उनीहरुले प्रधानमन्त्रीको मोटरतर्फ हेरे । बुलेट प्रुफ मोटरका सबै सिसा फुटिसकेका थिए, प्रधानमन्त्रीको काख र सिटमा इटा, ढुंगा, र सिसाका टुक्रा देखिए । टाउकोमा हेलमेट लगाए पनि प्रधानमन्त्री कोइरालाको ज्यान खतरामा थियो ।

अराजक र उद्दण्ड मानिसहरु फुटेका सिसाबाट लाठी छिराएर प्रधानमन्त्रीलाई घोच्ने प्रयास गर्दै थिए । त्यही वेला प्रधानमन्त्रीको विशेष सुरक्षाका हेर्ने जिम्मेवारी पाएका सई महेन्द्र मरासिनीले पहिलो हवाई फायर गरे । त्यसपछि उनले लगातार सात फायर खोले । मोटरको अघिल्लो सिटबाट प्रहरी महानिरीक्षक राणा आदेश दिँदै थिए – ‘फायर फायर ।’

अनि डीएसपी मिलन बस्नेतले समेत फायर खोले । स्थिति नियन्त्रणमा नआएपछि अंगरक्षक (क्याप्टेन) सुनील श्रेष्ठ एक हातले प्रधानमन्त्री कोइरालाको कम्मरमा समाएर जिउको सुरक्षा गर्दै अर्को हातले हवाई फायर गर्न थाले ।

त्यतिबेला चार तल्ला माथिबाट ढुंगा खसाउन लागेका एक युवकतर्फ श्रेष्ठको आँखा पुग्यो । चेतावनी दिँदै श्रेष्ठले रिभल्वर देखाए ‘…तँलाई उँडाई दिऊँ ?’ प्रधानमन्त्रीले भने – ‘गोली नचलाऊ है । गोली नचलाऊ ।’ श्रेष्ठले हवाई फायर खोलिरहे । गोलीको आवाजले शव यात्रा रणमैदान जस्तो बन्न पुग्यो ।

त्यो घटनाबारे प्रधानमन्त्रीका निजी सुरक्षाकर्मी महेन्द्र मरासिनीले लेखकलाई सुनाए – ‘स्थिति कति भयानक भइदियो भने बल प्रयोग नगरे उहाँको ज्यान जाने खतरा आइलाग्यो । कुनै विकल्प नभएपछि बाध्य भएर हामीले फायर खोलेका हौँ । घटनामा २१ राउन्ड हवाई फायर भएको थियो । फायर खोल्दासमेत स्थिति नियन्त्रणमा आएन । सुरक्षाकर्मीहरु भन्न थाले हैन – अब त गोली पनि सकियो के गर्ने ?’

प्रधानमन्त्रीको सुरक्षा खतरा, ज्यानै जान सक्ने तहमा पुगेको थियो, विष्णुमती पुग्दासम्म । त्यहाँ पुगेपछि चालक विष्णु लामिछानेले प्रधानमन्त्रीको मोटरलाई सुरक्षित तवरले बालुवाटार पुर्‍याए ।

प्रधानमन्त्री कोइरालाले लेखकलाई सुनाएका छन् – जीवनमा धेरैपटक म माथि आक्रमण भयो । तर यस प्रकारको खतरनाक आक्रमण कहिल्यै बेहोर्नु परेको थिएन । त्यो आक्रमण स्वःस्फूर्त भएको होइन सुनियोजित रुपमा गराइएको हो । त्यो मलाई मार्ने नै योजना थियो ।

राजा घोषणा गरिएको तेस्रो दिन दीपेन्द्रको मृत्युको घोषणा भयो ।  राजपरिषद्ले २२ गते नै ज्ञानेन्द्रलाई सिंहासनमा राख्ने निर्णय गर्‍यो । नया“ राजाका रुपमा ज्ञानेन्द्रले राज्यारोहण गरे । यसरी रोलक्रममा नरहेका ज्ञानेन्द्र दुईपटक मुलुकको राजा हुन पुगे । विसं २००७ सालमा पिता महेन्द्रभन्दा अघि राजगद्दीमा बसेका उनी फेरि भतिजा दीपेन्द्रपछि राजा हुन पुगे ।

श्रीहर्षले सुनाए – ‘‘मैले गिरिजावावुलाई भेट्दासम्म चार दिनको अन्तरमा तीन राजाको नाममा शासन चलिसकेको थियो । सानोबुवा अझै टेन्सनमै हुनुहुन्थ्यो । मैले जोगीसँगको कुराकानी र त्यसपछिका घटनाक्रम सविस्तार सुनाए । उहा“ले भन्नुभयो – ‘‘तैले यो कुरा मलाई पहिल्यै किन नभनेको ? मैले भने – त्यति बेला मलाई डर लाग्यो सानोबुवा तपाइँले श्रीहर्ष बहुलायो कि क्या हो भन्नुहोला भन्ने । डरले भन्नै सकिनँ ।”

दरवार हत्याकाण्डको केही समयपछि कल्याण खत्रीको पनि हृदयघातका कारण निधन भयो । राजारानीको शवयात्रामा प्रधानमन्त्रीमाथि नियोजित आक्रमण भयो । बल्लतल्ल जोगिए । त्यसको एक महिना केही दिनपछि होलेरी घटनामा प्रधानन्त्री कोइरालाले राजीनामा गर्नु पर्‍यो र जोगीले भने झैँ त्यो घटना भएको करिब करिब दश वर्षमै गिरिजाबाबुको निधन भयो । साभार:बाह्रखरी