२०७७ माघ ४, आईतवार

स्ववियु निर्वाचन प्रकरण छानविन समिति गठन नगरे तालाबन्दी

download-1सुर्खेत, भदौ १८ । यही भदौ १२ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भएको स्ववियु निर्वाचनलाई लिएर विश्वविद्यालयमा कार्यरत विभिन्न ५ विद्यार्थी संगठनहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

ति संगठनका अध्यक्षका उम्मेद्वारहरुले विश्वविद्यालयमा निर्वाचन धाँधली भएको र सो धाँधलीका विषयमा विश्वविद्यालय प्रशासनसमक्ष छानविन गर्न माग गर्दा पनि नगरेको भन्दै आक्रोशसमेत पोखेका छन् ।

सो निर्वाचनका विषयमा आफूहरुले आवश्यक छलफल गरी निष्कर्ष निकाल्न चाहेको र सोही बमोजिम छलफल गर्न समय माग्दा पनि पदाधिकारीहरुले बेवास्ता गरेको भन्दै कडा आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् । उनीहरुले १९ गतेभित्र निष्पक्ष छानविन नगरे २० गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने जनाएका छन् ।

त्योसँगै स्ववियुका कुनै पनि कार्यक्रममा आफूहरु सहभागी नहुनेसमेत ति विद्यार्थी संगठनहरुले जनाएका छन् । यसरी विज्ञप्ती प्रकाशित गरी विरोध गर्नेहरुमा अखिल क्रान्तिकारीका अध्यक्षका उम्मेद्वार राजेन्द्र बुढा, अनेरास्ववियुका अध्यक्षका उम्मेद्वार प्रभात पोख्रेल, विप्लव माओवादी निकट विद्यार्थी संगठनका अध्यक्षका उम्मेद्वार भिमबहादुर कठायत, नेक्राविसंघका अध्यक्षका उम्मेद्वार भरतप्रसाद दाहाल र अखिल छैंठौंका अध्यक्ष पदका उम्मेद्वार शिल्पा रावल छन् । उनीहरुले आफ्नो आग्रहलाई बेवास्ता गरे कडा आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् ।