२०७७ माघ ५, सोमबार

बिजुली बक्यौता रकम असुली गरी तिर्ने थिति बसाल्छु: उर्जामन्त्री

timthumb (1)काठमाण्डौ, भाद्र १७ ।  विद्युत महशुल रकम पूर्णरुपले असुली नभएसम्म विजुली लाइन काट्ने अभियान नरोकिने उर्जा मन्त्री जनार्दन शर्माले बताएका छन्। सरकारी र निजी संस्थाहरुले महशुल बापत विद्युत प्राधिकरणलाई तिर्नुपर्ने रकम अरबौं पुगेको र बेथितिको हद नाघेको भन्दै यस सम्बन्धमा आफूले अत्यन्तै कडा कदम चाल्ने निर्णय गरेको शर्माको भनाइ छ।

‘विद्युत महशुल सबैले तिर्नुपर्छ भन्ने थिति बस्नुपर्‍यो र अहिलेसम्मको बक्यौदा रकम उठ्नु पर्‍यो,’ उर्जा मन्त्री जनार्दन शर्माले सेतोपाटीसँग कुरा गर्दै भने, ‘सबै रकम असुली नभएसम्म हामीले सुरु गरेको अभियान रोकिंदैन।’

उर्जा मन्त्रालयको निर्देशनमा आज नै प्राधिकरणले पूर्व राजा ज्ञानेन्द्र बस्दै आएको नागार्जुन दरवबरको पनि बत्ति काटेको छ। सरकारले अहिलेसम्म ३९७७ वटा लाइन देशभरी काटिसकेको छ र त्यसबाट२० करोड ४८ लाख ५२ हजार रुपैयाँ उठ्नु पर्नेछ। लाइन काट्ने अभियान सुरु गरेदेखि अहिलेसम्म सरकारले ८ करोड रुपैयाँ अशुली गरेको मन्त्री शर्माले बताए।

बिद्युत महशुल तिर्ने सम्बन्धमा सबैभन्दा बढी सरकारी कार्यालय नै चुकेको भन्दै त्यस्ता सबै सरकारी कार्यालयहरु आफ्नो मन्त्रालयको निसानामा पर्ने शर्माको दावी छ। ‘विधी र पद्दतिमा सबैभन्दा सचेत रहनुपर्ने सरकारी निकायले नै रकम नतिरेपछि कसरी विधी र पद्दति बस्लारु’ शर्माले भने, ‘अब बाध्य पारेर भएपनी उनीहरुले तिर्नुपर्ने रकम असुली गर्ने र र समयमा नै तिर्ने थिति बसाउने हो।’

आफ्नो कर्तब्य र दायित्वबाट पन्छिने र भनसुन मार्फत् विद्युत उपभोग निरन्तर गर्दै जाने परिपाटी अन्त्य गर्न आफूले कुनै कसर बाँकी नराख्ने शर्माको दावी छ। ‘सरकारी निकायको बक्यौदा रकमको बारेमा बैठक डाकेको छु। त्यसपछि उनीहरुले तिर्ने हो वा हामीले कस्तो कदम उठाउनु पर्ने हो भन्ने सम्बन्धमा निर्क्यौल हुन्छ,’ शर्माले भने,’सरकारी निकायले तिर्नुपर्ने रकम त अरबौंमा छ। समस्याग्रस्त छ।’

उनका अनुसार काठमाडौं नगरपालिकाले तिर्नुपर्ने रकम नै करिब ८२ करोड छ। उनले स्थानीय साना उपभोक्ता विरुद्ध भने सरकारले कडा कदम नचाल्ने बताए। ‘उनीहरुले रकम तिरिरहेका हुन्छन् र केही ढिला भएको पनि हुनसक्छ,’ उनले भने, ‘त्यस्ता उपभोक्तालाई केही समय दिएर तिराउने हाम्रो नीति छ।’

                                                          सेतोपाटीबाट