२०७७ माघ ४, आईतवार

एस्ओएस्मा तीज विशेष कार्यक्रम

sos danceसुर्खेत, भदौ १८ । यहाँको कालागाउँमा रहेको एस्ओएस् हर्मन माइनर उच्च माध्यमिक विद्यालयले हरितालिका तीज–२०७३ को अवसरमा तीज विशेष कार्यक्रम गरेको छ ।

एस्ओएस् बालग्राम, सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीको प्रमुख आतिथ्यता तथा विद्यालय सह–नायिका सुजाता सुनारको सभापतित्वमा भएको कार्यक्रममा तीज नृत्य प्रतियोगिता भएको थियो । प्रतियोगितामा प्राथमिक तहमा मुना शर्मा प्रथम, सुम्निमा खड्का द्वितीय र स्मृती राना तृतीय भएका छन् ।

यस्तै, निमावितर्फ स्नेहा भारती प्रथम, सुमित्रा न्यौपाने द्वितीय र दिक्षा आउजी तृतीय भएकी छन् । मावितर्फ अस्मिता गरंजा मगर प्रथम, सिर्जना गाहा द्वितीय र विपना थापा तृतीय भएको विद्यालयका शिक्षक महेन्द्र चन्दले जानकारी दिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य हिक्मतबहादुर वलीले स्वागत मन्तव्य दिँदै परम्परा र संस्कृतिलाई जोगाउनुपर्ने र आधुनिकताका नाममा विकृति भित्रन नहुने बताए । यस्तै, प्रमुख अतिथि गिरीले तीज विस्तारै समयअनुसार परिवर्तन हुँदै जानु स्वभाविक जस्तो देखिए पनि अश्लील र अस्वभाविकजस्ता देखिने गीत र नाचले नेपाली संस्कृतिलाई असर पु¥याउने बताए ।

कार्यक्रममा बालग्रामका सह–निर्देशक सुशिलमणि ज्ञवाली, सामाजिक केन्द्रका प्रमुख श्याम क्षेत्री, प्रमुख परामर्शकर्ता निराजन शाही, बालग्रामका आमा प्रतिनिधीहरु लगायत विद्यार्थी, शिक्षकहरुको सहभागिता रहेको थियो ।