२०७७ कार्तिक ६, बिहीबार

सरकार ! जनता सडकमा किन आए ? आर्थिक पारदर्शिताको हिसाब नदिने ?

तिलक पौड्याल / सुर्खेत । विश्वब्यापी रुपमा फैलिरहेको महामारीको रुपमा व्याप्त कोरोना भाइरसका कारण यतिबेला विश्व नै आक्रान्त छ। विश्वभर करिब करोडौंको हाराहारीमा सङ्क्रमण फैलिइरहेको र लाखौको सङ्ख्यामा मानिसले मृत्युवरण गरिरहेको हृदयबिदारक तथ्य सार्वजनिक भइरहेको छ ।

विश्वसामु फैलिरहेको यश महाविपत्तिले हाम्रो देश नेपाल पनि आफ्नो भुमरीमा जेलिरहेको छ।आर्थिक समृद्धिको झिनो आशामा विकासका तारहरुलाई सेल्टेप लगाएर जोड्दै अगाडि बढिरहेको मेरो देश बिडम्बना कोरोनाको सन्त्रासले दशौं/बिसौं बर्षसम्म उठ्न नसक्ने गरि थेचारिन पुग्ने अबस्था नआउला भन्न सकिँदैन। यो कुरा आम नेपाली जनमानसका लागि दुर्भाग्यपुर्ण क्षण हो।

यसबीचमा सार्वभौमसत्ता सम्पन्न देशमा राष्ट्र र राष्ट्रियताको नाममा नेपाली समाजका अनेकन तितो यथार्थ माथी लुकामारी गर्दै भ्रमको जग ठड्याएर सत्यताको संज्ञा दिदै राजनीतिक चलखेल गरिदै आएको छ । जनताको आड र भरोसाले गरिमामय सांसदको बिल्ला ओढी कुर्सीमा बसेर टेबुल ठोक्ने केही आफुलाई राष्ट्रभक्तको पहिचान दिने ब्यक्तित्वहरुबाट नेपाली जनताको रगत र पसिनालाई अबहेलाना गरि बालबालिकाहरुले खेल्ने खेलौना झै प्रयोगको सुत्रपात गरिरहेका छन।

यश विषम परिस्थितिमा नेपाली जनताको बाँच्न पाउने अधिकारप्रती कर्तव्य निभाउनुको सट्टा गाँस,बास,कपास र स्वास्थ्य जस्ता अनिवार्य आबस्यकतालाई अबहेलना गर्दै चुक्न पुगेका छन।नाताबाद र सिद्धान्तबादले ग्रसित यस नेपाली समाजमा ती आवश्यकताहरुको उपयोग उत्पीडनमा परेका ती वास्तविक जनताले माग गरेअनुरुपको पुर्ती हुन सकिरहेको छैन।

नेतागणहरु आफ्नो निजी स्वार्थका लागि तछाडमछाड गरिरहेका छन।केही ब्यक्तित्वहरु छन जो आफ्नो निजी स्वार्थलाई वास्ता नगरी नेपाली जनताको हितमा अहोरात्र आवाज उठाइरहनु भएको छ।चाहे उहाँहरु फरक-फरक सैद्धान्तिक बिचारधाराका किन नहोस उहाँहरुको यस महानताप्रती हृदयदेखि नै मेरो सलाम छ।तर केही त्यस्ता राजनैतिक मोहमा लुत्पुतिएका ती अन्धभक्तहरुद्वारा उखान टुक्काहरुको बिजारोपण गरि पतन गराउन खोजिन्छ।यो अत्यन्तै निन्दनीय छ।

त्यस्तै निश्चय नै स्वास्थ्यभन्दा ठूलो संसारमा कदापी अरु केही छैन।किनकी मान्छे स्वास्थ भएन भने उसको परिवार,समाज र सिङ्गो राष्ट्र नै स्वस्थ रहेको कदापी कल्पना गर्न सकिदैन।तर अहिलेको परिवेशमा जुन स्वास्थ्यप्रती स्वयं नेपाल सरकारबाट नै खेलबाड भैरहेको अबस्था छ।राष्ट्रको एक जिम्मेवार नागरिकको हैसियतले सरकारका कमीकमजोरीहरुलाई औल्याउनु मेरो कर्तव्य पनि हो।मान्छेको जीवन रक्षाको लागि सरकारले लकडाउन जस्तो प्रक्रिया अवलम्बन गर्न लगाउनु एकदमै सह्रानिय कार्य छ।

तथापी विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य परिक्षणको दायरा बढाउन नसक्नु कमजोरी हुन आउँछ।स्वास्थ्य परिक्षणका लागि भरपर्दो स्वास्थ्य सामाग्री पीसिआर लाई बढवा दिन र परिक्षणको अबधिभर बस्नका लागि क्वारेन्टाइनको उचित ब्यबस्थापन हुन सकिरहेको छैन।अझ त झन १० अर्वको स्वास्थ सामाग्री खरिद गरि प्रयोग गरिरहेका छौ भनि हामी जनताहरुको आँखामा कसिङ्गर छप्छपाइरहेको छ।

आर्थिक पारदर्शितालाई लत्याएर सरकार जनताले खाइ-नखाई आफ्नै हीतका लागि दिएको राजस्वको हिसाब माग्दा बेवास्ता गरि मुखदर्शक भै हेरिरहेको छ। के यही हो त आर्थिक पारदर्शिता? समानता? सामाजिक सद्भाव? सहएकता? परिणामस्वरुप आज नेपाली जनता सडक तताउनु परेको छ।यसले सङ्क्रमण फैलिन नसक्ला भन्ने अबस्था आउँछ भन्न सकिदैन। त्यसकारण ए सरकार यसप्रती गम्भीरतापुर्ण ध्यान जाओस।यस्तै नेपाली जनमानसलाई नि मेरो आग्रह छ कि “स्वास्थ हुनु नै जीवनदान हो”भन्ने कुरालाई आत्मसात गरि सुरक्षित रहुँ।अलावा सिङ्गो राष्ट्र नै संकटको भुमरीमा नफस्ला भन्न सकिँदैन।

भेरी नगरपालिका जाजरकोट निवासी लेखक तिलक पौड्याल हाल वीरेन्द्रनगरस्थित सिद्वपाइला क्याम्पसमा स्नातक तह अध्ययनरत छन् ।