२०७७ कार्तिक ७, शुक्रबार

सहर, तँलाइ कस्तो छ ?

सुजाता बस्याल

कविता :

रातका कैयौं प्रहरहरुलाइ पछि पारेर,
उज्यालो निस्कँदा निस्कँदै,
गल्ली गल्लिका छाडा कुकुरहरूको आवाजले थर्कमान हुने तेरो शरीर ,
सुन्दैछु,
आजभोलि ती आवाजहरु नपाएर भित्रभित्रै छटपटाउन लागेको छ रे !
एकपल्ट सोधुँ लाग्यो ,
सहर, तँलाइ कस्तो छ ?

गरीबीको कठोर चट्टान फोर्न नसकी,
बाध्यतामा परदेशिएकाहरुले,
आफ्ना सन्तान पाल्न नसकेको आरोप बर्साउँदै गर्दा,
बलिन्द्रधारा आँसु बगाउने तँ,
सुन्दैछु,
जन्मथलो सुरम्य पार्ने उद्देश्य बोकेर फर्किरहेको देख्दा,
तेरो चाउरिएको अनुहारले चमकता पाएको छ रे !
एकपल्ट सोधुँ लाग्यो,
सहर, तँलाई कस्तो छ ?

सुख, सयल र समृद्धिको खोजीमा,
गाउँबाट सहर पसेकाहरुले,
उद्दम नपाएर रोग,भोक र शोकले आकुलव्याकुल हुँदा,
कसैगरी आश्रय दिने हिम्मत राख्ने तँ,
सुन्दैछु,
भोका पेटहरु उसैगरी मुर्दा बनेको देख्दा
आफैलाइ खुब धिक्कार्छस रे !
एकपल्ट सोधुँ लाग्यो,
सहर, तँलाई कस्तो छ ?

आफ्नो शिक्षाको प्रभावबाट,
अशक्त तेरो उपचार गर्ने रहर बोकेका विद्यार्थीहरु,
असफलताले आत्तिरहँदा,
कैयौं उदाहरण देखाएर पुनः सफलताको सिँढी चढाइदिने तँ,
सुन्दैछु,
आजभोलि तेरो आशाका किरण उनिहरुबाटै खुब घृणा पाइरहेको छस् रे !
एकपल्ट सोधुँ लाग्यो,
सहर, तँलाई कस्तो छ ?

प्रेमको सागरमा डुबिकन,
साथसाथै तैरने वातावरणको व्यवस्था मिलाइ,
प्रणय साटासाटको मौका दिएर,
धेरैको धन्यवादको पात्र बन्न सफल तँ,
सुन्दैछु,
आजभोलि सबैको मनमष्तिष्कबाट उखेलेर फ्याकिँदै छस् रे !
एकपल्ट सोधुँ लाग्यो,
सहर, तँलाई कस्तो छ?

हरेक दिन मानवहरुको ,
ठूलो उपस्थिति पाएर आफुमाथी गर्व गर्ने तँ,
सुन्दैछु,
आजभोलि शुन्यतामै बडो मुस्किलले दिनहरु कटाइरहेको छस् रे !
एकपल्ट सोधुँ लाग्यो,
सहर , तँलाई कस्तो छ ?