२०७७ कार्तिक ६, बिहीबार

सुर्खेतमा आरडिटी जाँच गरी घर पठाइएका युवाको मृत्यू

सुर्खेत, ७ असार ।
भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका–५ का ३५ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको छ । गत जेठ १६ थते भारतको हिमाचलबाट फकिएका उनी छिन्चुमा रहेको शारदा माध्यामिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेर जेठ २९ गते घर गएका थिए ।
क्वारेन्टिनमा आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि युवकलाई घर पठाइएको भेरीगंगा नगरपालिका नगर स्वास्थ्य प्रमुख राजेश बुढाले जानकारी दिए । उनलाई एक सातासम्म होम क्वारेन्टिनमा बस्न भनेर घर पठाइएको थियो । ती युवकलाई एक्कासी झाडापखला लागेपछि छिन्चुस्थित गेणेश मेडिकलमा ल्याइएको र उपचारमै क्रममा उनको मृत्यु भएको स्वास्थ्य प्रमुख बुढाले बताए ।
उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी प्रदेश अस्पताल वीरेन्द्रनगर पठाइएको छ । पीसीआर रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने बुढाले बताए । युवकको शव प्रहरीको निगरानीमा मेडिकलमै राखिएको छ । यसअघि सुर्खेतकै पञ्चपुरी नगरपालिकामा पनि आरडीटी गरेर घर पठाइएका एक युवकको पनि मृत्यु भएको थियो । मृत्युपछि पीसीआर जाँच गर्दा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।