२०७७ कार्तिक ३, सोमबार

मानिसमा कोरोना जस्तै अन्नवालीमा ‘फौजी’ आतंक, समाधान गर्न सांसद रखालको माग

सुर्खेत, २० जेठ ।
विश्व नै कोभिड १९ बाट त्रसित भइरहेको बेलामा अन्नवालीमा फौजी किरा आतंक छाएको छ । सोमबार बसेको प्रदेश सभा बैठकलाई सम्वोधन गर्दै प्रदेश सभा सदस्य मिनासिंह रखालले कोरोनाले मानिसलाई त्रसित बनाएको, अन्न बालीलाई पनि फौजि किराले त्रसित बनाएको बताईन । ‘महावु गाउँपालिका दैलेखको वडा नं. एक, दुइ र तिनमा किसानले लगाएका मकै रोगले सखाप पारिदिएको छ । अहिले त्यहाँका नागरिक फेरि मकै लगाइरहेका छन् ।’ उनले भनिन्, ‘त्यहाँ कुन रोग लागेको हो माटो परिक्षण गरियोस । प्राविधिक तत्काल पठाईयोस ।’
सांसद मिनासिंह रखालले फौजि किराले सबै बालीनाली सखाप पार्दा समस्या भएको बताईन । ‘एकातीर कोरोना कहर छ । बालीनाली कम उत्पादन भइ भोकमरि आउँछ कि भन्ने चिन्ता छाइरहेको समयमा फौजि किराले बालीनाली सखाप पारिरहेको मैले देखेकी छु ।’ मंगलबार विहान नयाँ नेपालसँग कुराकानी गर्दै उनले भनिन्, ‘त्यहाँको माटो परिक्षण गरि आवश्यक बालीनाली लगाउने वातावरण तयार गरिदिन आग्रह गरेकी छु ।’


भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम र सुर्खेतमा फौजी किराको आतंक छाएको बताईन । ‘पाँच जिल्लामा फौजि किराले आतंक फैलाएको छ । हामीले उक्त किरा मार्नको लागि विषादी सबै कृषि विकास कार्यालयमा पठाइसकेका छौं । त्यस्तो समस्या देखिएको स्थानमा हामी प्राविधिक पठाएर हुन्छ वा अन्य कुनै उपाय गरेर हुन्छ हामी किरा मार्न तयार छौं ।’ मन्त्री केसीले भनिन्, Եजैविक विषादीबाट उक्त किरा नमर्ने भएका कारण विषादी प्रयोग गर्नुको हामीसँग विकल्प देखिएन । म सबै नागरिकलाई के आग्रह गर्दछु भने त्यस्तो देखिएको भए जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गर्नुहोला । त्यहाँ हामीले औषधी पठाइसकेका छौं ।’ मन्त्री केसिले लकडाउन भएतापनि किसानका समस्या समाधान गर्न मन्त्रालय तयार भएको बताईन ।