२०७७ मंसिर ९, मंगलवार

क्वारेन्टाइनका चुनौति र विकल्पको चर्चा

जितबहादुर शाह

मोवाइलमा रेडियो सुन्दै मर्निङ वाकमा निस्कनु राम्रै ठान्छु म । एकपन्थ दुई काज । शारीरिक हिसावले व्यायाम हुने र मानसिक हिसावले सूचना र खवरसँग अद्यावधिक हुने अवसर पनि मिल्ने । खवरहरु सुखद भए भने त्यसले दिनभर नै सुखद अनुभतिका लागि प्रेरणा पनि प्रदान गर्छन । तर हाम्रो दुभाग्र्य नै भन्नु पर्छ । हामीले मिडियाबाट प्राप्त गर्ने सूचनाहरु त्यति सुखद हुदैनन् ।

यस्तैमा केही दिन अघि पत्रकार नवीन शर्माले इमेज च्यानललाई एकाविहानै साढे पाँचतिरै दैलेखबाट रिपोर्टिङ गर्दै हुनु हुन्थ्यो – ‘दैलेखका क्वारेन्टाइनको अवस्था नाजुक छ । क्वारेन्टाइनमा बस्ने एकजना संक्रमित भएको स्थितिमा पनि उक्त सङ्क्रमण सवैलाई सर्ने स्थिति देखिएको छ । किनभने क्वारेन्टाइनमा हुनुपर्ने आधारभूत कुराहरु पनि पालना गरिएको छैन । क्वारेन्टाइनमा बसेको दुइहप्ता बढि भइसक्दा पनि पिसीआरका लागि स्वाव सङ्कलन गरिदैन र स्वाव सङ्कलन गरिएको दुइहप्ता भइसक्दा पनि स्वावको रिपोर्ट आउदैन ।त्यसकारण पनि क्वारेन्टाइनमा बसेका मानिसहरु आक्रोशित छन् र त्यहाँ बसेका मानिसहरु र प्रहरीको विचमा समेत झडप भएको छ । झडपमा क्वारेन्टाइनमा बसेका चारजना मानिसहरु घाइते भएका छन् ।’

पत्रकार नवीन शर्माकै रिपोर्टिङलाई साभार लिएर भन्नुपर्दा स्वदेश सम्झेर यतिबेला विदेशबाटआएका नेपालीहरु आफ्नै देशमा सिमानाबाटै अपहेलनाको सिकार भएका छन् । उनीहरुकै भनाइ अनुसार उनीहरु सिमानासम्म निश्चित दुरी कायम गर्दै आएको भए तापनि सिमानाबाट स्वदेश फर्कदा भने तीस जनाको सीट भएको गाडीमा साठीजना सम्म कोचेर ल्याएको अवस्था छ ।

विद्यालयमा राखिएका क्वारेन्टाइनमा दूरी कायम गरेर बस्न सम्भवै छैन । सवैभन्दा दुखद कुरा त पिसीआरको रिपोर्ट दैलेख लगायत दुर्गमतिर पन्ध्रबीस दिन पछि आउने र त्यो भन्दा छिटो आरडिटीको रिपोर्ट आउने र उक्त रिपोर्ट भरपर्दो नहुने । आरडिटी रिपोर्ट नेगेटिभ भएकै कारणले क्वारेन्टाइनबाट उक्त व्यक्ति घरमा गइसकेको र पछि आउने पिसीआरको रिपोर्टमा पोजिटिभ देखिएकाले झनै विकराल समस्या देखिएको । त्यस्ता मानिसहरुलाई पुनः खोजी गरेर क्वारेन्टाइनमा ल्याउनका लागि खोजी गर्नुपर्ने अवस्थाको सिर्जना भएको । त्यस्ता मानिसहरु घरमा गएपछि त्यो सङ्क्रमण घरपरिवार र समुदायमा समेत बढ्दै गरेको अवस्था । पत्रकार नवीन शर्माका अनुसार त क्वारेन्टाइनमा भएका सवैलाई सङक्रमण भइसकेको अवस्थामा मानिसहरुको मनस्थिति बनिसकेको । किनभने त्यहाँको परिवेश नै नसर्ने किसिमको हुन नसकेको अवस्था ।

क्वारेन्टाइनमा बेथिति र लापरवाही भएको छ भन्ने कुरा मैले लेखिरहुन पर्छजस्तो लाग्दैन । सवैतिर छरपष्टै भएका छन खवरहरु । कैलालीको लम्कीचुहा नगरपालिकाको वडा न. १ को विद्यालयमा रहेको क्वारेन्टाइनमा त झनै बलात्कारको घटना भयो । क्वारेन्टाइनको खटिएका स्वयम्सेवक र स्वास्थ्यकर्मीबाटै त्यस्तो हरकत भएका कुरा मिडियामा आइसकेको छ । बर्दिया लगायत कतिपय स्थानका सर्पको टोकाइबाट पिडित भएका छन् क्वारेन्टाइनमा बसेकाहरु । कतिले त क्वारेन्टाइनमै आत्महत्या समेत गरेका छन् ।

क्वारेन्टाइनमा बसेकाहरुका निम्ति उचित बासको प्रवन्ध छैन । सँगै जोडिएर, कोचिएर एकअर्कालाई धकेल्दै बस्नुपर्ने अवस्था छ । सीमित शौचालय र खानेपानीलाई लाइनमा पर्खेर प्रयोग गर्नुपर्ने अवस्था छ । नेपालगञ्जबाट दाङ जाने बाटोमा बीस जना अट्ने हाइस गाडीमा भारतबाट आएका तेत्तीस जना मानिसहरुलाई बोकेर जाने क्रममा दूर्घटनामा परेको, कालीकोटमा उन्चालीस जनालाईबोकेर क्वारेन्टाइनमा लैजाने क्रममा टिप्पर कणालीमा खसेर दूर्घटना भएको आदि जस्ता दृष्टान्तहरुले समेत हामी नागरिकप्रति कति गैरजिम्मेवार छौं भन्ने कुराको सहजै पुष्टि गर्दछ ।

क्वारेन्टाइन ९त्तगबचबलतष्लभ० शब्दको ब्युत्पत्तिको कुरा गर्दा यो इटाली भाषाको क्वारिन्टिना ९त्तगबचबलतभलब० शब्दबाट आएको रहेछ जसको अर्थ चालीस दिन हुँदो रहेछ । अर्थात चालिस दिन बस्नु पर्ने । तर कोरोनाको सवाल र हाम्रो सन्दर्भमा कोरोनाको सङक्रमण पुष्टि भएपछि आइसोलेसनमा जानुपर्ने र परिक्षण गर्दा पुष्टि नभएपछि घर जान सकिने अवस्था हो । सामान्यतया १४ दिनसम्म कोरोनाको लक्षण देखिन्छ भन्ने हिसावले न्यूनतम पनि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान हाम्रोमा गरिएको देखिन्छ । तथापि अभ्यास र अनुभवहरुले बताइरहेको छ कि एकमहिनाको अवधि पुगिसम्दा पनि तीनचार पटक चेक गर्दा पनि कोरोना देखिएको तर लक्षण नदेखिएका दृष्टान्तहरु पनि हाम्रोमा देखिएको अवस्था छ ।

कोरोना पुष्टि भइसकेकालाई अस्पतालमा वा आइसोलेसनमा राख्नु पर्नेमा लक्षण नदेखिएका कारण क्वारेन्टाइनमा बसिरहेको अवस्था छ । त्यसैले हाम्रोमा क्वारेन्टाइन र आइसोलेसनको बीचमा भिन्नता छुट्याएर तदनुसारको व्यवस्था गर्न नसकेको अवस्था छ । अर्को कारण भनेको पिसीआरको रिपोर्ट छिटो नआउदा विरामी आइसोलेसनमा नजाँदै क्वारेन्टाइनमै मृत्यु भएको अवस्था छ ।
देशले करिव दुई महिनासम्म लकडाउन गर्दा यसको उपलब्धिभन्दा पनि बर्वादी बढि भयो । लकडाउन गर्ने अवधिमा कोरोना सङक्रमित व्यक्ति एकजना थिए भने अहिले त्यो संख्या सात हजारको हाराहारीमा पुगिसक्यो । पछिल्लो दिनमा त हरेकदिन पाँच सयको हाराहारीमा सङ्क्रमितको संख्या बढिरहेको छ । यसको एउटै कारण भनेको भारतबाट क्वारेन्टाइनसम्म ल्याउने सवारी साधनमा न्यूनतम सावधानी समेत नअपनाउनु र क्वारेन्टाइनको व्यवस्थापनमा लापरवाही हुनु र पिसिआरको रिपोर्ट समयमा नआउनु एवम् आरडिटी विश्वससीय नहुन नै प्रमुख रहेका छन् । मलाई त लाग्छ, क्वारेन्टाइनको व्यवस्थापनमा सुधार गर्न सक्ने होइन भने सङ्क्रमितको संख्या विदेशबाट आएका नागरिक कोही पनि बाँकी रहने छैनन् र उनीहरुबाट समूदायमा फैलिने काम पनि भविष्यमा यो भन्दा तीव्र हुने कुरा निश्चित देखिन्छ । व्यवस्थापन गतिलो नहुँदा सरकारले खर्च गरेको दश अरबको बजेट पनि बालुवामा पानी हालेझै निरर्थक बनिरहेको छ ।

मृत्यु भइसकेपछि पिसीआरको रिपोर्ट आउनु यसको एउटा लज्जास्पद दृष्टान्त हो । जव कि त्यो रिपोर्ट मानिसलाई मृत्युबाट जोगाउनर रोग फैलिनबाट बचाउन सहयोगी हुनुपथ्र्यो ।
मुलुकका करिव साठी प्रतिसत विद्यालयहरुमा क्वारेन्टाइनको व्यवस्थापन गरिएको छ । जुन जुन विद्यालयहरुमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ, त्यस्ता विद्यालयहरुमा आषाढ १ गतेदेखि विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गर्ने कार्यमा बाधा पुगिरहेको छ । मलाई त लाग्छ, क्वारेन्टाइनको व्यवस्थापनमा सुधार गर्नसक्ने होइन र क्वारेन्टाइनमा राखेको व्यक्तिलाई देखाएर मुुलुकको बजेट सक्ने खेलखण्ड मात्रै गर्ने हो भने त्यो जस्तो दुर्भाग्य यो देशका निम्ति अरु केही हुने छैन । क्वारेन्टाइनमा सामान्य सावधानी पनि नअपनाउने, विदेशबाट आएका सवैलाई एकैठाउमा कोचेर कोरोना नभएकालाई पनि कोरोना सर्ने गरी बसाइ र यातायातको व्यवस्था गर्ने हो भने किन बस्ने क्वारेन्टाइनमा ?किन चढ्ने त्यो यातायातको साधन ?झाडापखाला लागेर पानी खान नपाइ क्वारेन्टाइनमा मृत्यु हुने हो भने किन चाहियो क्वारेन्टाइन ? सुरक्षा होला र बाँचिएला भनेर बसेको ठाउमै इज्जत लुटेर बलात्कृत हुने हो भने किन चाहियो क्वारेन्टाइन ? मनोसामाजिक परामर्श पाइएला भनेर गएको क्वारेन्टाइनमै आत्महत्या गर्नुपर्ने हो भने किन जाने क्वारेन्टाइन ?

मलाई त भन्न मन लागेको छ, अव तुरुन्त रोग सार्ने क्वारेन्टाइनहरु बन्द गरिनुपर्दछ । यस्ता क्वारेन्टाइन बन्द भए भने सरकारले उनीहरुको नाममा खानाखाजा वापत खर्च हुने रकम पनि बचत हुनेछ । अव होम क्वारेन्टाइनको रुपमा आफ्नै घरमा क्वारेन्टाइनका नियमको पालना गर्दै बस्ने व्यवस्था गरिनु पर्दछ । घरमा नियम पालना हुने सम्भावना अत्यधिक छ । किनभने त्यहाँ नियमकानून र सरकारले भन्दा पनि मायाप्रेम र सम्बन्धले काम गर्दछ । आफूमा कोरोना सङ्क्रमित भएको आशंका भएपछि घरमा गएर आफ्ना परिवारका सदस्यहरुलाई जानी जानी सारेर मृत्युको मुखमा पु¥याउने कुचेष्ठा कसैको पनि हुदैन बरु बचाउने हुन्छ । अहिलेका क्वारेन्टाइनमा जस्तो सम्बन्धको हिसावले खडेरी र भावनाको हिसावले लोभलालच घरको क्वारेन्टाइनमा अवश्य पनि हुदैन । बरु होम क्वारेन्टाइनमा मानिसहरुको अभिलेख राखेर उनीहरुको अनुगमन गर्ने र उनीहरुमा उत्साह र चेतना भर्ने काम शिक्षक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुले गर्नुपर्दछ । उनिहरुको रिपोर्ट पोजिटिभ देखियो भने आइसोलेसनमा तोकिएका शर्तहरुको पालना गर्दै उचित व्यवस्थापन गरी राख्नुपर्दछ । यसो गर्न सकियो भने तोकिएका शर्त बन्देजहरु पालना गर्दै विद्यालयहरुलाई पनि आफ्ना क्रियाकलापहरु सञ्चालन गर्न सहज हुने देखिन्छ ।
हामीले पुगनपुगन तीन महिना लकडाउन गर्दा यसबाट जति फाइदा भयो त्यो भन्दा नोक्सानी बढि भएको विज्ञहरु बताउछन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा एक दिनमा करिव बारह सय मानिसहरु आत्महत्या गरेर मर्दा रहेछन् । त्यति संख्या त लकडाउनको अवधिमा हाम्रो मुलुकमा पुगिसकेछ । जव कि कोरोनाबाट मृत्यु हुनेको संख्या बाइस रहेको छ । लकडाउनले कति क्षति ग¥यो भन्ने कुरा त पूजीगत बजेट खर्च गर्न बन्द गरे पनि सरकारमा रहेको ढुकुटीले कर्मचारीलाई तलव खुवाउन नपुग्ने स्थिति भइसकेको छ । विश्लेषक उपेन्द्र अधिकारीको शब्दमा भुइमा खसेको कनिका बटुल्ने लोभले पोल्टामा भएको चामल नै खसेर सकिने खतरा भइसक्यो । बरु यसको सट्टा नागरिक

मा कोरोना विरुद्धको होसियारी र प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्नतिर लाग्नुपर्छ । हाम्रो जस्तो विपन्न मुलुकले लकडाउन भन्दा पनि हर्ड इम्यूनिटीको शैली अपनाउनु पर्ने देखिन्छ ।
गरीव छौं भन्दैमा विश्व स्वास्थ्य संगठनले निषेध गरेको आरडिटी टेष्टको भरविश्वास गर्ने अवस्था देखिएन । धनी देशको सिको गरेर हाम्रो जस्तो विपन्न देशले लकडाउन र पिसिआर टेष्टलाई जीवनशैली भित्र प्रवेश गराउने चेष्टा ग¥यौं भने पनि मुलुकलाई धराशायी बनाउन यही नै पर्याप्त हुने देखियो । बरु सरकारले जारी गर्न खोजेको होम क्वारेन्टाइनको प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनुपर्दछ । कसले सिकायो हामीलाई सामाजिक दूरी कायम गर्ने कुरा ? हुनेखानेहरुले भनेको जे कुरा पनि उचित ठान्ने चिन्तन कहिलेसम्म रहने हो ? सायद यसैले होला, हामीले सङ्क्रमितलाई अनावश्यक रुपमा छिः छिः दूरदूर गरिरहेका छौं । म त भन्छु भौतिक दूरी कायम राख्दै सामाजिक दूरी शुन्य गरेर सम्बन्ध बढाउने सवालमा गम्भीर हुनु जरुरी छ । कोरोना भाइरससँग हामीले महिनौं अथवा वर्षौैंसम्म बस्नुपर्ने हुनसक्छ । त्यसैले भयाक्रान्त भएर जीवनलाई लकडाउनको माध्यमबाट निरर्थक बनाएर होइन कि सत्यतालाई स्वीकार गरेर सावधानी अपनाउदै उपलब्धिमूलक किसिमले निर्भिकतापूर्वक बाँच्न सिक्नुपर्ने देखियो ।सवैलाई चेतना भया ।