२०७७ कार्तिक ८, शनिबार

कर्णालीका मिनि संसद सक्रिय बन्दा मन्त्रीलाई जवाफ दिनै ठिक्क, कोरोना संक्रमणले बनायो दिक्क !

सुर्खेत, २७ जेठ ।
कर्णाली प्रदेश सभाका सामाजिक विकास समिति, प्रदेश मामिला तथा विधायन समिति, आर्थिक श्रोत समितिलगायतका समिति सक्रिय बन्दा मन्त्रीलाई जवाफ दिन विहानी समय ठिक्क हुने गरेको छ । प्रदेश सभाको जेठ २६ गते सरकारका सामाजिक विकास मन्त्री दल रावललाई प्रदेश मामिला तथा विधायन समितिले कोरोना संक्रमण, रोकथाम, तयारी र चुनौतिबारे प्रष्किरण लिएको थियो । सोही प्रदेश सभाका सामाजिक विकास समितिले सोमबार उनलाई बोलाई अहिलेसम्म कोरोना रोकथामको तयारी, अवस्था, आगामी कार्ययोजना, बजेटलगायतका विषयमा जानकारी लिएको हो ।
को सांसदले के भने ?
समितिका सदस्य पदमा खड्काले कर्णालीमा कोरोना भयावह रुपमा फैलिंदा समेत कर्णालीलाई संघीय सरकारले नहेरेको आरोप लगाईन । सत्तारुढ दलकै सांसद खड्काले क्वारेन्टाईनमा बसेका सबै नागरिकले राज्यले नै खानपान देखि सबै जिम्मा लिनुपर्ने धारणा राखिरहेको बताउँदै सरकारले उनीहरुलाई पर्याप्त जनचेतना जगाउन नसकेको बताईन । उनले प्रदेश वासीकालागि सम्वोधन आवश्यक भइसकेको बताउँदै कर्णालीवासीलाई कोरोना जाँचको बारेमा धैर्य हुन आग्रह गर्न मन्त्री रावललाई अनुरोध गरिन । ‘रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालले सल्यानका विरामीको उपचार गर्न नमानेको कुरा आएको छ । प्रदेश सरकारले बजेट पनि दिइसकेको छ । थप बजेट दिने तयारी गरेको सुन्नमा आएको छ ।’ उनले भनिन्, ‘नीजि भन्दा सरकारी अस्पतालको क्षमता विकास गर्न सरकार लागि परोस । भोली अख्तियार वा अन्य कसैले सरकारले गल्ती गरेको भनेर औंला नठड्याउन ।’
सांसद ठम्मर विष्टले कोरोना संक्रमित विरामी र शव वोक्ने एम्ुलेन्स र शववाहनको तत्काल व्यवस्थापन गर्न आग्ह गरे । उनले अन्य कारणले नागरिकलाई ज्वरो आएको खण्डमा उपचार नहुने अवस्था कर्णालीमा देखिएको बताउँदै यस्तो समस्या समाधानकालागि आवश्यक पहल गर्न निर्देशन दिए । उनले कोरोना भन्दा पनि अरु कारणले नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएको बताए । यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको उनको टिप्पणी छ ।
सांसद कृष्णा शाहले सरकारले बाहिरी रुपमा तयारी तीव्र गरेपनि मसिनो गरि कोरोना रोकथामको तयारी नगरेको जस्तो देखिएको बताईन । ‘हामीले आकाशका तारा गनिसकेका छौं तर हाम्रै अगाडकिो खाल्डो देखिइरहेका छैनौं ।’ उनले भनिन्, ‘सरकारले भारतमा कोरोना फैलिएको खबर सुनेको समय देखि नै आवश्यक मसिनो तयारी सुरु गर्नुपथ्र्यो त्यो हुन सकेको छेन । यद्यपी अन्यत्रको भन्दा सरकारले राम्रो काम गरेको छ ।’ निमोनिया, श्वासप्रश्वासका रोगीहरु कर्णालीमा धेरै भएको बताउँदै सांसद शाहले समूदायमा कोरोना फैलन नदिन आग्रह गरिन ।
सांसद शुसिल थापाले प्रदेश सरकारले नियुक्त गरेका स्वास्थ्यकर्मीलाई अहिलेसम्म सेवा सुविधा किन नदिइएको हो भन्दै प्रश्न गरे । ‘गाउँमा रहेका आइसोलेसन, क्वारेन्टाईनमा उनीहरु नै खटेका छन् । उनीहरु जोखिमपूर्ण अवस्थामा काम गरिरहेका छन् । उनीहरुलाई सेवा सुविधा कहिले दिइन्छ ?’ उनले प्रश्न गरे, ‘अन्य सवालमा अहिले सरकारले सकारात्मक काम गरिरहेको छ । कोरोना नियन्त्रणका लागि सरकारको पछिल्लो कदम सहि छ ।’ बैठकमा सांसदहरु यज्ञ विसी, कौशिल्यावती खत्री, समितिका अध्यक्ष राजु नेपालीलगायतले सरकारले कोरोना रोकथामका बारेमा जानकारी लिएका थिए ।
दुइ हप्तामा तीन सय आइसियु वेड थप्छौंः मन्त्री रावल
सांसदहरुको जिज्ञासाको जवाफ दिदैं मन्त्री रावलले अबको दुइ हप्तामा प्रदेश अस्पतालमा तीन सय आइसियु र भेन्टिलेटर थप गर्न लागेको बताए । ‘कोरोना महामारी सुरु भएको समयमा कर्णालीमा १७ आइसियू र ५ भेन्टिलेटर रहेका थिए । आजको मितिमा आइपुग्दा कर्णालीमा ४४ आइसियू र १७ भेन्टिलेटर वेड तयार गर्न सफल भएका छौं ।’ मन्त्री रावलले भने, ‘प्रदेश भरि नै आइसोलेसन बेड निर्माणको काममा तीव्रता दिएका छौं । केहि दिन भित्रै एघार सय आइसोलेसन वेड तयार हुने भएका छन् । आजसम्म ९०६ बेड तयार भइसकेको छ । जिल्ला अस्पतालमा कम्तिमा पाँच वेड आइसीयु र दुइ बेड भेन्टिलेटर थप गर्न निर्देशन दिएका छौं । त्यो अनुसारको आवश्यक बजेट हामी दिइरहेका छौं ।’


संघीय सरकारले आइसोलेसनमा रहेका विरामीलाई चौध दिनमा जाँच नगरेरै घर पठाउने भनेर निर्देशन दिएपनि आफुहरु त्यो नगर्ने पक्षमा रहेको बताए । ‘हामी आइसोलेसनमा बसेको १३ औं दिनमा स्वाव लिन्छौं । १४ औं दिनमा पीसिआर नेगेटिभ आएको खण्डमा मात्रै हामी उहाँलाई घर पठाउँछौं । नभए १९ औं दिनमा पुनः जाँच गरि पोजेटिभ आएको खण्डमा मात्रै घर पठाउने गरि मातहतका कार्यालयमा निर्देशन दिइसकेका छौं ।’ उनले भने, ‘उहाँहरुमा पोजेटिभ आइसकेपछि कम्तीमा एक्काईस दिन घरमा सुरक्षित बस्ने शर्तमा उहाँहरुलाई घर पठाउने तयारी गरेका छौं ।’
मन्त्री रावलले कोरोना पोजेटिभ देखिएका नागरिकलाई प्रदेश भरि निर्माण भइरहेको २७ वटा आइसोलेसन सेन्टरमा राखिने बताए । ‘लक्षण नदेखिएका तर कोारेना पोजेटिभ देखिएका नागरिकलाई आइसोलेसनमा राख्नेछौं । थोरै लक्षण देखिएको खण्डमा जिल्लामा रहेका आइसोलेसनमा राख्ने र त्यहाँ उपचार सम्भव नभएको खण्डमा मात्रै कोरोना विषेस अस्पतालमा ल्याएर उपचार गर्नेछौें ।’ उनले भने, ‘कर्णालीमा डाक्टरको ८८ प्रतिशत दरवन्दी रिक्त रहेको छ भने ६६ प्रतिशत सबै स्वास्थ्कर्मीको दरवन्दी रिक्त रहेको छ ।
मन्त्री रावलले स्वास्थ्यकर्मी जो फिल्डमा खटेको छ त्यसैले मात्रै सेवा सुविधा पाउने बताए । ‘अहिले हामीले खटिएको नामसहितको विवरण माग गरिरहेका छौं । घरमा बस्नेहरुलाई सेवा सुविधा हामी दिन सक्दैनौं । जोखिमपूर्ण काम गर्ने सबैलाई सेवा सुविधा हामी दिन्छौं । यसमा ढुक्क हुन आग्रह गर्दछु ।’
मन्त्री रावलले जनप्रतिनिधिले आफ्नो स्थानका नागरिकको पीसिआर जाँच गर्न दबाब दिइरहेको बताउँदै प्राथमिकताका आधारमा सबै जिल्लाबाट आएका स्वावको जाँच क्रमिक रुपले गर्दै आइरहेको बताए । ‘नेता, कार्यकर्ता सबैले छिटो भन्दा छिटो स्वावको नतिजा दिन आग्रह गर्दै आइरहेका छन् । प्राविधिक कठिनाइको बारेमा उहाँहरुलाई जानकारी छैन ।’ उनले भने, ‘दैलेख, सुर्खेत, सल्यानलाई पहिलो प्राथमिकता, कसैको मृत्यू भएमा दोश्रो प्राथमिकता र क्वारेन्टाईनमा बसेको १४ दिन पुगिसकेका नागरिकहरुको स्वाव जाँचलाई तेश्रो प्राथमिकतामा राखेर काम भइरहेको छ । यसका अलावा आइसोलेसनमा बसेका नागरिकहरुको पनि स्वाव जाँच गर्दै आइरहेका छौं ।’